Logo

मान्छेको छाउरो



जगदीश घिमिरे : निस्तब्ध रात कुनै स्वास्नीमान्छेको निर्जीव हृदय हो, जसलाई चिरेर एउटा तीतो स्वर, कुकुरको सानू छाउरोको प्रलाप, बाँसको लिङ्गोजस्तै ठडिन्छ आकाश छुने गरी – क्याइँ क्वँ वाँ वाँ वाँ ईं ईं ईं क्वाँ वाँ वाँ वाँ वाँ ईं ईं ईं ईं ईं ईं… ! यो चीत्कार दोहेरिन्छ, तेहरिन्छ, चौहरिन्छ, प्रत्येक पटक अझ सघन, अँ तिखो, अझ अग्लो भएर कराउँछ यो आवाज ।
किस्नेलाई यो मन पर्दैन ।

ढोकाबाहिर चिसो सडकमा नाङ्गो आकाशमुन्तिर जरुवा पानीझैं यो आवाज भुलुभुलु उम्रेको छ, प्रत्येक पछिल्लो क्षणमा झ्याङ्गिदो छ र किस्ने ढोकाभित्र रेष्टुराँको चिसो छिंडीमा शीताङ्ग छ । विचित्र किसिमको जाडोले ऊ काम्दो छ । उसका पैताला भुइँजति चिसा छन्; औंलाका टुप्पामा ठिही छ । अनि घुँडामा एक किसिमको दुखाइ छ । जति बढी चिसिंदै गयो, त्यो दुखाइ उति बढी हुँदै जान्छ । उसलाई पनि एक पटक त्यै कुकुरको छाउरोजस्तो गी कराउन मन लाग्छ । तर सक्तैन । किनभने ऊ मानिसको छाउरो हो र ऊ ढोकाभित्र छ ।

त्यसैले किस्नेलाई त्यस कुकुरको छाउरोको आवाज तीतो लाग्छ । के ढोका खोलिदिऊँ, छाउरो भित्र पसोस्, अँगालेर सुतूँ, उसलाई पनि तातो, आफूलाई पनि तातो, ऊ सोच्छ ! विचार बेसै हो, ऊ विचारप्रति विचा गर्छ । तर ऊ ढोका खोल्न उठ्दैन । दुइटा बेन्च जोडेर सुतेको छ । सासको तातोले अनुहार र छाती, काखीको तातोले दुवै हत्केला तातेका छन् । ती जम्मै सेलाउँछन् ढोका खोल्न उठ्यो भने । पैताला हिमाल हुन्छ । अहँ, ऊसँग त्यति जाँगर छैन । छाउरो अझ तीव्रतासाथ उकेल्छ उसको छातीमा नअटाएका तीतो ।

रेष्ट्राँ बाह्र बजे बन्द भयो होला । तीनटा ऊजस्ता मसिना भुरा केटाहरु तीनटा लाठे कुकहरूसँगै गए । तिनीहरू कुकहरूकै डेरामा कुकहरूसँगै सुत्छन् । चौथो कुकसँग ऊ सुत्दथ्यो, जसले एक महिनाअगाडि मात्रै एउटी रण्डीसँग बिहा गरेको छ । अत: किस्नेको ठाउँ स्वत: त्यस रण्डीले लिएकी छ । यसरी हाल ऊ रेष्ट्राँमा सुत्ने गर्छ, एक्लै । काठमाडौंमा उसको जाडोको यो दोस्रो अनुभव हो । पोहोरको हिउँद उसले पल र जूलीसँग सुतेर बितायो । पल एउटा फ्रेन्च हिप्पी र जूली एउटी डच हिप्पिनी । उसको पहाडमा यस्तो विधि जाडो हुँदैनथ्यो । पोहोर दशैंताक ऊ यहाँ सडकमा सुतेर बिताउँथ्यो तैपनि यस्तो जाडो लागेको थिएन । कुकुरको छाउरो किन त्यसरी कराएको हँ ? भोलि बिहानसम्म पक्कै मर्छ क्यार ! कि ढोका खोलिदिने हो ?
(अब छाउरो धेरैचोटि क्वाइँ क्वाइँ नगरेर थोरैचोटि तर धेरै लामू समयसम्म र जोडसँग क्वाँ… ईं… क्वाँ… ईं… गर्न लागेको थियो ।)

घरबाट भाग्दा ऊ माग्ने हात र खाने मुख मात्रै बोकेर आफ्ना खुट्टामा सवार भएर भागेको थियो, मूलबाटै मूलबाटो । उसलाई थाहा थियो, सुनिरा’को थियो, पढेलेखेका ठिटाहरु नेपाललाई ‘काठमाडौं’ पनि भन्छन्, खूब बयान गर्छन् । अत: उसले ‘तीन सहर नेपाल’ जाने मूलबाटो समायो । उसले धुलिखेललाई ‘नेपाल’ भनिठान्यो, बनेपालाई ‘नेपाल’ भनिठान्यो, ठिमीलाई ‘नेपाल’ भनिठान्यो । नयाँसडक आइपुगेपछि चाहिं सक्कली ‘नेपाल’ आउनै छ भनिठान्यो ।

धुलिखेल आइपुग्दा ऊ दुई दिनको भोको थियो र एउटा होटलमा भाँडा माझ्न थाल्यो, अहिले पल्टिरहेको होटेल उसले काम गरेको अठारौं होटेल हो । बीचमा ६ महिनाजति ढाक्रे थियो । दुई महिना माग्ने पेशा अपनायो । वसन्तपुरको पेटीमा सुत्यो । हिप्पी र टुरिस्ट देखेपछि सबै भुराजस्तै ऊ पनि हात फैलाएर पछि लाग्यो –
‘नो मामा
नो पापा
नथिङ् टु इट
हँग्री: प्लीज !’

यो त्यहाँ सुत्ने सबै भुरालाई कण्ठै थियो, कुन्नि कसले सिकाइदिएको, सायद कुनै हिप्पीले जुन आफू पनि मागेर हिंड्थ्यो र बेलामौकामा तिनीहरूसँगै त्यहीं सँगै सुत्थ्यो ।

किस्ने अझ सेलाउँदै जान्छ । सुत्ने बेलामा उसले आफूलाई रनक्कै तताएको थियो । गाँजा-चरेसको धूवाँले, बिहानदेखि सल्किरहेको हीटरको बाटो साटो काम लिइएका चार-पाँचओटा दमचुलीको मकलले, मान्छेको भीडले पनि कोठा केही तातै थियो । सुत्ने बेलामा उसले जम्मै मकलका गोल निथारपिथार पारेर एउटैमा खन्याएर भुङग्रो चम्काएको थियो र हातखुट्टा सबै तताएको थियो । त्यै रन्कोमा ऊ दुई-तीन घण्टासम्म निदायो पनि तर अहिले ब्यूँझेको छ । … सायद छैन । उसले यो निधो गर्न सकेको छैन, ऊ निदाएको छ वा ब्यूँझेको छ । बिहान सात बजे मालिक ओर्लन्छ । त्यति बेलादेखि राति बाह्र-एक बजे मात्रै कामको जुवा काँधबाट ओर्लन्छ । त्यस बेला मालिकको, साथी बेराहरुको, कुकहरुको आँखा छलेर उङ्नसम्म पाइन्छ । अनि, कहिल्यै अघाउन्जेल सुत्न नपाएको निद्रा, थकाइ र आलस्यको बोझले गर्दा जति जाडो भए पनि, जति चिसो भए पनि ऊ राम्रै ब्यूँझेको छैन । तर ऊ छाउरो रोएको तीतो स्वर अवस्य सुनिरहेछ र बिथोलिरहेछ । ढोका खोलेर त्यसलाई हुलूँ कि नहुलूँ ? दोधारमा छ ।

उसलाई थकाइ, निद्रा र आलस्यभन्दा चिसो र ब्यूँझाइले जितेछ क्यार, सिरानमुनिबाट उसले एउटा चरेस भएको चुरोट झिक्छ, जुन आज दिउँसो उसलाई बयाथी भन्ने अङ्ग्रेज हिप्पिनीले दिएकी थिई । सल्काएर सुईसुई तान्न थाल्छ ।

पल यो हिउँदमा, नोभेम्बरमै फेरि आउँछु भनेर गएको हो; क्रिसमस भैसक्यो, तर आएन । पलसँग दोस्ती भएपछि ऊ पलसँगै सुत्न लाग्यो । पलसँगै खान । पलसँगै डुल्न ।

पलले उसलाई बालगिरीको होन्डामा बारबीसे डुलाउन पनि लगेको थियो । पल नाङ्गै सुत्थ्यो । मागेर हिँड्नेताका गाँजा खान, चरेस खान उसले पनि पलसँगै सिकेको हो । पल भन्थ्यो, ‘म तँलाई माया गर्छु ।’

किस्नेलाई पनि पलको माया लाग्छ । तर यो हिउँदमा, यो चिसोमा ऊ पलको अँगालोमा सुत्न पाएन । पल आएन, न जूली नै आई । जूली त नेपालमा थिई, साथीहरुसँग ट्रेकिङमा गएकी तर फर्किन । साथीहरू पीटर, क्रिस्टी, ओभ, मेडलिन सबै फर्किसके । ऊबारे सोध्दाखेरि ‘हू नोज ?’ भन्छन् जसको ठीक अर्थ किस्नेले बुझ्न सकेको छैन ।

जूलीले पनि उसलाई महिनौं आफ्नू कोठामा सुताएकी छ । आफूसँगै; तर जूली नाङ्गै सुत्दिन । एक दिन मध्यरातमा कुन्नि कताबाट बब आइपुगेपछि जूलीले उसलाई निकालिदिएकी थिई, रण्डी !

ऊ त्यै चुरोटसँग जोडेर चरेस भरेको अर्को चुरोट सल्काउँछ । चरेसको मातले उसको टाउको घुमाउन थाल्छ । उसलाई लाग्छ ऊ आफ्नू ओछ्यानबाट केही उचालिंदैछ । बाहिर छाउरो कराउँदैछ । जूलीले भनेकी थिई, चरेसले सोझै स्वर्गमा पुर्याउँछ । धरतीरूपी नर्कमा बस्नु पर्दैन, यो उसले अरूसँग अर्थ लाइमागेर जानेको । उसले जान्ने अङ्ग्रेजी त ‘यस’ र ‘नो’ अनि अलि-‍अलि टाकनटुकन मात्रै हो । सोच्यो ऊ स्वर्गतिर जाँदैछ, छाउरो रुँदैछ । उसले आफ्नै आमा सम्झ्यो, जूली पनि उसलाई कता-कता आमाजस्तै लाग्थी । उसलाई मायाले टाँस्थी पनि । एक जोर दोचा किनिदिएकी थिई ।

ऊ पन्ध्र सालको अनिकालमा जन्मेको थियो र, जन्मेकै वर्ष बाबु खसेको र पच्चीस सालमा आमा पोइल गएपछि झड्केलो बाबुको कुटाइ खाएको बेहोसीमा, दशैंको मुखमा घर छोडेर भागेको थियो ।

चरेसको सुरमा ऊ झड्केलो बाबुको जुँघा सम्झिन्छ । पलमा उसले आफ्नू झड्केलो बाबु देख्न सकेन… अब साँच्चै ऊ केही सम्झन सक्तैन… साँच्चै स्वर्ग जाँदैछ क्यार… ऊ चरेसको धूवाँ निल्दै जान्छ… ऊ त्यो कुकुरको छाउरोको तीतो आवाज सुन्न छाड्छ (यद्यपि त्यो छाउरो अझ बेसरी रुँदै हुन्छ)… ऊ आफ्नू शीताङ्गलाई बिर्सन्छ… भोलि बिहान सात बजेदेखि मेलोमा जोतिनुपर्ने बन्धनलाई बिर्सन्छ … सात बजे पाइने दुइटा पाउरोटी र एक कप चियाको ब्रेकफास्टलाई बिर्सन्छ… महिना मरेपछि नगद पाउने रु. दशलाई बिर्सन्छ…  !

तर भोलि मालिकले गाँजाको गन्ध पायो अर्थात् उसले गाँजा-चरेस खान्छ भन्ने थाहा पायो भने त्यस रेष्ट्राँबाट पाकेको तलब छाडेर निस्कनुपर्छ भन्ने बिर्संदैन, किनभने उसले त्यही अपराधको दण्डस्वरूप हरेक रष्ट्राँबाट निकालिमागेको हो ।

ठुटो राम्रोसँग निभाएर फ्याँकिदिन्छ, तर ऊ ठुटो फ्याँक्न झट्कारेको हात फर्काउन सक्ने स्थितिमा हुँदैन चरेसको मातले गर्दा । उसको जिभ्रोमा चरेसको तीतो-तीतो स्वाद आइरहेको हुन्छ । घाँटी सुकेको हुन्छ ।

भोलि दिउँसो देख्छ, हिजो राति रुने कुकुरको छाउरो आमाको लाम्टा चुस्दै थियो । यस दृश्यले उसलाई भरेका लागि चरेसदार चुरोटको जोहो गरिराख्न सम्झाइदियो, आमा होइन ।

साभार- कथा चौतारी 



प्रतिक्रिया दिनुहोस्

हल बुकिंग फाराम