Logo

कार्यसम्पादनका आधारमा मात्र अनुदान



काठमाडौं, असार २। सरकारले कार्यसम्पादनका आधारमा मात्रै अब सामुदायिक क्याम्पसलाई अनुदान दिने भएको छ । विश्वविद्यालय अनुदान आयोगमार्फत सामुदायिक क्याम्पसलाई वितरण हुने अनुदान क्याम्पसको कार्यसम्पादनमा आधारित बनाइने भएको हो ।

आयोगका अध्यक्ष प्रा डा भीमप्रसाद सुवेदीले सामुदायिक क्याम्पसलाई दिने अनुदान अब क्याम्पसको कार्यसम्पादनका आधारमा मात्रै वितरण गर्ने नीति रहेको जनाए। क्याम्पसमा अध्ययनरत विद्यार्थी सङ्ख्या, क्याम्पसको वार्षिक प्रगति, वार्षिक नतिजामा क्याम्पसको समग्र उपलब्धिलगायतका आधारमा सामुदायिक क्याम्पसलाई अनुदान वितरण गरिने भएको हो ।

यसका साथै क्याम्पसले आफ्ना शिक्षकलाई एमफिल या विद्यावारिधि (पीएचडी)को अध्ययनमा कति धेरै प्रेरित गरेको छ भन्ने आधारमा समेत क्याम्पसको अनुदान निर्धारण हुने भएको छ । सामुदायिक क्याम्पसमा अध्यापनरत शिक्षक अझै पनि दस जोड दुई तहमा अध्यापन गराउने शिक्षकहरू नै हुने गरेको पाइएको भन्दै अध्यक्ष सुवेदीले शिक्षकको शैक्षिक स्तर वृद्धिका लागि यस खालको नीतिले सहयोग गर्ने विश्वास छ ।

आयोगले पनि विभिन्न विश्वविद्यालय मातहतका क्याम्पसमा कार्यरत शिक्षकलाई एमफिल तथा पीएचडीको अध्ययनका लागि सहयोग गर्ने गरेको छ । साथै क्याम्पसले समयमा लेखापरीक्षणको काम सम्पन्न गरे÷नगरेको भन्ने आधारमा समेत अब क्याम्पसको अनुदान आधारित हुने आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्