Logo

बुद्धनगरमा निःशुल्क सुशील कोइराला आइसोलेसन सेन्टर



काठमाडौं, ४ असार । काठमाडौं क्षेत्र नम्बर १ (क) का बाग्मती प्रदेश सभा सदस्य दीपेन्द्र श्रेष्ठको पहलमा बुद्धनगरमा सञ्चालित निस् शुल्क सुशील कोइराला मेमोरियल आइसोलेसन सेन्टरमा सेवा लिने थपिँदै छन् । काठमाडौं महानगरपालिका वडा नम्बर १० स्थित बुद्धनगरस्थित मेरो हस्पिटललाई सांसद दीपेन्द्र श्रेष्ठको पहलमा सुशिल कोइराला मेमोरियल आइसोलेसन सेन्टरमा रुपान्तरण गरिएको हो ।

हाल १५ शय्याको आइसोलेसन सेन्टरलाई बिरामीको संख्या बढ्दै गए त्यही अनुसार बृद्धि गरिने डा. रूपनारायण साहले बताए । सुशील कोइराला आइसोलेसन सेन्टरमा सेवा लिने कोरोना संक्रमितसँगै आवश्यक स्वास्थ्य सामग्री पनि सहयोग आउन थालेको छ । उक्त आइसलेसनलाई सहयोग गर्न पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहको धर्मपत्नी एवं समाजसेवी सिर्जना सिंहदेखि पूर्व उद्योगमन्त्री स्वः नवीन्द्रराज जोशीको धर्मपत्नी सपना जोशीसम्मले चासो राखेको सांसद श्रेष्ठले बताए । अन्य सहयोगी दाताहरूले आार्थिक तथा भौतिक सहयोग उपलब्ध गराएर आइसोलेसन सेन्टरलाई नेपालकै नमूना बनाउन महत्त्वपूर्ण भूमिका खेलेको उनको भनाई छ ।

उक्त आइसोलेसन सेन्टरमा कोभिड-१९ का बिरामीले निस्शुल्क स्वास्थ्य सेवा लिन पाउने भएपछि बिरामीको संख्या थपिन थालेको हो । प्रस्तावित शुशिल कोइराला मेमोरियल सामुदायिक अस्पताललाई तत्काल कोरोना भाइरसका संक्रमितहरुको उपचार गर्न १५ बेडको आइसोलेसन सेन्टर सञ्चालनमा ल्याइएको सांसद श्रेष्ठले बताए ।

उनका अनुसार काठमाडौं महानगरपालिकाको १० वडा, ११ वडा २९ र ३१ नम्बर वडाका कोरोना संक्रमित बिरामीहरूलाई सेवा दिने हेतुले त्यस स्थानमा आइसोलेसन सेन्टर खोलिएको हो । उक्त सुशिल कोइराला आइसोलेसनमा निःशुल्क सेवा लिएर स्वास्थ्य लाभ गर्न बागमती प्रदेशसभा सदस्य श्रेष्ठले आग्रह गरे ।

आइसोलेसन सेन्टरमा आएर सेवा लिन नसक्ने अशक्त र घरैमा बसेर उपचार गर्न चाहने कोरोना संक्रमितहरूलाई घरमै नर्सिङ्ग सेवा एवं डाक्टरी सेवा समेत उपलब्ध गराईने सांसद श्रेष्ठले जानकारी दिए । उक्त आइसोलेसनमा भर्ना भएका संक्रमित बिरामीलाई अक्सिजन उपलव्ध गराई चौबीसै घण्टा नर्सिङ सेवा उपलव्ध गराइने उनले बताए ।

अनामनगर निवासी समाजसेवी रमिता सुवेदीबाट सुशील कोइराला मेमोरियल आइसोलेसन सेन्टर सञ्चालनका लागि १३ हजार रुपैयाँ आर्थिक सहयोगसमेत उपलब्ध भएको छ । सुशील कोइराला आइसोलेसनलाई व्यवस्थित र प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि बेल्जियम र अष्ट्रेलियामा बसोवसस गर्ने समाजसेवीहरुले समेत सहयोग गर्ने प्रतिबद्धता जनाएको सांसद श्रेष्ठले जनाए ।

उक्त आइसोलेसन सेन्टर थप व्यवस्थित बनाउन ११ नम्बरका वडाध्यक्ष हीरालाल तण्डुकार (काका) , वडा नम्बर १० का वडाध्यक्ष रामकुमार केसी दुबै वडाका वडा सदस्यहरु, समाजसेवी, बुद्धिजीवी , व्यापारी लगायत त्यस क्षेत्रकाका नागरिकहरूकोसमेत महत्वपूर्ण भूमिका रहेको छ । आइसोलेसनमा समयतालिका मिलाएर मासुसहितको प्रोटिनयुक्त खाना, औषधि उपचारलगायतका सबै सुविधा उपलब्ध गराइएको छ।

डा.रुपनारायण शाह, डा. अमित यादव, डा. पाण्डवराज बराल, स्टाफ नर्स हिना महर्जन , सम्झना कुँवरसहितको टोलीले नर्भिक, ग्रान्डी र मेडिसिटी बराबरकै सेवा दिइरहेको सांसद श्रेष्ठको दावी छ ।

 



प्रतिक्रिया दिनुहोस्