Logo

उद्धारका लागि सशस्त्र प्रहरीलाई स्ट्रेचर सहयोग



काठमाडौँ, ३ असार: विपद्का बेला मृतक वा घाइतेको उद्धारका लागि प्रयोग गर्न सशस्त्र प्रहरी बल नेपाललाई एक व्यक्तिले स्ट्रेचर सहयोग गरेका छन् ।

पर्वतीय उद्धार र उपचारमा क्रियाशील सोलुखुम्बु निवासी डा निमा नाम्गेल शेर्पाले आज सशस्त्र प्रहरी बल नेपाल नं ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौँलाई १५ थान स्केड स्ट्रेचर प्रदान गरेका हुन् । यसको मूल्य रु छ लाखभन्दा बढी रहेको जनाइएको छ ।

बाहिनीको बलम्बुस्थित कार्यालयमा आयोजित एक समारोहका बीच शेर्पाले बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक राजु अर्याललाई स्टेचर हस्तान्तरण गरेका हुन् । डा. शेर्पाले विपद् उद्धारका क्रममा उपयोगी हुने विश्वास व्यक्त गरे ।

सशस्त्र प्रहरी नायब महानिरीक्षक अर्यालले सहयोगप्रति धन्यवाद ज्ञापन गर्दै प्राप्त उद्धार सामग्रीको पूर्ण सदुपयोग गर्ने प्रतिबद्धता जनाए । उक्त स्ट्रेचर नेपालको कठिन भूबनोट तथा अप्ठ्यारो स्थानमा विपद् प्रतिकार्य तथा उद्धारमा प्रयोग गरिने उनले जानकारी दिए । उक्त स्ट्रेचर सशस्त्रको उपत्यकाका विभिन्न युनिटमा प्रयोग गरिने जनाइएको छ ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्