Logo

लकडाउन उल्लघंन गरेको आरोपमा प्रहरीको कुटपिटबाट मानसिक रोगीको मृत्यु, ८ प्रहरी निलम्बित



एजेन्सी, ३१ जेठ । भारतको मदिकारी शहरमा लकडाउनको नियम उल्लघंन गरेको आरोपमा ५० वर्षीय मानसिक रोगीको प्रहरीको कुटपिटबाट मृत्यु भएको छ । कुटपिटबाट रोय डिसुजाको मृत्यु भएपछि घटनामा संलग्न ८ जना प्रहरीलाई निलम्बित गरेको प्रहरीले बताएको छ ।

प्रहरीको अनुसार मृतकका भाई रोबिन डिसुजाले दाजुको हत्यामा संलग्न ८ प्रहरीविरुद्ध किटानी जाहेरी दिएपछि निलम्बित गरेको हो । घटनाको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । राष्ट्रिय मानव अधिकार आयोगले भने सिआईडीले अनुसन्धान गर्नुपर्ने माग गरेको छ ।

मानसिक रोगी मृतक रोय डिसुजा आमासँग बस्दै आएका थिए । उनका भाई रोबिन बेंगलुरुमा बस्थे । भाई रोबिनको अनुसार दाजु राय ८ जुनको राति घरबाट भागेका हुन् । प्रहरीले उनलाई चारैतिर घुमेको देखेर सोधपुछ गर्यो र लकडाउन उल्लघंन गरेको आरोपमा कुटपिट गर्यो ।

९ जुनको बिहान मृतकको आमालाई प्रहरी कार्यालयमा बोलाइयो । आमा पुग्दा राय बेहोस अवस्थामा थिए । उनलाई पहिला स्थानिय अस्पतालमा र पछि जिल्ला अस्पतालमा लगियो । जहाँ उनको मृत्यु भयो । रोबिनले उनले घटनाको जानकारी पाउना साथ बेंगलुरुबाट आएर उजुरी दिएका थिए ।



प्रतिक्रिया दिनुहोस्