Logo

उत्तर कोरियामा भोकमरी, किमले स्वीकारे खाद्य संकट



एजेन्सी, ३ असार । कम्युनिस्ट शासन भएको मुलुक उत्तर कोरियामा फेरि भोकमरीको चुनौती देखिएको छ । उत्तर कारियाली शासक किम जोङ उनले पनि खाद्य संकट भएको औपचारिक रुपमा स्वीकारेका छन् ।

पार्टीका वरिष्ठ अधिकारीहरुलाई सम्बोधन गर्ने क्रममा उनले खाद्यान्नको अवस्था निकै समस्याग्रस्त रहेको बताएका छन् । गत वर्षको बाढी र प्रकोपका कारण कृषि उत्पादनले जनताको खाद्य आवश्यकता पूर्ति गर्न नसकेको बताएका छन् । तर, औद्योगिक उत्पादन बढेको दाबी गरेका छन् ।

अहिले उत्तर कोरियामा खाद्यान्नको मूल्य आकाशिएको छ । एन के न्युजले उत्तर कोरियामा केरा प्रति केली ४५ डलर पुगेको खबर प्रकाशित गरेको छ ।

उत्तर कोरियाले कोरोना भाइरसको जोखिमलाई दृष्टिगत गरी सीमा बन्द गरेको छ । अहिले चीनसँगको व्यापार निकै घटेको छ । यसले पनि अर्को संकट थपेको छ ।

अन्तर्राष्ट्रिय नाकाबन्दीका कारण उत्तर कोरियाको आर्थिक अवस्था कमजोर भएको छ । अमेरिकासँग सुधारिएको सम्बन्ध बिग्रिएपछि झन् समस्या बढेको छ ।

संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रमले उत्तर कोरियामा १ करोड मानिस कुपोषणमा परेको खुलाइसकेको छ । जेनेभामा कार्यक्रमकी एजिजावेथ वायर्सले उत्तर कोरियाको ४० प्रतिशत जनसंख्या कुपोषणमा परेको बताएकी थिइन् ।

उत्तर कोरियामा अधिकांश परिवारले दैनिक दुईपटक मात्र खाने गरेको र यो संख्या बढ्दै गएको उल्लेख छ । संयुक्त राष्ट्रसंघको रेपोटर्सका अनुसार त्यहाँ अधिकांश मानिस मकैंमात्र खाइरहेका छन् ।

भोकमरी हुनथालेपछि केही परिवारले खाद्यान्न खरिदका लागि फर्निचर नै बेच्न थालेका छन् ।

उत्तर कोरियामा भोकमरीका कारण प्रत्येक वर्ष लाखौंको ज्यान जाने गरेको छ । विगतमा भोकमरीका कारण एकै वर्ष २० लाख मानिस परेको तथ्यांक छ ।-तस्बिर स्रोतः एनके न्यूज



प्रतिक्रिया दिनुहोस्