Logo

लामोसाँघु–सिँगटी प्रसारण लाइनः सिंगल सर्किट तार तान्ने काम सम्पन्न



दोलखा, असार ३ । लामोसाँघु–सिँगटी १३२ केभी प्रसारण लाइन आयोजनाको सिंगल सर्किट तान्ने काम सकिएको छ । जग्गा विवाद तथा भारतीय ठेकेदार सम्पर्कविहीन भएकाले लामो समयसम्म अलपत्र परेको आयोजनाको सिंगल सर्किट तार तान्ने काम हालै सम्पन्न भएको हो ।

डबल सर्किट तार तान्नुपर्नेमा हाल सिंगल सर्किट तार तान्ने काम सकिएको लामोसाँघु–सिँगटी प्रसारण लाइन आयोजनाका प्रमुख राजन ढुंगेलले जानकारी दिए । सिंगल सर्किट तार तान्ने काम सकिएर अहिले ओपीडीडब्लू (सबस्टेशनमा डेटा पठाउने तार) तान्ने काम भइरहेको उनको भनाइ छ ।

ओपीडीडब्ल्यू तान्ने काम पनि दोलखामा सकिएको र सिन्धुपाल्चोकमा करिब ९ किलोमिटर बाँकी रहेको आयोजनाले बताएको छ । यस्तै कतिपय टावरमा प्रोटेक्सनको काम गर्न बाँकी रहेको र इन्सुलेशन टेस्टिङको काम भइरहेको जानकारी दिइएको छ ।

लामोसाँघुको सबस्टेशन सिंगल सर्किट प्रसारणका लागि उपकरण जडान सकिएर परीक्षणको क्रममा छ । सिँगटी सबस्टेशनमा भने अहिले १३२ केभीमा जलविद्युत् केन्द्रबाट आएको विद्युत् पठाउन सक्ने संरचना तयार भए पनि ३३ केभीको लाइनबाट आउने विद्युत् प्रसारण गर्ने संरचना तयार भइनसकेको आयोजना प्रमुख ढुंगेलले बताए ।

कुनै समस्या नआई काम अगाडि बढेमा सिंगल सर्किटबाट विद्युत् प्रसारण गर्न प्राविधिक काम एक महीनामा सकिने जानकारी उनले दिए ।

४० किलोमिटर लामो प्रसारण लाइनमा १२४ टावर छन् । विद्युत् परीक्षण उत्पादन सकेको २५ मेगावाटको सिँगटीखोला र १० मेगावाटको सिप्रिङ खोला जलविद्युत् आयोजनाको विद्युत् अहिले खेर गइरहेको छ । दोलखाको उत्तरी क्षेत्रमा निर्माण सम्पन्न हुने चरणमा रहेका आधा दर्जनभन्दा बढी आयोजना यही प्रसारण लाइनको पर्खाइमा छन् । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्