Logo

सङ्गीतले बढाउँछ सङ्क्रमितमा मनोबल



काठमाडौं, असार ५ । कोरोना सङ्क्रमितको मनोबल बढाउन स्वास्थ्यकर्मीले सङ्गीत चिकित्सा विधि अपनाउने गरेका छन् ।

कीर्तिपुरस्थित आयुर्वेदिक अनुसन्धान तालिम केन्द्रको आइसोलेसन सेन्टरमा दैनिक दुई पटक नाचगान गरी रमाइलो गरिँदै आएको छ । एचडीयू (हाई डिपेन्डेन्सी युनिट)मा रहेकादेखि सामान्य अवस्थाका सङ्क्रमितका लागि सङ्गीत चिकित्सा गर्ने गरेको चिकित्सक अनिश धामीले जानकारी दिए।

उनले सङ्क्रमित मानसिक रूपमा कमजोर हुने भएकाले उनीहरूको मनोबल बढाउन म्युजिक थेरापीले सहयोग गर्ने बताए ।केन्द्रमा कोरोना उपचारमा संलग्न नर्स दुर्गा सिलवालले हरेक बिरामीलाई सङ्गीत थेरापीले राम्रो प्रभाव पारेको बताए । “कति बिरामी कोभिड भयो भनेर आत्तिने हुन्छन्, हामीले यो रोगसँग लड्ने हो, डराउने होइन ।

मनोरञ्जन गर्नुपर्छ । यसले आत्मबल बढाउनुको साथै मानसिक समस्यालाई पनि समाधान गर्न मद्दत गर्छ”, उनले भने
केन्द्रमा अहिले सङ्क्रमित सङ्गीत थेरापीमा अभ्यस्त र आकर्षित भएका छन् । नर्स सिलवालले भनिन्, “म्युजिक छैन भनेर बिरामीले नै सोध्छन् । नाच्न नसक्नेहरू म्युजिक सुनेर पनि आनन्द लिने गर्छन् ।

नाचेपछि व्यायाम पनि हुन्छ भनेर नचाउँछौँ ।” विश्वमा स्वास्थ्योपचारका विभिन्न पद्धतिमध्ये सङ्गीत चिकित्सा (म्युजिक थेरापी) पनि एक राम्रो माध्यम हो । यसले हाम्रो स्वास्थ्यमा मात्र नभई जीवनशैलीलाई नै आनन्ददायी र सुखमय बनाएर जीवनलाई सरल र स्वस्थ बनाउने केन्द्रका निर्देशक रामआधार यादवले बताए । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्