Logo

सपना आइजिपीको, अवकाश एसएसपीमा



काठमाडौं, १ असार । २०६७ सालमा महानगरीय प्रहरी वृत्त नयाँबानेश्वर वृत्तको प्रमुखमा डिएसपी दिलीप चौधरी थिए । रुकमांगत कटवाल प्रकरणपछि माओवादी सत्ताबाट सडकमा आएको थियो । सडकमा आएपछि उसले महिनौं चर्काे आन्दोलन ग¥यो ।

बानेश्वर आन्दोलनको केन्द्रमा थियो । डिएसपी चौधरी सो क्षेत्रमा प्रहरीका कमान्डर थिए । आन्दोलन हिंसात्मक बन्दै गर्दा एक दिन माओवादी कार्यकर्ताले डिएसपी चौधरीलाई नियन्त्रणमा लिएर कुटपिट गरे । उनको टाउको फुट्यो, पछि बल्लतल्ल उनको उद्धार भएको थियो । गम्भीर घाइते भएका उनको धेरै दिन अस्पतालमा राखेर उपचार भयो । सरकारले उनलाई तत्कालै कामु एसपी बनाएर सान्त्वना दियो ।

कामु एसपी भएपछि उनले आफ्नो ब्याचमा फड्को मारे । केही महिनापछि भएको बढुवामा १ नम्बरमै उनको बढुवा भयो । त्यसपछि धेरैलाई लागेको थियो, यो ब्याचबाट भावी महानिरीक्षकको दौडमा चौधरी अघि बढे । उनको ब्याचबाट शैलेश थापा क्षेत्री दोस्रो, निरज शाही तेस्रो, हरि पाल चौथो, प्रद्युम्न कार्की पाँचौ र देवबहादुर बोहरा छैंठौं नम्बरमा एसपीमा बढुवा भएका थिए । एक नम्बरमा एसपी भएपछि स्वभाविक रुपमा चौधरीलाई पनि एक प्रमुख प्रतिस्पर्धीका रुपमा हेरिएको थियो ।

तर, उनै चौधरी आइजिपीको प्रतिस्पर्धाको त के कुरा डिआइजी पनि नभई एसएसपीबाट अवकाश पाउने भएका छन् । एसएसपीका ५५ वर्षे उमेरहद कारण चौधरीले यही असार १० मा अवकाश पाउँदैछन् ।

चौधरीको कांग्रेस नेता विजयकुमार गच्छदारका निकटता थियो । तर, गच्छदार नै पछिल्ला वर्ष शक्तिबाट कमजोर हुँदै गएपछि चौधरी पनि बढुवामा पछि पर्दै गएँ र एसएसपीबाटै अवकाश हुनुपरेको छ । कार्यक्षमतामा पनि उनी मध्यम मानिन्छन् । तर, पछिल्लो डिआइजी बढुवामा भने उनलाई अन्याय भएको प्रहरी अधिकारी बताउँछन् । एसपीमा दोस्रो नम्बरमा रहेका शैलेश थापा आइजिपी हुँदा उनलाई डिआइजी पनि बढुवा गरिएन । जबकी उनीभन्दा जुनियर ब्याचका विश्वराज पोखरेल एआइजी भइसकेका छन् भने जुनियर ब्याचका अरु थुप्रै डिआइजी छन् ।

त्यस्तै, उमेरहदकै कारण एसएसपीद्वय देवबहादुर बोगटी र किशोर कुमार दाहालले अवकाश पाएका छन् । उनीहरु दुवै जना प्रहरी महानिरीक्षक थापाकै ब्याची हुन् । उनीहरु पनि डिआइजी बढुवामा छुटेका थिए । रिक्त पदमा असारभित्रै बढुवा गर्न गृहकार्य भइरहेको छ । असारभित्र बढुवा नगरे कात्तिकमा मात्र बढुवा हुन्छ ।-दृष्टिबाट



प्रतिक्रिया दिनुहोस्