Logo

अफगानिस्तानमा पाँच पोलियोकर्मीको हत्या



१ असार : अफगानिस्तानको नान्गरहर प्रान्तमा जारी पोलियो खोप अभियानमा संलग्न स्वास्थ्यकर्मीमाथि बन्धुकधारीले गरेको आक्रमणमा पाँच जना स्वास्थ्यकर्मीको ज्यान गएको छ ।

अधिकारीहरुका अनुसार यस घटनामा अरु चार जना गम्भीर घाइते भएका छन् । प्रान्तीय गभर्नरका प्रवक्ता अताउल्लाह खोग्यानीले अज्ञात बन्धुकधारीले प्रान्तीय राजधानी जलालाबाद शहर र नजिकैको खोग्यानी र सुर्ख जिल्लामा पोलियो थोपा खुवाउन खटिएका व्यक्तिहरुमाथि आक्रमण गरेको जानकारी दिए ।

उनले घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको पनि बताए । सुरक्षा निकायले ती स्वास्थ्यकर्मीका लागि विशेष सुरक्षा व्यवस्था गर्न नसकेको बताइएको छ ।
अफगान स्वास्थ्य मन्त्रालयले पाँच वर्षमुनिका लाखौं बालबालिकालाई पोलियो खोप दिने गरी राष्ट्रव्यापी अभियान सञ्चालन भइरहेको समयमा उक्त घटना भएको छ ।
कुनै पनि समूहले उक्त आक्रमणको जिम्मेवारी स्वीकारेको छैन ।

यसअघि, गत मार्चमा पनि नान्गरहरमा भएका दुई बेग्लाबेग्लै घटनामा पोलियो खोप खुवाउने अभियानमा संलग्न दुई महिला स्वास्थ्यकर्मीको गोली हानी हत्या गरिएको थियो । विश्वमा हाल दुई मुलुक अफगानिस्तान र छिमेकी पाकिस्तानमा हरेक वर्ष पोलियोका बिरामी देखा पर्ने गरेका छन् ।–एएनआई/Photo: Agency



प्रतिक्रिया दिनुहोस्