Logo

अध्यात्म : उज्यालोबाट उज्यालोतिरै जाने कि अँध्यारोबाट अँध्यारोतिरै जाने ?



महेन्द्रकुमार शाक्य : धर्मग्रन्थहरूअनुसार मानिसका गति चार किसिमका हुन्छन् । राम्रोबाट राम्रोतिर जाने अथवा उज्यालोबाट उज्यालोतिरै जाने, राम्रोबाट नराम्रोतिर जाने अथवा उज्यालोबाट अँध्यारोतिर जाने, नराम्रोबाट राम्रोतिर जाने अथवा अँध्यारोबाट उज्यालोतिर जाने र नराम्रोबाट नराम्रोतिर जाने अथवा अँध्यारोबाट अँध्यारोतिरै जाने ।

उज्यालोबाट उज्यालोतिरै जानेः कोही मानिस राम्रो, धनी, सम्पन्न, धार्मिक संस्कार भएको कुलमा जन्मन्छन् । जाँडरक्सी नखाने सुशिक्षित आमाबुवाका कारण सानैबाट शीलपालन गर्ने, ध्यान अभ्यास गर्ने अवसर प्राप्त गर्छन् । हिंसाबाट टाढा रहन्छन् । शिक्षित पारिवारिक परम्पराको प्रभावले उनीहरू ज्ञानी, सदाचारी आफूभन्दा ठूला र मान्यजनहरूको आदर गर्ने र आफूजस्तै सुशिक्षित शीलवान्हरूकै संगतमा रमाउने हुन्छन् ।

राम्रोबाट राम्रोतिर जाने समूहका मानिसहरूले आफ्नो शिक्षित परिवारको परम्परा, संस्कार र आफूसँग भएका गुण, शील सदाचारको महत्व बुझेका हुन्छन् र त्यसलाई बढाउन र सुरक्षित गर्न लागिपर्दछ । ज्ञानी शीलवान्हरूको सत्संगतले उनीहरूलाई अँध्यारोतिर जान दिँदैन ।

उज्यालोबाट अँध्यारोतिर जानेः राम्रोबाट नराम्रोतिर जाने समूहका मानिसहरू राम्रो, धनी, सम्पन्न, धार्मिक संस्कार भएको कुलमा जन्मन्छन् तर आफ्नो परिवारमा सम्पदाका रूपमा रहेको धार्मिक परम्पराको महत्व बुझ्दैनन् या बुझेर पनि खराब संगतका कारण त्यसलाई बढाउन र संरक्षण गर्न सक्दैनन् । मोजमस्तीमै जीवन बिताउँछन् । मोजमस्तीमा लागेकाहरूकै सेरोफेरोमा समय बिताउन रुचाउँछन् । त्यस्ता मानिसहरू मादक पदार्थ सेवन गर्ने, प्राणी हिंसा गर्ने, आमाबुवालाई तिरस्कार गर्ने, परस्त्री वा परपुरुषसँग शारीरिक सम्बन्ध राख्ने जस्ता खराब काममा लिप्त हुन्छन् । राम्रो सम्पन्न घरमा जन्मिएर, हुर्किएर पनि संगत आदिका कारण कुबाटोमा लाग्छन्, अँध्यारोतिर लाग्छन् ।

अँध्यारोबाट उज्यालोतिर जानेः यस समूहका मानिसहरू फोहर पानीमा कमल फुलेझैं विपन्न, मिथ्या आजीविका गर्ने कुलमा जन्मन्छन् । जहाँ पेटभरि खान र एकसरो लगाउन पनि कठिन हुन्छ । शारीरिक रूपमा पनि असक्त, दुर्बल, काना, लुला हुन्छन् तर पनि राम्रो संगतका कारण शरीर, वचन र मनले शुभ कर्म गर्दछन् । आफूले गर्दै आएको मिथ्या आजीविका र खराब आचरणले आफैलाई हानि गरिरहेको कुरा बुझेका हुन्छन् र त्यसलाई त्याग्न लागिपर्दछन् । त्यस्ता मानिसहरूबाट खराब कर्म छाड्ने र राम्रो आचरणको विकास गर्दै जाने सम्भावना हुन्छ ।

गरिब भएर पनि बाँडेर खाने गर्छन्, बेइमानी गर्दैनन्, अर्काको सम्पत्तिमा लोभ गर्दैनन्, ज्ञानी भिक्षु, सन्त महन्तहरूको संगतबाट आफ्नो परिवार, वंशबाट गर्दै आएको मिथ्या आजीविका छाडेर सम्यक् आजीविकाबाट परिवारको पालनपोषण गर्छन् । आमाबुवाको सेवा गर्दछन् । त्यसैले, आर्थिक रूपले गरिब र विपन्न धार्मिक संस्कार नभएको कुलमा जन्मेर पनि कुशल संस्कार सञ्चय गर्न पुग्दछन् । यसरी यस्ता मानिसहरू अँध्यारोबाट उज्यालोतिर जान्छन् ।

अँध्यारोबाट अँध्यारोतिरै जानेः यस समूहका मानिसहरू विपन्न र मिथ्या आजीविका गर्ने कुलमा जन्मन्छन् । जहाँ पेटभरि खान र एकसरो लगाउन पनि कठिन हुन्छ । शारीरिक रूपमा पनि असक्त, दुर्बल, काना, लुला हुन्छन् । उनीहरु आफ्ना मिथ्या आजीविका र खराब आचरणले आफैलाई हानि गरिरहेको छ भनेर बुझदैनन् अथवा बुझेर पनि बुझ पचाउँछन् । उनीहरूका वरिपरिका छिमेकी, साथीभाइ पनि लोभी, ईर्ष्र्यालु, दुराचारी, बेइमान, मादक पदार्थ सेवन गर्ने, मिथ्या आजीविका गर्ने हुन्छन् । उनीहरूलाई सत्संगत गर्ने र सद्धर्म श्रवण गर्ने अवसर सुलभ हुँदैन ।

यसरी यस समूहका मानिस अहिले पनि र पछि पनि अँध्यारोमै रहन्छन् । उनीहरूको जीवन दु:खमय नै रहिरहन्छ । अब हामीले उज्यालो या अँध्यारो कतातिर जाने गम्भीर भएर सोच्ने र निर्णय गर्न आवश्यक छ । हामी कहाँ छौं ? अहिलेसम्म हामीले उज्यालो या अँध्यारो कता जाने कर्म गरेका छौं ? नराम्रो अर्थात् अँध्यारोतिर जाने अकुशल कर्म गरेको भए त्यसलाई सुधार्ने र राम्रा कुशल कर्महरू गर्ने र यदि कुशल उज्यालोतिर जाने कर्म गरेको भए त्यस्ता कुशल कर्महरूलाई अझ बढाउनु बुद्धिमानी हुन्छ ।

अहिले जहाँ जुन अवस्थामा भए पनि हामीले उज्यालोतिरै जाने सोच बनाउनुपर्छ र प्रयत्न गर्नुपर्छ । यसरी सोच्ने र प्रयत्न गर्ने अवसर मनुष्यलाई मात्र प्राप्त हुन्छ । दुष्कर्म गरेर मनुष्य जीवनको दुरुपयोग गर्नु लाखौं, करोडौं वर्ष नर्क वा अपाय भूमिमा दण्डित हुनु हो ।

यसै विषयलाई लक्ष्य गरेर क्षत्री भिक्षु धम्मवंश महास्थविर बारम्बार भन्ने गर्नुहुन्थ्यो– ‘आगे चेते चेते नहीं पिछे चेते होते नहीं ।’ अर्थात्, मनुष्य जीवन चिन्नेलाई वरदान हो भने नचिन्नेलाई श्राप ।

 



प्रतिक्रिया दिनुहोस्

हल बुकिंग फाराम