Logo

निषेधाज्ञाका कारण फूल खेतीमा करोडौंको नोक्सानी



चितवन, असार २। कोरोना महामारी नियन्त्रणका लागि जारी निषेधाज्ञाका कारण चितवनको फूल खेतीमा ५ करोड रुपैयाँ बराबरको नोक्सानी प्रक्षेपण गरिएको छ । फ्लोरिकल्चर एसोसिएसन चितवनका अनुसार यहाँ उत्पादन हुने बाह्रैमासे फूल र मौसमी फूल खेती गरी उक्त घाटा भएको आकलन गरिएको हो ।

फूलको माग राम्रै भए पनि निषेधाज्ञाका कारण बजार नपाउँदा नोक्सानी बेहोर्नुपरेको एसोसिएसनले जानकारी दिएको छ ।

निषेधाज्ञापछि करिब डेढ महिने अवधिमा ५ करोड रुपैयाँ बराबर नोक्सान भएको एसोसिएसनका अध्यक्ष प्रकाश पन्तले बताए । विशेषगरी तयारी अवस्थाका ग्लाडियस, गोदावरी र सयपत्री फूल बिक्री गर्न नसकिँदा बारीमै सुकेका छन् । आफ्नो १२ कठ्ठा क्षेत्रफलमा लगाएको गोदावरी फूल सुकेपछि ५ लाख रुपैयाँ नोक्सान भएको उनको भनाइ छ । ‘अन्य किसानको पनि १ देखि २५ लाख रुपैयाँसम्मको नोक्सानी भएको छ’, उनले भने, सबै गरी ५ करोड बराबरको क्षति आकलन गरेका छौं ।’

पन्तका अनुसार निषेधाज्ञाका कारण अर्डर आइसकेका फूल बजारमा जान नसक्दा र अधिकांश शुभकार्य, सभा, सेमिनार तथा धार्मिक अनुष्ठानका कार्य रोकिँदा यसको असर फूल व्यवसायमा परेको हो ।

भरतपुर महानगरपालिका–१८ का किसान कमल अर्याल गत वर्षदेखि हालसम्म २२ लाख रुपैयाँ बराबरको फूल खेतीमा नोक्सानी भएको बताउँछन् ।

गत वर्षदेखिको कोरोना महामारीका कारण फूलको माग भए पनि प्रयोगमा नआउँदा फूल खेती किसानले नोक्सान बेहोर्नुपरेको हो । हाल उनले डेढ बिघामा ग्योडोलस फूल लगाएका छन् । अहिले फूल बिक्रीयोग्य भए पनि निषेधाज्ञा कारण सुकेपछि जोत्न लागेको उनले बताए । ‘यो फूल तयार भएपछि एक साता भन्दा बढी राख्नै मिल्दैन’, अर्यालले भने, निषेधाज्ञा खुल्ने टुंगो छैन । जोत्नुको विकल्प छैन ।’

निषेधाज्ञाकै कारण बारीमा फुलिसकेका फूल ओइल्याएका छन् भने कतिपयले लागत बराबरमै बिक्री गर्दा पनि माग शून्यजस्तै छ । व्यावसायिक फूल खेती गर्ने र नर्सरीमा बिरुवा उत्पादन गर्ने किसानले पनि बिक्री नभएको बताएका छन् ।

विशेषगरी काठमाडौं र पोखरालगायतका सहरमा चितवनको फूल जाने गरेको छ । ‘चितवनमा फूल बिक्री ठप्पजस्तै छ’, भरतपुर महानगरपालिका–२६ का किसान दीपक पाख्रिन भन्छन्, ‘अहिले सयपत्री फूल पशुपति आर्यघाटबाट केही मात्र अर्डर छ । त्यो पनि फाइदा नखाई पठाएको छु ।’ बाह्रैमासे बिक्री हुने सयपत्री फूल पनि अहिले बिक्री हुन नसकेको उनको भनाइ छ । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्