Logo

निशा घिमिरेलाई करिश्मा र रेजिनाले गरे आर्थिक सहयोग



काठमाडौं, ३१ जेठ । सवारी दुघर्टनामा परेर ‘ब्रेन इञ्जुरी’ भएकी अभिनेत्री तथा मोडल निशा घिमिरेलाई अभिनेत्री द्वय करिश्मा मानन्धर र रेजिना उप्रेतीले आर्थिक सहयोग गरेका छन् । नेपाल चलचित्र कलाकार संघको समन्वयमा द्वय अभिनेत्रीले शनिबार निशा बस्दै आएको घर ललितपुरमै पुगेर उनका बाबु प्रेम प्रसाद घिमिेरेलाई नगद प्रदान गरेका हुन् ।

करिश्माले २५ हजार र रेजिनाले १० हजार रुपैयाँ सहयोग गरेका हुन् । निशाको हाल नर्भिक अस्पतालमा उपचार भइरहेको छ । हाल अमेरिकामा बस्दै आएका नायिका उषा पौडेलले पठाएको २२ हजार, प्रकाश थापाले पठाएको १० हजार रुपैयाँ पनि घिमिरेको परिवारलाई हस्तान्तरण गरेको कलाकार संघले जनाएको छ ।

संघका प्रवक्ता मोहन निरौलाले कलाकारको अबस्थालाई मनन गरेर निशुल्क उपचारको व्यबस्था गरिदिएकोमा नर्भिक अस्पताल बिशेष गरी साहित्यकार, समाजसेवी तथा नर्भिक अस्पतालका संस्थापक बशन्त चौधरी र निर्देशक मेघा चौधरीप्रति विज्ञप्ती जारी गरी आभार व्यक्त गरेका छन् । निरौलाले संघका अध्यक्ष रवीन्द्र खडकाको नेतृत्वमा निशाको लागि सहयोग अभियान संचालन गरेको पनि जानकारी दिएका छन् ।

डिप्लोमा अध्ययनका लागि भारत पुगेकी निशा सवारी दुर्घटनामा परेकी हुन् । जसको कारण उनको ब्रेन ह्यामरेज भयो । दुर्घटनामा परेपछि लामो समय भारतमै उपचार भयो । तर अस्पतालको खर्च धान्न नसकेपछि परिवारले उनलाई नेपाल ल्याएको थियो । निशाको उपचार गर्दागर्दै परिवारको सम्पत्ति सकिएको परिवारले बताएको छ । निशाका परिवार कोठा भाडा तिर्न नसकेपछि हाल भैसीपार्टीस्थित टिनले बारेर एउटा झुप्रोमा बसेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्