Logo

माओले भनेका थिए, ‘सबैभन्दा ठूला कम्युनिस्ट राजा महेन्द्र !’



बाँचिरहेका भए राजा महेन्द्र जेठ २९ मा १०२औं जन्मदिन मनाइरहेका हुन्थे । शाहवंशका कुनै राजाले शतायु पाएनन् । राजा महेन्द्रको कुल जीवन पनि जम्मा ५१ वर्षमात्र रह्यो । साँच्चै भन्ने हो भने शाहवंशका दुई राजाको मात्र उल्लेखनीय इतिहास छ । प्रथम राजा पृथ्वीनारायण शाह र नवौं राजा महेन्द्र । आधुनिक नेपालको जग पृथ्वीनारायणले हालिदिए भने विकास र अर्थतन्त्रको जग महेन्द्रले बसाले ।

विक्रम संवत् १९७७ मा नारायणहिटी दरबारमा जन्मेका राजा महेन्द्रले विसं २०११ चैत्र १ देखि विसं २०२८ माघ १७ सम्म नेपालको शासन चलाए । राजा महेन्द्रले २०१८ सालमा नवलपरासीको गैंडाकोटमा ‘महेन्द्र राजमार्ग’ शिलान्यास गरे भने २०२२ मा गैंडाकोटमै महेन्द्र राजमार्गको उद्घाटन गरे । त्यो पूर्व-पश्चिम राजमार्ग नहुँदासम्म तराईमा एउटा जिल्लाबाट अर्को जिल्ला जानुपर्दा भारतको बाटो प्रयोग गर्नुपर्थ्र्यो । विदेशी सहयोगमा राजमार्ग निर्माण गरेर यो अवस्था अन्त्य गरे ।  मेची–महाकाली जोड्ने त्यो राजमार्ग १०२७.६७ किलोमिटर लामो छ ।

महेन्द्र कति चतुर थिए भने उनले सुरुमा त्यो राजमार्गका निर्माणका लागि छिमेकी भारतलाई अनुरोध गरेका थिए । भारतले नमानेपछि रुसको सहयोग लिए । रुसले ढल्केबरदेखि पथलैयासम्मको सडक  बनाइदिएपछि भारत पनि आकर्षित भयो । ढल्केबरदेखि मेची खण्ड भारतले बनाइदियो भने हेटौंडा-नारायणघाट खण्ड एसियाली विकास बैंक, नारायणघाट-बुटवल खण्ड बेलायत र बुटवल-कोहलपुर खण्ड भारतले बनाइदिए ।

भारतलाई आग्रह गरेर महेन्द्रले वीरगञ्ज नजिक सिर्सियाबाट हेटौँडा–सिमभन्ज्याङ–थानकोटसम्म १५९.६६ किलोमिटर त्रिभुवन राजपथ बनाए । विदेशीहरू पहिले दिल्लीबाट विमानमा आउँथे र पछि कहाँबाट आयौ भन्दा ‘बाइरोड’ भन्न थाले । २०२४ सालमा ११२.८३ किलोमिटर लामो अरनिको राजमार्ग बन्यो । नेपाल र चीन सडकले जोडियो ।

चीनसँग जोड्ने कोदारी राजमार्ग सुरु भएपछि पश्चिमा देशहरुले ‘नेपालमा कम्युनिष्ट भित्रिन्छ, राजतन्त्र खतरामा पर्छ’ भनेर बाटो नबनाउन परामर्श दिँदा राजा महेन्द्रले अन्तर्राष्ट्रिय समुदायलाई आश्वस्त पारे रे, ‘कम्युनिज्म मोटर चढेर आउँदैन ।’

२०१७ मा शासनसत्ता हातमा लिएपछि राजा महेन्द्रले सुरु गरेका विकास र सुधारका कामबाट चिनियाँ नेता माओत्सेतुङ पनि निकै प्रभावित भएका रहेछन् । एक नेपाली कम्युनिष्ट नेता चीन जाँदा माओसँग नेपालमा पनि कम्युनिज्म ल्याउन मद्दत गर्नुपर्यो भन्ने आग्रहको प्रत्युत्तरमा माओले भने रे, ‘तिम्रो देशका राजा नै सबभन्दा ठूला कम्युनिष्ट छन्, अब कस्तो कम्युनिज्म चाहियो ?’ नेपाल कम्युनिष्ट पार्टी केन्द्रीय कमिटीको बहुमतले राजाको कदमलाई स्वागत गरेको तथ्य यहाँनेर स्मरणीय छ ।

विकासवादी अनि सुधारक

कवि राजा भनिने महेन्द्रले राजपाठ सम्हाल्दा देशभित्र विकासको न्यूनतम पूर्वाधार पनि थिएन । २००७ देखि २०११ सम्म भारतसँगको आर्थिक निर्भरता ९५ प्रतिशत थियो । उनको पालामा त्यो परनिर्भरताको गाँठो फुकाउँदै ६० प्रतिशतभन्दा तल झारिदिए ।

राजा हुने वित्तिकै महेन्द्रले नेपाल राष्ट्र बैंक र राष्ट्रिय योजना आयोगको स्थापना गरेर अर्थतन्त्रलाई व्यवस्थापन गरे । विसं २०१३ मा पञ्चवर्षीय योजनाको अवधारणा ल्याए ।

बालाजु औद्योगिक क्षेत्र, हेटौँडा औद्योगिक क्षेत्र, वीरगञ्ज चिनी कारखाना, कृषि औजार कारखाना, जनकपुर चुरोट कारखाना, बाँसबारी जुत्ता कारखाना, सिमेन्ट र कपडा उद्योगहरू, सबै उनकै पालामा स्थापना भए ।

२०१४ सालमा नेपाल राजकीय प्रज्ञाप्रतिष्ठान र शाही नेपाल वायुसेवा निगम स्थापना गरे । कर्मचारीको वृत्ति विकास गर्न नेपाल निजामती ऐन ल्याए । प्रहरी ऐन बन्यो ।

इतिहासका अध्येता रामजीप्रसाद उपाध्याय (राप्रउ) पोखरेलको विश्लेषणमा राजा महेन्द्र राष्ट्रनिर्माणको दीर्घकालीन सोच राख्ने, समृद्ध र सुरक्षित राष्ट्र बनाउने, विश्व समुदायमा नेपालको मौलिक पहिचान दिने राजा महेन्द्र नेपालको राष्ट्रियताको भित्री तहलाई बुझेका एक स्वप्नदर्शी शासक थिए ।

जंगबहादुर राणाले नेपालको पहिलो व्यवस्थित कानुनका रूपमा संवत् १९१० सालमा लागू गरेको मुलुकी ऐनलाई जातपातमा विभेद, छुवाछूत, नागरिक असमानता, बालविवाहजस्ता विकृति समाप्त गर्ने प्रावधान राखेर २०२० भदौमा नयाँ मुलुकी ऐन जारी गरे । उनको अर्को महत्त्वपूर्ण कार्य ‘भूमिसम्बन्धी ऐन २०२१’ जारी गर्नु थियो ।

राजाको भूमिसुधार नीतिलाई लिएर प्रसिद्ध पत्रकार एवं राजनीतिक विश्लेषक कमल कोइरालाले लेखेका छन्, ‘महेन्द्रका पालामा नेपालका कम्युनिस्टहरूलाई त्यतिबेला ठूलो ऐतिहासिक सैद्धान्तिक झट्का लागेको थियो जब उनीहरूले राजा भनेको मध्ययुगीन सामन्त जिम्बाल, विर्ताबाल र जमिनदार वर्गको नेता हो भनी वर्ग-चित्रण गर्दै आएको राजाले नै नेपालमा मध्ययुगीन सामन्ती जिम्बाल र जमिनदार प्रथा समाप्त गरेर २८ बिघाको हदबन्दी लागू गरे ।’

त्रिभुवन विश्वविद्यालयको आधुनिकीकरण गर्दै उच्च शिक्षा नेपालमै हासिल गर्ने अवस्था सिर्जना गरे भने पाठ्यक्रमबाट भारतीय पुस्तकहरु विस्थापित गरिदिए । राजा महेन्द्रले ४५ देशसँग कूटनीतिक सम्बन्ध स्थापना गरे । २०१२ सालमा नेपाललाई संयुक्त राष्ट्रसंघको सदस्य बनाए। शीतयुद्ध चर्किएको कालखण्डमा नेपाल असंलग्न आन्दोलनको सक्रिय सदस्य भयो ।

एसिया, युरोप, अमेरिका, अफ्रिकाका धेरै राष्ट्रको भ्रमण गरेर उनले स्पष्ट सन्देश दिए, ‘चीन र भारतका बीचमा हामी छौँ, तर कतै ढल्केका छैनौँ, असंलग्न बसेका छौँ र असंलग्न रहन्छौँ, आफ्नो निर्णय आफैं गर्छौं ।’

राजा महेन्द्रले जंगल तथा सरकारको स्वामित्वमा रहेको जमिन आफ्ना प्रियजनलाई बकस दिएका थुप्रै उदाहरण छन् । भलै उनी चरम आर्थिक अभावमा थिए । २०१५ सालको आमनिर्वाचनमा अमेरिकी राजदूत बंकरले राजइच्छाबमोजिम नारायणहिटी दरबारमा पैसा भरिएको खाम टक्र्याएको खुलासा भएको छ । त्यसउप्रान्त उनले अमेरिकी आर्थिक सहयोग लिएनन्  ।

२०१७ को ‘कू’ किन ?

राजा महेन्द्रको आलोचना हुने एक मात्र विषय हो, २०१७ को ‘कू’ । ‘देश मेरै इसारामा चल्नुपर्छ’ भन्ने दम्भका कारण उनले जननिर्वाचित सरकारलाई अपदस्त गरेर बलहरुमाथि प्रतिबन्ध लगाए । यसबारे उनले भनेका थिए, ‘म मेरा प्रजालाई प्रजातन्त्र बदला सबल राष्ट्र दिनेछु । हाम्रो प्रमुख शत्रु भनेको गरिबी हो ।’

राजाका सचिव ईश्वरीमान श्रेष्ठले आफ्नो आत्मकथामा उल्लेख गरेका छन्, ‘राजा बीपीको भावना र विचारको कदर गर्दथे भने कार्यशैलीको विरोध गर्दथे । राजा बीपीलाई अपदस्थ गरी शासन सत्ता आफ्नै हातमा लिँदा पनि बीपीलाई मात्र परिवर्तन गरी निर्वाचित सरकार राख्न चाहन्थे ।’

कतिपयको भनाइ के छ भने राजा महेन्द्र र प्रधानमन्त्री बीपी कोइरालाबीचको व्यक्तित्व टकरावले पुस १ को घटना निम्त्याएको थियो । दुवै असाधारण व्यक्तित्वका धनी थिए । तर राजा महेन्द्र र बीपीबीच एक अर्काप्रति अनौठो आकर्षण र सम्मान थियो ।

राप्रउ पोखरेलका अनुसार  राजा भरतपुरको दियालो बंगलामा रहँदाको समयमा २०१९ सालको संविधान संशोधनको मस्यौदा पेस गर्न तत्कालीन गृह एवं कानुन तथा न्यायमन्त्री शम्भुप्रसाद ज्ञवालीलाई जिम्मा दिइएको थियो । तर, संशोधनको मस्यौदा बुझाउनुअघि नै अचानक हृदयाघात भएर राजाको असामयिक निधन भयो ।

सदैव विदेशीलाई दोष पन्छाएर पानीमाथिको ओभानो बन्ने प्रवृति पनि उनमा थिएन । उनले २०११ सालको विजया दशमीमा देशवासीको नाममा दिएको सन्देशमा छ, ‘देश तपाईं हामी सबैको हो । यसलाई बनाउनु बिगार्नु पनि हाम्रै हातमा छ… हस्तक्षेप हस्तक्षेप भन्ने खोक्रो नारा लगाउनुभन्दा सबै मिलेर देश अगाडि बढाउने प्रयत्न गरेमात्र हाम्रो कमजोरीको अरूले फाइदा उठाउन पाउने छैनन् । तसर्थ हस्तक्षेप हुन दिनु वा नदिनु यसको जिम्मेवार पनि हामी नै छौं… ।’

विवाहमा बाबुसँग विवाद

उनको पहिलो विवाह राणा प्रधानमन्त्री जुद्धशमशेरकी नातिनी, हरिशमशेरकी छोरी इन्द्रराज्य लक्ष्मीसँग विसं १९९७ वैशाख २९ गते भएको थियो । इन्द्रराज्यको २००७ भदौ १८ मा उनको निधन भएपछि जुद्धशमशेरकै अर्की नातिनी रत्नराज्यलक्ष्मीसँग विसं २००९ माघ २५ मा अर्को विवाह गरे ।

इतिहासकारहरुका अनुसार फेरि जुद्धशमशेरकै नातिनी रत्नसँग प्रेम विवाह गर्ने निर्णय पनि राजा त्रिभुवनलाई चित्त बुझेको थिएन । उनी कुनै हालतमा राणापुत्री रत्नसँग छोराको विवाह हुन नदिने योजनामा थिए । तर छोराको ढिकीका सामु केही लागेन । त्यसैले महेन्द्र र रत्नको बिहे बहिष्कार गरेर राजा त्रिभुवन कलकत्ता गएर नेपाली कन्सुलेटमा सामान्य नागरिकका हैसियतमा गएर बसेका थिए ।

स्मरणीय के छ भने विसं १९९७ को सहिद काण्डपछि जुद्धशमशेरले राजा त्रिभुवनलाई गोरखामा नजरबन्द गरी छोरा महेन्द्रलाई राजा बनाउने सोच गरेका थिए, राजा त्रिभुवन यतिबेलादेखि नै जुद्धशमशेर र आफ्ना छोरा महेन्द्र दुवैसँग सतर्क थिए ।

‘दुनियाँलाई देखाउन लायकको प्रधानमन्त्री’

राजा हुनासाथ उनले प्रधानमन्त्री मातृकाप्रसाद कोइरालालाई हटाएर टङ्कप्रसाद आचार्यलाई प्रधानमन्त्री नियुक्त गरे । उनको प्रधानमन्त्रीको क्रममा पहिलो पञ्चवर्षीय योजनाको सुरु भएको थियो । उनकै पालामा नेपाल राष्ट्र बैङ्क र सर्वोच्च अदालत स्थापना भएको थियो । चीन सरकारले नेपाललाई ६ करोड प्रदान गरेको थियो।

आचार्यले २०१४ असारमा राजीनामा दिएपछि राजा महेन्द्रले कुँवर इन्द्रजित (केआई) सिंहलाई प्रधानमन्त्रीमा नियुक्त गरे । उनको मन्त्रिपरिषदमा महाकवि लक्ष्मीप्रसाद देवकोटा शिक्षा मन्त्री थिए । अत्यन्तै उद्दण्ड स्वभावका देखिएकाले उनको सरकार तीन महिना पनि टिक्न सकेन । उनलाई सुवर्णशमशेर राणाले प्रतिस्थापन गरे ।

२०१५ को आम निर्वाचनपछि सबैभन्दा ठूलो दलको रूपमा उदाएको नेपाली काङ्ग्रेसका सभापति विश्वेश्वरप्रसाद कोइरालाले प्रधानमन्त्री सम्हालेको १७ महिनामै अपदस्थ गरेर राजनीतिक दलहरूमाथि प्रतिबन्ध लगाएर एकतन्त्रीय पञ्चायती शासन चलाए । उनले पञ्चायती व्यवस्था लागू गरेपछि तुलसी गिरी, सूर्यबहादुर थापा, कीर्तिनिधि विष्ट आदिलाई प्रधानमन्त्री बनाए । तर कुनैबाट पनि सन्तोषजनक उपलब्धि पाएनन् । २०२८ मा भरतपुर दियालो बंगलामा मृत्यु हुनुपूर्व तारिफ गरेका थिए रे। ‘मैले धेरैलाई प्रधानमन्त्री, मन्त्री बनाएँ तर विश्वेश्वरजस्तो योग्य र दुनियाँलाई देखाउनलायकको प्रधानमन्त्री अर्को हुन सकेन ।’

‘खोइ त बीपीको फोटो ?’

कुनै एकपटक तत्कालीन रोयल नेपाल एकेडेमी कमलादीमा राजा महेन्द्र साहित्यिक कार्यक्रममा कुलपतिको नाताले निम्ताइएका रहेछन् । मञ्चासिन भएर मञ्चको वरपर भित्तामा नियाल्दा कवि शिरोमणि लेखनाथ, महाकवि लक्ष्मीप्रसाद देवकोटा, नाटककार बालकृष्ण सम र अन्य साहित्यकारसँगै बीपीको फोटो नदेखेर उनले ‘खोइ त बीपीको फोटो’ भनेर सोध्दा उपस्थित सबै विद्वतजन स्तब्ध भएका थिए रे ।

अनि राजाले अंगरक्षकलाई आफ्नो सिरानमाथि सजाइएका बीपीको फोटो ल्याउन लगाई उत्कृष्ट साहित्यकारको लाइनमा राख्न लगाए । राजाले बीपी आफ्नो प्रतिस्पर्धी राजनीतिज्ञ भए पनि साहित्यको क्षेत्रमा आफूभन्दा अग्ला महान् साहित्यकार हुन् भन्दै औंल्याइदिए ।

मृत्युका बेला कसको अँगालोमा थिए ?

राजा महेन्द्रको मृत्युको सम्बन्धमा अनेक शंकाउपशंका उठाउने गरिएको छ । कतिपयको भनाइमा त्यो स्वाभाविक मृत्यु नभएर कुनै बाह्य-आन्तरिक षड्यन्त्रको परिणाम हो । उनको मृत्युलाई भारतका लागि तत्कालीन नेपाली राजदूत विजयशमशेर, मदन भण्डारी, राजा वीरेन्द्र र उनको परिवारको मृत्युजस्तै रहस्यमय ठान्नेको पनि कमी छैन । तर राजा महेन्द्रलाई पहिले पनि हर्टएट्याक भइसकेको थियो ।

२०२८ सालमा नारायणीका सहायक अञ्चलाधीश रहेका पुण्यप्रसाद लुइँटेलले आफ्नो पुस्तक ‘नेपाली जनआन्दोलनका ६ दशक’मा लेखेका छन्, ‘रौतहट जिल्लामा नेपालकै आजसम्मको इतिहासमा नभएको दुर्घटना भयो । राजा महेन्द्रको मृत्यु त्यसै शोकका कारण भएको भन्ने पनि एकथरी मत पाइन्छ ।’
त्यतिबेला हिन्दु-मुस्लिम दंगामा २५० जना मारिए ।

बारामा ७ जना हिन्दूको मृत्यु भइसकेपछि पुलिस पुगेको घटनालाई लिएर अञ्चलाधीश, जिल्लाका सिडिओ र एसपी खोसुवामा परे । लुइँटेललाई अञ्चलाधीशको काम दिएर स्थिति नियन्त्रणमा ल्याउने जिम्मेवारी सुम्पिइयो ।

‘राजा महेन्द्रलाई त्यसबखत ज्वरो आइरहेको थियो । ज्वरो आइरहेको समयमा धपेडीमा परेर र राजनीतिक दृष्टिले पनि बढी नै टेन्सन भएर त्यहाँबाट चितवन दियालो बंगला फर्केपछि मृत्यु भएको मत अस्वभाविक होइन ।’

‘त्यही हिन्दू–मुस्लिम दंगालाई मत्थर पार्न बाराको च्युटाहा गाउँमा राजा महेन्द्रको सम्बोधन नै जनताको नाम अन्तिम सम्बोधन हुन पुग्यो । त्यसपछि चितवनको दियालो बंगला दरबारमा बास बसेका बखत हृदयघातबाट राजा महेन्द्रको २०२८ माघ १७ बिहान ३:४५ बजे मृत्यु भयो । त्यस बखत त्यो दियालो बंगलामा राजाको अन्तिम समय को- को थिए, थाहा भएन । तर केही वर्षदेखि चितवनमा टाइगर टप्स होटल चलाएर बसेका (अमेरिकन सीआईएसँग पनि सम्बन्धित) जोन कोफम्यानले भने, ‘मृत्यु हुँदाको क्षण राजा महेन्द्र मेरो बाहुमा थिए ।’



प्रतिक्रिया दिनुहोस्