Logo

ओलीलाई ‘बा’ भन्नेहरुलाई किन लगाइयो पाखा



काठमाडौं, १ असार । प्रधानमन्त्री केपी शर्मा ओलीका लागि जस्तोसुकै चुनौतीको सामना गर्न तयार हुने देखि कलंकको टीका लगाउन समेत तयार हुनेहरु पाखा लगाइएका छन् । पटक पटक मन्त्रिमण्डल पुर्नगठन हुँदा पनि साँढे तीन वर्षभित्र उनीहरुले सरकारमा जाने अवसर पाएनन् ।

ओलीका लागि जस्तोसुकै बलिदानी गर्न र कठोर कदम चाल्न तयार हुने भक्तपुरे नेता महेश बस्नेतले पटक पटक कुनै अवसर पाएनन् । उनले पछिल्लोपटक गृह या सञ्चारमध्ये एकमा जाने चाहना राखेका थिए । गृहमा उनको चर्चा थियो । तर, बस्नेत आफ्नैबाट रोकिए ।

आफूलाई रोक्नेहरुतर्फ संकेत गर्दै बस्नेतले आक्रोश सार्वजनिक रुपमा पोखिसकेका छन् । उनले भविष्यमा देखाइदिने चेतावनी समेत दिएका छन् । बालुवाटारमा सल्लाहकारको भूमिकामा रहेका विष्णु रिमाल र राजन भट्टराईप्रति बस्नेतले निकटस्थहरुसँग आक्रोश पोख्ने गरेका छन् ।

बस्नेतले विगतमा ओलीलाई पार्टी अध्यक्ष बनाउन निकै महत्वपूर्ण भूमिका खेलेका थिए । बामदेवलाई चुनाव हराएर ओलीको प्रधानमन्त्रीमा कोही प्रतिष्पर्धी नरहने अवस्था निर्माण गर्न समेत उनकै भूमिका थियो । समाजवादी पार्टी फुटाउन डा. सुरेन्द्र यादवलाई महोत्तरीबाट काठमाडौं ल्याउने सम्मको भूमिका खेले । यो काण्डमा उनीसहित सांसद किसान श्रैष्ठ र पूर्वआइजीपी सर्वेन्द्र खनालमाथि अपहरणको मुद्दा दर्ता भयो ।

यादव योजनावद्ध तरिकाले महेश बस्नेतसँगै आएको र पछि अपहरणको फन्डा रचेको तथ्य खुल्दै गएको छ । यादवसँगै आउने समाजवादी पार्टीका तत्कालीन सांसद उमाशंकर अरगरिया ओली सरकारमा पर्यटनमन्त्री बनेका छन् । तर, यो घटनामा कलंकको टीका लगाउन पुगेका महेश बस्नेतलाई सरकारमा जानबाट पटक पटक रोकियो । किसान श्रेष्ठलाई पनि बालुवाटारले टाढा बनाइदिएको छ । सर्वेन्द्र खनालले पनि ओली सरकारबाट अवसर पाउने चर्चामात्र बन्यो ।

महेश बस्नेतले ओलीको सत्ता संकट टार्न पटक पटक जोखिमयुक्त काम समेत गरे । उनले जसपाको महन्थ ठाकुर खेमाको व्यवस्थापन गरेर ओलीविरुद्ध बहुमत पुग्न नदिन दुईपटक भूमिका खेलेका थिए । यसको खुलासा डोलेश्वर रिसोर्टमा लकडाउनको समयमा भएको थियो ।

कर्ण थापाले पनि ओलीको पक्षमा जुझारु भूमिका खेलका छन् । चुनाव हारेपछि सुदूरपश्चिममा प्रभाव बढाउन ओलीका तर्फबाट सक्रिय भएका छन् । सुदूरपश्चिममा ओलीको प्रभाव कमजोर भएकाले बलियो बनाउन थापा लागेका छन् । चुनाव हारेका भएपनि थापालाई प्रतिनिधि सभा विघटनपछि ओलीले मन्त्री बनाउने चर्चा चलेको थियो । तर, थापा पनि रोकिए ।

निरु पाल पनि ओली पक्षकी जुझारु नेता हुन् । उनी बेला बेलामा विवादमा समेत आइन् । पाल पटक पटक मन्त्री बन्ने चर्चा चल्यो तर सेलायो । ओली सरकारमा उनी अटाइनन् ।

गुृटको संरक्षण गर्न सिपालु भएपनि ओलीले आफ्नैलाई पछिल्लो समय पाखा लगाउन थालेका छन् । यसका पछाडि उनको खेमाभित्रै विवाद हुनु पनि कारण हो । अहिले ओली खेमाभित्र दोस्रो र तेस्रो पुस्ताका नेताहरुबीच एकले अर्कालाई रोक्ने गतिविधिहरु भइरहेका छन् । यसले कुनैपनि बेला विष्फोटक रुप लिन सक्ने देखिएको छ ।



प्रतिक्रिया दिनुहोस्