Logo

महाधिवेशन कार्यतालिका फेरि संशोधन



काठमाडौं, असार ४। नेपाली कांग्रेसले पार्टीको १४औं महाधिवेशनको कार्यतालिका फेरि संसोधन गरेको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमार्फत कांग्रेसले पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले निर्धारण गरेको केन्द्रीय महाधिवेशनको मितिलाई यथावत् राख्दै तल्ला तहका अधिवेशनको मिति हेरफेर गरेको हो ।

संसोधित कार्यतालिकाअनुसार १२ साउनमा वडा अधिवेशन तोकिएको छ । यस्तै १६ साउनमा गाउँ र नगर समितिको अधिवेशन, २० साउनमा प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन, २३ साउनमा संघीय निर्वाचन क्षेत्रको अधिवेशन, २६ साउनमा एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन तोकिएको छ ।

यसैगरी प्रदेश समितिको अधिवेशन १ र २ भदौका लागि तोकिएको छ । कांग्रेस सहमहामन्त्री डा। प्रकाशसरण महतले कार्यतालिकाबारे अझै छलफल जारी रहेको र शुक्रबार बस्ने बैठकले अन्तिम रूप दिने जानकारी दिए । ‘बैठक शुक्रबार पनि बस्छ, त्यसपछि कार्यतालिकाको अन्तिम टुंगो लाग्छ,’ कांग्रेस सहमहामन्त्री महतले भने ।

कांग्रेस केन्द्रीय सदस्य प्रदिप पौडेलले केन्द्रीय समिति बैठकले वडा तहदेखि नै कार्यतालिका संशोधन गरेको जानकारी दिए । ‘पहिले वडा तहको अधिवेश ६ साउनका लागि तय थियो, अब १२ साउनबाट तल्ला तहका अधिवेशन सुरु हुन्छ, केन्द्रीय महाधिवेशन पदाधिकारी बैठकले तय गरेकै मितिमा हुने गरी कार्यतालिका अनुमोदन गरिएको छ,’ नेता पौडेलले भने ।

नयाँ कार्यतालिकाअनुसार कांग्रेसको केन्द्रीय महाधिवेशन १६ देखि १९ भदौसम्म हुनेछ । यसअघि पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले भने ६ साउनमा वडा तहको अधिवेशन तय गरेको थियो । सो मितिलाई केन्द्रीय समिति बैठकले ६ दिन पर सारेको हो ।

यस्तै नयाँ कार्यतालिकाअनुसार सदस्यता छानबिन समितिले २० असारभित्र सदस्यताको सूची केन्द्रीय समितिमा बुझाइसक्नुपर्ने छ । यसरी आएको सदस्यताको विवरणलाई सभापतिले हस्ताक्षर गरेर २४ असारमा निर्वाचन समितिलाई दिनुपर्ने छ । कांग्रेसले अझैसम्म पनि महाधिवेशनका लागि महत्वपूर्ण मानिने क्रियाशील सदस्यताको टुंगो लगाइसकेको छैन । आगामी महाधिवेशनसम्म क्रियाशील सदस्य १० लाख पु¥याउने कांग्रेसको लक्ष्य छ ।
राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्