Logo

सशक्त बन्दै एमाले एकता, देउवा संशकित



काठमाडौं, असार १ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) भित्रको विवाद चर्किंदै फुटको संघारमा पुगेको भए पनि संस्थापन पक्ष र असन्तुष्ट पक्ष दुवै संयमित हुन पुग्दा पार्टी एकजुट हुने संकेत देखिएको छ । पछिल्ला दिनमा दुवै पक्षका शीर्ष तथा दोस्रो तहका नेताबीच भइरहेको सघन छलफल र वार्ताले एमाले एकतालाई सशक्त बनाउँदै लगिरहेको नेताहरूले बताएका छन् ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्ष र असन्तुष्ट माधवकुमार नेपाल गरी दुवै पक्ष पार्टीको २ जेठ २०७५ को अवस्थाको संरचनासहित स्थायी कमिटी बैठक बसाउन सहमत देखिएका छन् । स्थायी कमिटी हँुदै केन्द्रीय कमिटीमार्फत पार्टीमा देखिएको विवाद समाधान गर्दै एकता कायम गर्नुपर्नेमा दुवै पक्षका अधिकांश नेता सहमत भएकाले पार्टी अब एकजुट हुने दाबी युवा नेताहरूले गरेका छन् ।

दुवै पक्ष र अर्का नेता वामदेव गौतमलगायतको सहमतिमा छिट्टै स्थायी कमिटीको बैठक बोलाएर सहमतिको खाका कोर्ने तयारी गरिएको एमाले उच्च स्रोतले जानकारी दिएको छ । एमाले स्रोतका अनुसार २ जेठकै संरचनाअनुसार स्थायी कमिटीको बैठक बोलाउने र विवादित अन्य विषयमा बैठकबाटै समाधान खोज्ने सहमतिनजिक ओली, नेपाल र गौतम पुगेका छन् ।

तीनै समूह २ जेठमा फर्किन सहमत भएपछि बैठक मिति तोकेर बोलाउने विषयमा आन्तरिक गृहकार्य भइरहेको हो । पछिल्ला दिनमा दुवै पक्षका नेताहरू आपसी आरोप प्रत्यारोप र वादविवादमा उत्रिएका छैनन् । साथै प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशमा समेत दुवै पक्षका एमाले नेता एकजुट भई केन्द्रमा पार्टी मिलाउन दबाबसमेत दिएका छन् ।

प्रदेशको एकताले केन्द्रमा शीर्ष नेतृत्वलाई पार्टी एकजुट राख्न दबाब परेको छ । ‘सर्वोच्च अदालतको निर्णयले महाधिवेशन आयोजक कमिटीलाई मान्यता नदिएपछि अध्यक्ष ओली २ जेठमा फर्किन तयार भएका थिए । त्यसो त अध्यक्ष ओलीले त्यसअघि नै आफूहरू २ जेठमा फर्कन तयार रहेको सन्देशसहित ६ बुँदे एकता प्रस्ताव अघि सारेका थिए ।

नेपाल समूहको मुख्य माग नै २ जेठमा फर्किने थियो अब सर्वोच्चले समेत बाटो खोलिदिएकाले विवाद गर्नुको अर्थ छैन्,’ एमालेका एक नेताले भने । ‘वामदेवजीले २ जेठकै स्थायी कमिटी बैठक बसेर समस्या समाधानका लागि अपिलसमेत गरेकाले तीनवटै समूह सहमतिनजिक पुगेका छन्,’ ती नेताले भने । महाधिवेशन आयोजक कमिटीका निर्णय खारेजसँगै पछिल्लो समय एमाले नेतृत्वको सरकार रहेको प्रदेशमा ओली र नेपाल समूह एकजुट हुनुले समेत शीर्ष नेतालाई मिल्न बाध्य बनाएको हो ।राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्