Logo

सेवा प्रवाह प्रभावकारी बनाउन मन्त्रालयको निर्देशन



काठमाडौँ, २ असार: सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले समयानुकूल प्रविधिको प्रयोग गरी सेवा प्रवाहलाई प्रभावकारी बनाउन मन्त्रालयअन्तर्गतका निकायलाई निर्देशन दिएको छ । नवनियुक्त मन्त्री नैनकला थापाले नेपाल टेलिभिजन, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, सूचना तथा प्रसारण विभाग, प्रेस काउन्सिल नेपाल र न्यूनतम पारिश्रमिक निर्धारण समिति र सूचना तथा प्रसारण विभागलगायत मन्त्रालय अन्तर्गतका निकायको अनुगमन गरी सकेपछि मन्त्रालयले सेवालाई प्रभावकारी बनाउन निर्देशन दिएकी हुन् ।

मन्त्रालयले विज्ञप्ती जारी गरी प्रविधिको प्रयोग गरी सेवा प्रवाहलाई प्रभावकारी बनाउन र लक्षित उद्देश्य प्राप्तिका लागि मन्त्रालय सदैव क्रियाशिल हुने जनाउँदै निकाय प्रमुखहरूले आ–आफ्नो संस्थागत जिम्मेवारी मनन गरी कार्यसम्पादन गर्न आह्वान समेत गरेको छ । मन्त्री थापाले मन्त्रालयमा पदबहालीपछि यही जेठ ३० गतेदेखि मन्त्रालय सम्बद्ध निकायको स्थलगत भ्रमण गरेकी थिइन् । भ्रमणका क्रममा मन्त्री थापाले मन्त्रालयको कार्यक्षेत्र संवेदनशिल भएकोले देश र जनताको हितलाई केन्द्रमा राखी समयबद्ध कार्ययोजनासहित कार्य सम्पादन गर्न निकाय प्रमुखहरूलाई निर्देशन दिएकी थिईन् । मन्त्री थापाले नेपाल पत्रकार महासङ्घको पनि अनुगमन भ्रमण गरेकी थिइन्।

भ्रमणका क्रममा मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले सञ्चार तथा सूचना प्रविधिको क्षेत्र व्यापक भएकोले निरन्तर परिवर्तनशील भूमिका निभाउन एक परिवारको रुपमा मन्त्रालयले आवश्यकताअनुसार निरन्तर समन्वयकारी भूमिका खेल्ने विषयमा आश्वास्त पारेका छन् । भ्रमणका क्रममा मन्त्रालयअन्तर्गतका निकायले निकायगत काम कारवाही, कार्यक्रम र बजेट कार्यान्वयनको अवस्था, संस्थाको वर्तमान अवस्था, भावि कार्ययोजना एवं आगामी आबको बजेट कार्यक्रम प्रस्तुत गरेका थिए ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्