Logo

नियात्रा : ‘शाहजहाँले गरिबहरूको प्रेमको खिल्ली उडाए’



जीवा लामिछाने : मलाई लाग्छ, कुनै पनि देशको नागरिकलाई देख्नु भने को आंशिक रूपमै भए पनि त्यो देशलाई देख्नु हो  । ऊसँग बोल्नु भनेको त्यो देशसँग बोल्नु हो र ऊसँग व्यवहार गर्नु त्यो देशसँग व्यवहार गर्नु हो  ।

पाठ्यपुस्तकमा सोली आकारको भारतको नक्सा देखेपछि म दिग्भ्रमित भएँ  । जब भारत नेपालभन्दा चौबीस गुना ठूलो छ भन्ने जानें, त्यसपछि चकित परें  । जब हिन्दी फिल्म ‘लैला मजनु’  पहिलो पटक हेरें, भारतीयहरू यति राम्रा हुँदारहेछन् भन्ने लाग्यो  ।

आज भारत विश्वको ठूलो अर्थतन्त्र भएको देशमध्ये एक भएको छ  । अहिले भारतीयहरू देख्दा भारत कस्तो होला भन्ने मेरो सोचाइ बदलिएको छ  । तर पहिलो पटक हाम्रोतिर काम खोज्न आउने बिहारीहरूलाई देख्दा बनेको नक्सा भने किन किन पूर्ण रूपले अझै मानसपटलमा मेटिन सकेको छैन  ।

भीमोदय निम्न माध्यमिक विद्यालयमा चार कक्षा पढ्दा पहिलो पटक भारतको भूमि टेकेको थिएँ  । म स्काउटमा थिएँ त्यतिबेला  । प्रेमनारायण झा सरको नेतृत्वमा हामी स्काउटका विद्यार्थीहरू वीरगन्ज र रक्सौल शैक्षिक भ्रमण गएका थियौं  । त्यसपछि भने भारत जाने क्रम नियमित जस्तै हुन गएको छ  ।

मस्कोमा थुप्रै भारतीय साथीहरू भए  । एक जना भारतीय व्यापारी राजेश चावलासँग मेरो मित्रता थियो  । उनकै निमन्त्रणामा मैले २०५३ सालमा एक पटक फेरि भारतको भूमि टेकें  । त्यो पनि भारतको मुटु अर्थात् आग्रा  । आग्रालाई भारतको मुटु भन्न मन लाग्यो किनभने त्यहाँ ताजमहल छ  । प्रेमी–प्रेमिकाहरू भावुक भएर भन्छन्–  दुइटा मुटु एउटा भयो……. तिमीलाई मेरो मुटु दिएँ……..यस्तै यस्तै  । त्यसो हो भने प्रेमनगरी आग्रालाई किन भारतको मुटु नभनौं  ?

गाइडहरू जे हो, त्योभन्दा बढाइचढाइ गरेर बोल्दै थिए  । पर्यटकहरूलाई जतिसक्दो छक्क र सन्तुष्ट पार्न खोजिरहेका थिए  । एउटा बूढो गाइड भन्दै थियो– यो ताजमहल बनाउँदा बीस वर्षसम्म बीस हजार मान्छेले आफ्नो प्रेमको बलिदान दिइरहे  । भनिन्छ,  प्रेमको मूल्य हुँदैन तर शाहजहाँले सन् १६४८ मा त्यतिखेरको तीस मिलियन भारतीय रुपैयाँ खर्च गरेर प्रेमको प्रतिमा बनाए– ताजमहल  ।

आग्राको सौन्दर्यको प्रतीक एवं विश्व सम्पदाको सातौं आश्चर्यमध्येको एक ताजमहल नव प्रेमी–प्रेमिका र नव विवाहित दम्पतीहरूको हनिमुनका लागि एक प्रसिद्ध गन्तव्य समेत हो  । ताजमहलको गेटमा पुग्दा ताजमहल घुमाउने साना गाडी, रिक्सा र ऊँटवाला टाँगाको एक किसिमको तानातान हुँदो रहेछ  । यति प्रसिद्ध पर्यटकीय नगरमा समेत पर्यटकहरूलाई ठगी गर्ने प्रवृत्ति देख्दा भने उदेक लाग्यो मलाई  !

सन् १६३२–१६५३ मा बनेको ताजमहलले मुगल सम्राट शाहजहाँ र रानी मुमताजको प्रेम झल्काइरहेको रहेछ  । अलौकिक कला र सौन्दर्ययुक्त यो भवन प्रतितोला सुनको पन्ध्र पर्ने जमानामा तीन करोडभन्दा बढी भारतीय रुपैयाँ लागेको चर्चा समेत गरिन्छ  । मलाई लाग्यो, कति महँगो प्रेम  ! हामीलाई ताजमहल घुमाउने बूढो गाइड भन्दै थियो– ‘शाहजहाँले गरिबहरूको प्रेमको खिल्ली उडाए  ।’



प्रतिक्रिया दिनुहोस्

हल बुकिंग फाराम