Logo

बेलायतकी महारानी एलिजाबेथसँग अस्ट्रेलियाली प्रधानमन्त्रीको भेट



लन्डन, १ असार : बेलायतकी महारानी एलिजाबेथ द्वितीयले अस्ट्रेलियाली प्रधानमन्त्री स्कट मरिसनसँग विन्डसर क्यासलमा प्रत्यक्ष भेटवार्ता गरेकी छिन् ।

अस्ट्रेलियाली प्रधानमन्त्री विश्वका सम्पन्न सात मुलुक (जी–७) को बैठकमा पर्यवेक्षकका रुपमा सहभागी हुन बेलायत पुगेका थिए । बेलायतको राजसंस्था अस्ट्रेलियाको पनि राजसंस्था रहेको छ । बेलायती कमनवेल्थ समूहका ५४ देशमध्ये अस्ट्रेलिया पनि एक हो ।

यो साता ९५ वर्षीया बेलायती महारानी निकै व्यस्त थिइन् । उनी गत शुक्रबार बेलायतको दक्षिण पश्चिमस्थित कोर्नवालसम्म ट्रेनमा गएकी थिइन् । कोर्नवालमा सम्पन्न “सम्पन्न सात” (जी–७) का नेताहरुको शिखर बैठकमा सहभागी विश्वका नेताहरुका लागि आयोजित रात्रिभोजमा उनी सरिक भएकी थिइन् ।

लगत्तै उनी शनिबार आफ्नो ९५औं जन्मोत्सवका अवसरमा विन्डसरमा आयोजित सैनिक परेडमा सहभागी भएकी थिइन् । अर्को दिन उनले अमेरिकी राष्ट्रपति जो बाइडेन र उनकी धर्मपत्नी जील बाइडेनलाई राजप्रासादमा स्वागत गरेकी थिइन् ।

कोरोनाभाइरस महामारीका कारण गत वर्ष महारानी एलिजाबेथले अनलाइन र भर्चुअल माध्यमबाट मात्र अतिथिहरुसँग भेटवार्ता गरेकी थिइन् । तर यसपटक खुला रुपमा उनले अतिथिहरुसँग भेटघाट गरीन् ।

अस्ट्रेलियाली प्रधानमन्त्री मोरिसनले बेलायती प्रधानमन्त्री बोरिस जोन्सनसँग पनि लन्डनमा भेटवार्ता गरेकी थीइन । उनीहरुबीच एकअर्का मुलुकका कैयौं वस्तु एवं सेवामा लाग्दै आएका करहरु हटाएर स्वतन्त्र व्यापार सम्झौता गर्ने बारेमा एउटा खाकामा सहमति भएको थियो ।–एपी/Photo: Agency



प्रतिक्रिया दिनुहोस्