Logo

निषेधाज्ञा उल्लंघन गर्ने २३ सय ५९ वटा सवारी साधन नियन्त्रणमा



काठमाडौं, १ असार । विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने २ हजार ३ सय ५९ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तीमध्ये ६ सय ५४ वटा गाडी र १ हजार ७ सय ५ वटा मोटरसाइकल रहेका छन् । नियन्त्रणमा लिएका सवारी साधनहरुलाई आवश्यक सोधपुछ पश्चात छाड्ने गरेको छ ।

साथै नयाँ भेरियन्ट सहितको कोभिड–१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा २ सय २५ जनालाई निस्शुल्क मास्क वितरण गरिएको छ । कार्यक्रम अन्तर्गत हालसम्म जम्मा ४ लाख ५५ हजार ९ सय ९९ जनालाई निस्शुल्क मास्क वितरण गरेको जनाएको छ ।

कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञा उल्लंघन गर्ने ४ सय ९२ जनालाई कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम जम्मा ४९ हजार ६ सय रुपैयाँ जरिवाना गरिएको छ । सो क्रममा ३ हजार ८ सय ६१ जनालाई रोकी सम्झाई बुझाई छाडिएको छ । साथै देशभर सञ्चालित माईकिङ, प्लेकार्ड, पर्चापम्प्लेट सहितको ६४ वटा सचेतनामूलक कार्यक्रम अन्तर्गत ४ हजार ८ सय ८० जनालाई सचेत गराएको पनि जानकारी दिएको छ ।

निषेधाज्ञा कार्यान्वयनलाई थप प्रभावकारी र सफल बनाउन नेपाल प्रहरीले अन्य सुरक्षा निकाय लगायतका सरोकारवालाहरूसँग आवश्यक समन्वय, सहकार्य गरी अनुगमनलाई समेत तिब्रता दिएको छ ।



प्रतिक्रिया दिनुहोस्