Logo

१० महीनासम्ममा राष्ट्रियस्तरका विकास बैंकको नाफा पाँच अर्ब



काठमाडौं, जेठ ३१ । सरकारले कोभिडको दोस्रो लहर फैलिएसँगै निषेधाज्ञा गरेपछि अधिकांश क्षेत्र प्रभावित बने पनि राष्ट्रिय स्तरका विकास बैंकको खुद नाफामा भने असर परेको छैन । गत वैशाखको आधा महीना निषेधाज्ञा भए पनि उक्त महीना अधिकांश विकास बैंकले राम्रै मुनाफा गर्न सफल भएका छन् ।

सञ्चालनमा रहेका आठओटा राष्ट्रियस्तरका विकास बैंकले चालू आर्थिक वर्षको १० महीनासम्ममा समग्रमा खुद नाफा ५ अर्ब २ करोड २४ लाख रुपैयाँ हात पारेका छन् । यस अघिको चैत महीनासम्ममा ती बैंकहरूले खुद नाफा ४ अर्ब ४९ करोड ९९ लाख रुपैयाँ गरेका थिए । एकै महीनाको अन्तरमा उक्त विकास बैंकहरूले ५२ करोड २४ लाख रुपैयाँ नाफा कमाएका छन् । यसअघि मासिक करीब ५० करोड रुपैयाँको हाराहारीमा नाफा गरेको देखिन्छ । समग्रमा बैंकहरूको नाफा राम्रै बढेको देखिए पनि केही बैंकले भने यसअघिको महीनाभन्दा कम नाफामा चित्त बुझाउनु परेको छ ।

पछिल्लो समयसम्म राष्ट्रियस्तरका विकास बैंकमा मुक्तिनाथ, गरिमा, ज्योति, कामना सेवा, साइन रेसुङ्गा, महालक्ष्मी, लुम्बिनी र सांग्रिला विकास बैंक सञ्चालनमा रहेका छन् । उक्त बैंकमध्ये चालू आवको वैशाखसम्ममा सबैभन्दा धेरै खुद नाफा मुक्तिनाथ विकास बैंकले गरेको छ ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार उक्त अवधिसम्म यसले १ अर्ब ११ करोड ६२ लाख रुपैयाँ नाफा कमाएको छ । यसअघि चैतसम्ममा अर्थात् तेस्रो त्रैमासमा १ अर्ब ५६ लाख रुपैयाँको हाराहारीमा नाफा गरेको थियो । एकै महीनाको अन्तरमा उक्त बैंकले करीब ११ करोडको नाफा गरेको छ । तर, यो नाफा वृद्धि भने गत महीनाको भन्दा कम देखिन्छ । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्