Logo

गठबन्धन कसिलो पार्ने प्रयास



काठमाडौं, असार १ । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध बनेको विपक्षी दलहरूको गठबन्धन कसिलो बनाउने प्रयासमा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा लागेका छन्। एमालेभित्र विकसित पछिल्लो घटनाक्रमले ओलीविरुद्धको विपक्षी गठबन्धन कमजोर बन्ने अवस्था देखिएपछि देउवाले एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग भेटघाट गरेर गठबन्धन कायमै राख्ने प्रयास गरेका हुन्।

एमाले विवाद निरूपण र पार्टी एकताका लागि भन्दै नेपाल समूहले वाग्मती प्रदेश र प्रदेश १ मा संस्थापन पक्षलाई सहयोग गरेपछि गठबन्धन कमजोर भएको आशंकामा देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सोमबार साँझ नेपाल निवास कोटेश्वरमा पुगेका थिए। उनीहरूबीच करिब दुई घन्टा कुराकानी भएको थियो। सो कुराकानीका क्रममा तीन पूर्वप्रधानमन्त्री देउवा, दाहाल र नेपालले सरकारलाई अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने काम नगर्न ध्यानाकर्षण गराएका छन्।

तीन प्रधानमन्त्रीका साथमा कांग्रेस नेता पूर्णबहादुर खड्का पनि सहभागी थिए। यसअघि तीन प्रधानमन्त्रीले यो गठबन्धनलाई आगामी निर्वाचनसम्मै लैजाने सहमति गरेका थिए। तर एमालेमा देखिएको पछिल्लो घटनाक्रममा त्यो सम्भव हुन नसक्ने आँकलन गर्दै देउवा र दाहाल नेपाल निवास पुगेको स्रोतको दाबी छ। कर्णाली प्रदेशका सांसद प्रकाश ज्वालासहितको निवेदनमा सर्वोच्च अदालतले गरेको निर्णयले एमालेको महाधिवेशन आयोजक कमिटीलाई मान्यता नदिएपछि ओली र नेपाल दुवैलाई पार्टी एकताका लागि दबाब सिर्जना भएको छ।



प्रतिक्रिया दिनुहोस्