Logo

एमाले मिलाउन यी नेता सक्रिय



काठमाडौं, ३१ जेठ । नेकपा एमाले एकता कायमै राख्न मध्यमार्गी नेताहरु सक्रिय भएका छन् । उनीहरुले विभिन्न विकल्पमा छलफल गरी सहमतिको बिन्दु निकाल्न प्रयास गरिरहेका छन् ।

अहिले एमालेको औपचारिक विभाजन रोकेर एकताको रसायन निर्माणमा बामदेव गौतम सबैभन्दा सक्रिय देखिएका छन् । उनले एकता पक्षधर नेताहरुसँग नियमित भेटघाट बढाएका छन् । गौतम निवास भैंसेपाटीमा एकता पक्षधर नेताहरुको आवतजावत् बाक्लो हुन थालेको छ ।

गौतमसँग उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले नियमित छलफल गर्दै आएका छन् । उनीसँग सुवास नेम्वाङ, प्रदीप ज्ञवालीलगायत ओली पक्षीय नेताहरु पनि नियमित सम्पर्कमा छन् ।

माधव नेपाल निकटस्थ नेताहरुसँग पनि गौतमले छलफल गर्दै आएका छन् । सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट, घनश्याम भुसाल र योगेश भट्टराई निकै सक्रिय छन् । उनीहरुले मध्यमार्गी समूह बनाएर ओली र नेपाल दुवैमाथि दबाब बढाएका छन् । उनीहरुलाई गौतमको पनि साथ छ । भीम आचार्यको सक्रियता पनि पछिल्लो समय बढेको छ ।
ओली पक्षीय नेताहरु शंकर पोखरेल, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल पनि एकताको सूत्र तयार गर्न सक्रिय छन् । एकता पक्षधरसँग नियमित सम्पर्क गर्दै छलफल बढाइरहेका छन् ।

एमालेभित्र एकता पक्षधरले बलियो मोर्चा बनाएर दुवै पक्षलाई दबाब दिने रणनीति बनाएको देखिदैछ । एमालेको नवौं महाधिवेशनको निर्वाचित स्थायी कमिटीमा एकता पक्षधरहरु नै निर्णायक बन्ने अवस्था बनेको छ । निर्वाचित उपाध्यक्ष बामदेव गौतमका अलावा सचिवहरु गोकर्ण बिष्ट, योगेश भट्टराई र भीम आचार्य, उपमहासचिव विष्णु पौडेल र घनश्याम भुसाल एकता पक्षधरमा छन् ।

निर्वाचित स्थायी कमिटी सदस्यहरुमध्ये ३० प्रतिशत एकताको माहोल तयार गर्न सक्रिय भएका छन् । यसले पनि ओली र नेपालमाथि दबाब बढेको छ । तर, एकताको पक्षधर बनेर सक्रियहरु सबैजसो ओली र नेपाल पक्षमा रहेकाले उनीहरुको अलग मोर्चाबन्दी टिकाउ हुनेमा आशंका छ ।



प्रतिक्रिया दिनुहोस्