Logo

कांग्रेसको महाधिवेशन कार्यतालिका पारित



असार ४, काठमाण्डौ । नेपाली कांग्रेसले पार्टीको १४औं महाधिवेशनको संशोधित कार्यतालिकालाई पारित गरेको छ । पार्टी कार्यालय सानेपामा शुक्रबार बसेको पार्टीको केन्द्रीय कार्यसमिति बैठकले पार्टी सभापति शेर बहादुर देउवाले राख्नुभएको महाधिवेशनको संशोधित कार्यतालिकालाई पारित गरेको हो ।

संशोधित कार्यतालिका अनुसार साउन १२ गते वडा अधिवेशन सुरु हुने छ भने पार्टीको केन्द्रीय महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा हुने कांग्रेस सहमहामन्त्री डाक्टर प्रकाशशरण महत्तले जानकारी दिए । त्यस्तै असार २० गतेसम्म सम्पूर्ण काम सक्न क्रियाशिल सदस्य छानविन समितिलाई निर्देशन दिइएको उनले बताए।

बैठकले दलहरुबीचको सहकार्यलाई अगाडि बढाउने प्रस्तावलाई पनि पारित गरेको छ । लोकतन्त्र र संविधानको रक्षाका लागि पाँच दलीय बिपक्षी गठबन्धनलाई मजबुद बनाउनुपर्ने कांग्रेसको ठहर रहेको महतले बताए ।

कांग्रेसले संसद बिघटनपछिको घटनाक्रम हेर्दा मुलुकको लोकतन्त्रको मुल्यमान्यतालाई कमजोर बनाउने काम भएको भन्दै थप सशक्त भएर अघि बढ्ने जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्