Logo

यूरो कपः आत्मघाती गोलको मद्दतले फ्रान्सले जर्मनीलाई हरायो



काठमाडौं, असार २। यूरो कप अन्तर्गत गएराति भएको दोश्रो खेलमा फ्रान्सले जर्मनीलाई पराजित गरेको छ।समूह ‘एफ’ अन्तर्गत म्युनिखमा भएको खेलमा फ्रान्सले घरेलु टिम जर्मनीलाई १-० गोलले पराजित गरेको हो।

जर्मनीका माट्स हुमेल्सले गरेको आत्मघाती गोल नै फ्रान्सलाई जित निकाल्न पर्याप्त बन्यो । खेलको २० औं मिनेटमा हुमेल्सले आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए। फ्रान्सका लुकास हर्नान्डेजको क्रस रोक्ने क्रममा हुमेल्सको प्रहारले जाली चुमेको थियो।

यसैबीच जर्मनीका गिनर्बीले पाएको अवसरमा गोल गर्न सकेनन्। उनले सिक्स यार्डबाट हानेको प्रहार आकासिएको थियो। दोस्रो हाफमा फ्रान्सका रबिओटको प्रहारले पनि पोस्टको दिशा लिन सकेन।

६६ मिनेटमा एमबाप्पेले बललाई जाली चुमाए पनि रेफ्रीले अफ साइड घोषित गरे। यो जितसँगै विश्वविजेता फ्रान्सले समूहमा ३ अंक जोडेको छ। यसअघि यो समूहकै पहिलो खेलमा पोर्चुगलले हंगेरीलाई ३(० गोलले पराजित गरेको छ ।



प्रतिक्रिया दिनुहोस्