Logo

निजीक्षेत्रलाई ५ जलविद्युत् आयोजना दिइने



काठमाडौं, जेठ ३१ । सरकारले आफैले अध्ययन गरेको विभिन्न ५ जलविद्युत आयोजनालाई खुला प्रतिस्पर्धाबाट निजीक्षेत्रलाई निर्माण तथा सञ्चालन गर्न दिने भएको छ । सरकारले दुई चरणमा गरेर १६९ दशमलव ४२ मेगावाट क्षमताको ५ आयोजनालाई प्रतिस्पर्धाबाट निजीक्षेत्रलाई निर्माण गर्न दिने भएको हो ।

ऊर्जा मन्त्रालयले दूधकोशी जलविद्युत् आयोजना–४ (४७ मेगावाट), संखुवाखोला जलविद्युत् आयोजना–१ (४०.८२ मेगावाट), तल्लो होङ्गु जलविद्युत् आयोजना (३०.२० मेगावाट), कवाडीखोला जलविद्युत् आयोजना (३० मेगावाट) र इङ्गु खोला जलविद्युत् आयोजना (२१.४० मेगावाट) प्रतिस्पर्धाबाट निजीक्षेत्रलाई बनाउन दिने तयारी अगाडि बढाएको हो ।

यी सबै आयोजनाको अध्ययन विद्युत् विकास विभागले गरेको थियो । विभागले यी आयोजनाको अध्ययन विसं २०७५ देखि २०७७ भित्र सम्पन्न गरेको थियो । निर्माण गर्न निजीक्षेत्रलाई दिन लागिएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रवक्ता मधुप्रसाद भेटवालले जानकारी दिए ।

दूधकोशी–४, संखुवाखोला–१, तल्लो होङ्गु र इङ्गु खोला जलविद्युत् आयोजनाको विद्युत् क्रमशः १३२ केभी लमाने सबस्टेशन, १३२ केभी तुम्लिङटार सबस्टेशन, १३२ केभी लमाने सबस्टेशन, र १३२ केभी लमाने सबस्टेशनमा जोडिनेछ । कवाडीखोला जलविद्युत् आयोजनाको बिजुली भने १३२ केभी मुगु कर्णाली हबमा जोडिनेछ । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्