Logo

वायुसेवा निगममा रिजाल दाजुभाईको आतंक



काठमाडौं, १ असार । ६५ वर्षको लामो ईतिहास बोकेको नेपाल वायुसेवा निगममा पछिल्लो समय पाईलट दाजुभाईका कारण एकपछि अर्को गरेर संस्थाको शाख गिराउने काम भएको भन्दै सम्बद्ध निकायका प्रतिनिधिहरु चिन्तित बनेका छन् । पाईलट दाजुभाई सुवास रिजाल र श्रवण रिजालले निगममा अत्यधिक राजनीतिसँगै एकपछि अर्को गरेर संस्थाको शाख गिराउने काममा आफूहरुलाई अति नै व्यस्त राखेको पाईएको छ । निगमको हितमा भन्दापनि आफ्नो व्यक्तिगत दुनो सोझ्याउन यी पाईलट दाजुभाई व्यस्त रहेको र चरम राजनीति गरेको निगमकै कर्मचारीहरुको गुनासो छ । कतिसम्म भने यी पाईलट दाजुभाइले आफ्नै सहकर्मीविरुद्ध अनर्गल प्रचारबाजी गरेको पाईएको छ ।

अन्तर्राष्ट्रिय एयरलाईन्समा दशकौं काम गरेका अनुभवी पाईलटहरुले भने नेपाल वायु सेवा निगममा सेवा गर्ने ईच्छा बोकेर आउँदासमेत पाईलट दाजुभाईकै कारण उनीहरु छोटो अवधिमा नै हतोत्साही बन्न पुगेको र पछि निगममै छोडेर विदेश फर्किएको पनि पाईएको छ । स्रोतले भन्यो,‘पछिल्लो समय कतार एयरलाईन्समा दशौं वर्ष काम गर्नुभएको पाईलट उत्सवजीजंग शाहजस्तो व्यक्ति नेपालकै राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाईन्समा काम गर्ने भनेर आउनुभएको थियो, उहाँले अन्तर्राष्ट्रियस्तरको सेवा/सुविधा त्यागेर देशको सेवा गर्ने अभिवृद्धिका साथ आउनुभएको थियो, तर उहाँलाई यी पाईलट दाजुभाईले नै यहाँ टिकिखान दिएनन् । कतिसम्म भने कत्पान उत्सवजीको पहिलो दिनको अन्तर्राष्ट्रिय उडानमा नै पाईलट श्रवण रिजालले बाधा उत्पन्न गराउनुभयो, उहाँ त पहिलो दिनमै निराश हुनुभएको थियो । जसको कारण उहाँ लामो समय यहाँ टिक्नुभएन । त्यही कारणले उहाँले राजीनामा दिएर जानुभयो ।’

निगमको हितको लागि पनि अन्तर्राष्ट्रिय एयरलाईन्समा काम गरेको अनुभवी नेपाली पाईलटले यसरी आफ्नै राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाईन्समा यहाँकै सेवा/सुविधा अनुसार काम गर्न ईच्छुक हुँदा प्रोत्साहन गर्नुको साटो उल्टै हतोत्साही र अपमान गरेपछि पूनः विदेश जान बाध्य हुनुपरेको पनि निगमका कर्मचारीहरुको गुनासो छ । एक कर्मचारीले भने–‘नेपाल एयरलाईन्सले यस्तो दक्ष जनशक्ति गुमाउनुपरेको छ । यो अत्यन्तै दुःखदायी कुरा हो । भोलिका दिनमा पनि अन्य विभिन्न विकसित देशमा लामो समय सेवा गरिरहेका नेपाली पाईलटहरुलाई पूनः स्वदेश फर्किएर राष्ट्रसेवामा सरिक हुनको लागि पनि यसले असर पुगेको छ । यसबारे निगम सञ्चालक र सम्बद्ध निकायले बेलैमा ध्यान दिन जरुरी छ ।’ पाईलट दाजुभाईकै कारण उत्सवजीजंग शाहबाहेक अन्य काबिल र अनुभवी पाईलटहरुले समेत निगमबाट बाहिरिनुपरेको तितो यथार्थ ती कर्मचारीले सुनाए । उनकाअनुसार क्याप्टेन आर.पी. ढकाल, क्याप्टेन प्रशान्त गुरुङ र क्याप्टेन प्रदीप श्रेष्ठले पनि निगम छोडेका छन् ।

निगमको हितमा काम गर्ने पाईलटहरुलाई यी रिजाल दाजुभाईले टिकिखान नदिने गरेको गुनासो यसअघि पनि आएका थिए । कतिसम्म भने सक्षम र ईमानदार पाईलटहरुको लागि यी पाईलट रिजाल दाजुभाई जहिलेपनि बाधक बन्ने गरेको पनि पाईएको छ ।

यी पाईलट रिजाल दाजुभाईका कारण निगमका पाईलटहरुमात्रै नभएर यीनको शिकार क्याविन क्रु मेम्बरपनि भएका छन् । केही समय पहिले नेपालकै चर्चित साप्ताहिक पत्रिका जनआस्थाले पनि ‘चार चेलीको चित्कार’ शीर्षकमा लामै समाचार छापेको थियो । जहाँ यी पाईलट रिजाल दाजुभाईको अत्याचारको बारेमा विशेष खुलासा गरेको पाईएको छ । उक्त समाचारमा ती परिचारिकाहरुले आफूहरुलाई पाईलट रिजाल दाजुभाईले ‘निरन्तर मानसिक यातना, धम्की र निरुत्साहनको श्रृंखला शुरु गरेको पनि उल्लेख गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस्