Logo

एमालेका यी नेताको दुवै हातमा लड्डुः जुटे जस, फुटे आकर्षक पद



काठमाडौं, ४ असार । नेकपा एमाले जुटे जस लिने फुटे सौदावाजी गरेर आकर्षक पद लिएर रहने गरी केही नेताहरु मध्यमार्गी भन्दै सक्रिय भएका छन् । दुवै हातमा लड्डु हुनेगरी नेताहरु पार्टी एकता कायम राख्ने भन्दै सक्रिय भएका हुन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल आ-आफ्नो बाटो लागिसक्दा उनीहरुलाई मिलाउने भन्दै केही प्रभावशाली नेताहरु मोर्चा नै बनाएर लागिपरेका छन् । उनीहरुले एकता पक्षधर भन्दै तेस्रो धार निर्माण गरेका हुन् ।

ओलीले एमाले एकताका लागि शर्तसहित ६ बुँदे प्रस्ताव ल्याएका छन् । त्यसलाई नेपालले अस्वीकार गरिसकेका छन् । दुवै नेता एक आपसमा कुराकानी गर्न पनि मानिरहेका छैनन् । तर, तेस्रो धारका नेताहरु दुवै नेतासँग भेटघाट गर्ने देखि उनीहरुका विश्वासपात्रसँग छलफल गरेर एकताको प्रयास गरिरहेको सन्देश दिइरहेका छन् ।

अहिले एमाले एकताका लागि मुख्य प्रयास गरिरहेको सन्देश बामदेव गौतमले दिइरहेका छन् । उनी बाहिर हेर्दा ओलीविरोधी देखिएका छन् । कुनैपनि पक्षमा नरहेर तटस्थ भूमिकामा रहेका गौतम एमाले एक भए जस लिने फुटेमा आकर्षक पद लिने रणनीतिका साथ लागेका छन् । एमाले फुटेमा गौतम ओली समूहमै रहने सम्भावना बलियो देखिन थालेको छ । तर, त्यसका लागि उनले बलियो सर्त राखेर सम्झौता गर्न सक्ने बुझिएको छ ।

माधव नेपाल समूहमा रहेका भनिएका सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण बिष्ट र योगेश भट्टराई पनि मध्यमार्गी भन्दै तेस्रो धारमा देखिएका छन् । उनीहरु माधव नेपाललाई कुनै हालतमा पार्टी विभाजनबाट रोक्न लागिपरेका छन् । तर, नेपालले आफू पछि नहट्ने स्पष्ट जवाफ दिइसकेका छन् ।

योगेश भट्टराईले एमाले फुटेमा ओली खेमामा रहने स्पष्ट पारिसकेका छन् । उनले यसअघि नै यसबारे प्रष्ट पारिसके । सुरेन्द्र पाण्डे पनि माधव नेपालको साथमा रहनेमा निश्चित देखिएको छैन । उनी एमालेमै रहेर संघर्ष गर्न तेस्रो धारको नेतृत्वकर्ता बन्न खोजिरहेका छन् । घनश्याम भुसाल बामदेव गौतमबाट टाढिएका छैनन् । उनी कडा रुपमा प्रस्तुत भएपनि अन्ततः नेपालको साथ छाड्नसक्नेमा देखिएका छन् । तर, नेपालले आकर्षक पद दिएमा भुसाल उतै लाग्न सक्छन् ।

गोकर्ण बिष्ट माधव नेपालबाट टाढिदै गएका छन् । उनी एमाले जुटाउन लागिपरेका छन् । यसले उनको लोकप्रीयता बढाएको छ । पार्टी फुटेमा बिष्टले पनि ओली खेमामै रहने सन्देश दिइरहेका छन् । त्यहाँ संस्थापन विरोधी धारको नेतृत्वकर्ता या दोस्रो वरियताको नेता नै बन्ने गरी उनको सक्रियता देखिएको छ ।

ओली खेमाका सुवास नेम्वाङ, विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली पनि एकता पक्षधर देखिएका छन् । पार्टीभित्र एकताका लागि खटिएका नेम्वाङ र पौडेल दुवै हातमा लड्डु लिएर बढेका छन् । एमाले एक भएमा नेम्वाङ र पौडेलले जस लिन सक्छन् । उनीहरु एमालेको भावी नेतृत्व लिने गरी गति लिन खोजिरहेका छन् । शंकर पोखरेललाई ओलीको निकै बलियो साथ देखिदैछ । उनी ओलीको साथमा निरन्तर देखिन्छन् । एमालेको भावी नेतृत्वका लागि उनको लक्ष्य देखिदैछ ।



प्रतिक्रिया दिनुहोस्

हल बुकिंग फाराम