Logo

देउवा, दाहाल र नेपालबीच भेटवार्ता



काठमाडौं, ३१ जेठ । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपालको कोटेश्वरस्थित् निवासमा कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ । तीन नेताबीच भएको छलफलमा आगामी रणनीतिबारे छलफल भएको बुझिएको छ । सुरुमा नेता नेपाल निवास देउवा छिरेका थिए । त्यसलगत्तै दाहाल पुगेका थिए ।

पछिल्लो समय एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकताको लागि नेपाल पक्षले अघि सारेका माग सम्बोधन गर्नेगरि तयारी थालेपछि नेता नेपाललाई भेट्न देउवा र दाहाल पुगेका थिए । लुम्बिनी, बाग्मती र प्रदेश नम्बर १ मा नीति तथा कार्यक्रम पारित गर्न नेपाल पक्षधर सांसदहरुले सघाएपछि देउवा र दाहाल नेपालको भूमिकालाई लिएर सशंकित बनेका छन् ।

प्रधानमन्त्री ओलीले गरेको संसद् विघटनविरुद्ध कांग्रेस, माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव पक्ष र जनमोर्चाको विपक्षी गठबन्धनमा माधव नेपाल पक्षधर पनि सहभागी छ । नेपाल पक्षधर २३ जना सांसदले कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै अदालतमा रिटसमेत हालेका छन् ।

एमालेभित्रको एकताको लागि आफू २०७५ जेठ २ गते नै फर्कन तयार रहेको तर नेपाल पक्षधरले अदालतमा दिएको रिटको हस्ताक्षर फिर्ता लिनुपर्ने ओलीको अडान छ । नेपाल पक्षधर कतिपय नेताहरुले ओलीको उक्त प्रस्ताव सकारात्मक भन्दै सहमति गरेर अघि बढ्नुपर्ने भन्दै नेपाललाई दबाब दिएका छन् ।

अहिले नेता निवासमा देउवा, दाहाल र नेपालबीच छलफल चलिरहँदा उता, एमालेका दोस्रो पुस्ताका दुवै पक्षका नेताहरु पनि छलफलमा जुटेका छन् । नेता नेपाललाई अधिकांश युवा नेताले साथ नदिने बताउने गरेका समाचार आइरहेका छन् । उनीहरुले पार्टी एकता कायम गर्नको लागि हस्ताक्षर फिर्ता लिएर भएपनि अघि बढ्नुपर्ने बताउने गरेका छन् । आजको छलफलमा नेता नेपालले आफूहरुले कुनै पनि हालतमा अदालतमा दिएको हस्ताक्षर फिर्ता नलिने अडान सुनाएका थिए । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्