Logo

प्रधानमन्त्री कार्यालयको लगातार समन्वय



काठमाडौं, जेठ ३१ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र सकारका विभिन्न निकायको सक्रियतासँगै कोभिड–१९ को रोकथाम, नियन्त्रण तथा उपचारका लागि विभिन्न देशहरूबाट सहयोग आउने क्रम जारी छ ।

आइतबार विभिन्न देशहरूले भेन्टिलेटर, अक्सिजन कन्सेन्ट्रेटर, मास्क, पीपीई, अक्सिजन नेसल क्यानुला, अक्सिजन फेस मास्कलगायत सामग्री सहयोग गरेका छन् । प्रधानमन्त्री कार्यालयले समन्वय बढाएसँगै विभिन्न देशबाट स्वास्थ्य सामग्री आउने क्रम बढेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले उचित समन्वय गर्नुका साथै मातहतका विभिन्न मन्त्रालयलाई कोभिड–१९ को रोकथाम, नियन्त्रण तथा उपचारका लागि जिम्मेवारीअनुसार काम गर्न नियमित रूपमा नै निर्देशन दिँदै आएको छ । मुख्य सचिव शंकरदास वैरागीले विभिन्न मन्त्रालयको प्रशासनिक नेतृत्वलाई कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचारका लागि जिम्मेवार भएर क्रियाशील हुन निर्देशन गर्दै आएका छन् ।

वैरागीको निर्देशनसँगै पछिल्लो समयमा विभिन्न मन्त्रालयले आफ्नो जिम्मेवारीअनुसार क्रियाशीलता बढाएका छन् । तर, त्यो पर्याप्त हुन सकेको छैन । यसका लागि प्रधानमन्त्री कार्यालयले नियमित रूपमा नै सशक्त अनुगमन गर्नुपर्ने सुझाव कर्मचारीको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता किरणराज शर्माले प्रधानमन्त्री कार्यालयको निर्देशनअनुसार नै सबै मन्त्रालयले आफ्नो जिम्मेवारीअनुसारको काम गरिरहेको जानकारी दिए ।

प्रवक्ताका रूपमा शर्मा आएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले हरेक दिनजसो मन्त्रालयले गरेको काम तथा विभिन्न देशले गरेका सहयोगसम्बन्धी विवरण एकमुष्ठ रूपमा सार्वजनिक गर्दै आएको छ । कार्यालयका प्रवक्ता शर्माका अनुसार चीनको तिब्बतस्थित गैरसरकारी संस्था गुड विल फाउन्डेसनले कोभिड–१९ महामारीविरुद्ध लड्न नेपाल सरकारलाई प्रदान गर्ने ५० थान अक्सिजन कन्सेन्ट्रेटर आइतबार तातोपानी नाकामा आइपुगेको छ भने डेनिस सरकारले २६ थान भेन्टिलेटरसहित विभिन्न स्वास्थ्य सामग्री छिट्टै नेपाललाई उपलब्ध गराउने भएको छ ।

यस्तै चीनको युनान प्रान्तले नेपाललाई प्रदान गर्ने ४८ हजार थान एन। नाइटिफाइव मास्क, १ लाख १० हजार थान सर्जिमल मास्क र ३ हजार ८ सय २० थान प्रोटेक्टिभ गार्मेन्ट (पीपीई)जस्ता स्वास्थ्य सामग्री हिमालयन एयरलाइन्सको चार्टर्ड उडानबाट १४ जुन २०२१ मा त्रिभुवन विमानस्थलमा आइपुग्ने जानकारी स्थानीय चिनियाँ दूतावासबाट प्राप्त भएकाले सो स्वास्थ्य सामग्री ल्याउन आवश्यक समन्वय गरिएको प्रधानमन्त्री कार्यालयका प्रवक्ता शर्माले जानकारी दिए । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्