Logo

ओलीले माधव नेपाललाई अध्यक्ष छाडेर प्रधानमन्त्री पद सुरक्षित गर्न सक्ने



काठमाडौं, ३ असार । नेकपा एमालेको एकता कायम राख्न अध्यक्ष केपी शर्मा ओलीले विभिन्न माध्यमले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई प्रस्तावहरु पठाउन थालेका छन् । नेपाल खेमामा रहेका नेताहरुमार्फत् ओलीले नेपाललाई प्रस्तावहरु पठाइरहेका हुन् ।

ओलीले ६ बुँदे एकता प्रस्तावमा २ जेठ २०७५ को अवस्थामा पार्टीको संगठनलाई लाने शर्तसहितको प्रस्ताव सार्वजनिक गरेका थिए । उनले उक्त प्रस्ताव बालुवाटारमै नेपालनिकट नेताहरुलाई डाकेर पहिल्यै सन्देश पठाइसकेका थिए ।

अहिले ओलीले माधव नेपाललाई प्रचण्डलाई जस्तै अर्को अध्यक्ष बनाउने प्रस्ताव पठाएका छन् । विश्वस्त स्रोतका अनुसार बालुवाटारमा पुगिरहने नेपालनिकट नेताहरुमार्फत् त्यस्तो प्रस्ताव पठाएका हुन् । तर, नेपालले त्यो प्रस्ताव ठाडै अस्वीकार गरेको बुझिएको छ ।

माधव नेपालले ओलीलाई एकताका लागि स्पष्टसँग तीनवटा शर्त उनीनिकटस्थ नेतारुमार्फत् पठाएका छन् । जसमा २ जेठ २०७५ को अवस्थामा पार्टी संगठनलाई कायम गर्नुपर्ने, प्रतिनिधि सभा विघटनको कदम फिर्ता लिनुपर्ने र एक व्यक्ति एक पद हुनुपर्ने रहेको छ ।

प्रधानमन्त्री या अध्यक्षमध्ये एक छाडेमा कुरा मिल्न सक्ने भन्दै त्यसबारे पनि कुरा बढाउन खोजिएको छ । प्रतिनिधि सभा पुनःस्थापना भएमा ओलीले अन्तिम अस्त्रका रुपमा अध्यक्ष माधव नेपाललाई छाडेर भएपनि प्रधानमन्त्री पद सुरक्षित गर्न सक्ने सम्भावना पनि नभएको होइन । शेरबहादुर देउवा प्रधानमन्त्रीबाट रोकिने सम्भावना भएमा ओलीबाट त्यस्तो कदम पनि चालिन सक्छ । तर, प्रतिनिधि सभा विघटन कै पक्षमा फैसला भएमा महोल अर्को हुनसक्छ । त्यतिबेला ओली र नेपाल फरक फरक बाटोमा पुग्ने निश्चितप्रायः छ ।

प्रतिनिधि सभाको शक्ति पुनः कायम रहेमा भने ओलीले प्रधानमन्त्री पद सुरक्षित गर्न कुनै एक पद छाड्नुपर्ने हुनसक्छ । त्यतिबेला उनले अर्को अध्यक्ष बन्न नेपाललाई अन्तिम समयसम्म मनाउन खोज्ने देखिइसकेको छ । नमानेमा भरसक बहुमत विपक्षी गठबन्धनलाई पुग्न नदिन लाग्ने नभए अध्यक्ष छाडेर भएपनि प्रधानमन्त्री पद सुरक्षित गर्ने हुनसक्छ । तर, अध्यक्ष छाड्दैमा नेपाल मान्ने हुन् या होइनन् ? उनी प्रधानमन्त्री पदबाट नै ओलीलाई हटाउन लागेका छन् ।

एमालेभित्र एउटा समूह प्रतिनिधि सभा पुनःस्थापना भई प्रधानमन्त्रीको प्रतिष्पर्धा खुल्ला भएमा माधव नेपाललाई अगाडि बढाउने पक्षमा छन् । तर, देउवाले अनेकन आशंकाहरु गरिरहेपछि नेपाललाई यताउता नहुने स्पष्ट पारिसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्