Logo

कथा : मिडनाइट हट



ब्रजेश : उमेरको ५० वर्ष छुने बेलामा सुब्बासाबलाई कुर्कुरे वैंश आएजस्तो भइरहेको छ । उनको खास नाम र थर के हो भन्ने पनि धेरैलाई त थाहा छैन । जागीरमा सुब्बा भएको कारण उनलाई साथीहरु सबैले सुब्बा सुब्बा भन्दा भन्दै अहिले त उनलाई नै पनि आफ्नो नाम त्यही जस्तो लाग्न थालेको छ ।रातभरि पनि उनी राम्ररी निदाउन सकेनन् । निदाउन निदाउन खोज्यो, सपनामा त्यही कुरा देखेर झसंग भएर ब्यूँझिहाल्थे सुब्बासाब । आज बिहानैदेखि सुब्बासाब उत्साहित छन् । उत्साहित मात्र होइन, उत्तेजित पनि भन्नुपर्ला । अनि अलिअलि डर पनि छ उनलाई ।

सुब्बासाब अल्छी मान्दै उठेर बाथरुममा छिरे । धारा खोलेर पानी छाम्दै उनले मनमनै सोचे, पानी त बेस्करी चीसो रहेछ । नतताई त नुहाउन सकिन्नं होला ।

यही तल्लामा अरु तीनथरि मान्छेहरु डेरामा बस्छन्, सबैलाई बिहान चटारो हुन्छ । त्यसैले नित्यकर्म भ्याउन पनि गाह्रो हुने गर्छ । नुहाउनका लागि त लामै योजना बनाएर त्यसलाई कार्यरुप दिनुपर्ने बाध्यता आफ्नै ठाउँमा छ । धारोमा कहिले कहीं मात्र हो पानी आउने, त्यसैले परको सार्वजनिक टंकीमा लाइन पनि लाग्नुपर्छ नुहाउने पानी ओसार्न । हुन त दुइ दिन अघिमात्र हो उनले नुहाएका । अरु बेला भए त्यति धेरै दुःख गरेर यति छिटो उनी नुहाउने थिएनन् । तर आज त जसरी भए पनि नुहाउनै पर्छ । काखीसाखी गन्हायो भने त बर्वाद हुन्छ ।

उनी दुइवटा बाल्टिन बोकेर त्यतातिर लागे । बिहान राम्ररी भएको पनि थिएन त्यसैले पन्ध्रवटा जति भाँडाको पछाडि डोरीमा आफ्नो बाल्टिन छिराएर सुब्बासाब नजीकैको चिया पसल तिर लस्के । त्यहाँ साहुनीले मरीच हालेको मीठो चिया पकाउँछे । उनलाई ती २८, ३० वर्षकी साहुनी आकर्षक र सुकुमारी लाग्छे । उसका कुराहरु सुन्दा अलिअलि बुद्धि पनि भएकी जस्ती लाग्छ । उसको ट्याक्सी चलाउने मुस्टण्डे लोग्नेलाई नुसुहाउँदी देखिन्छे ऊ । अनि खास कुरा चाहिँ चिया पसलमा काम र गफ दुबै गर्दा ती सुकुमारी जता फर्के पनि सुब्बासाबका आँखाहरुलाई बिहानबिहानै स्वप्निल बनाउने कुराहरु भगवानले सुकुमारीलाई कन्जुस्याईँ नगरिकन दिएका छन् ।

मुस्टण्डे सखारै ग्राहक कुर्न पर चोकमा पुगिसकेको हुन्छ । चियापसलमा खूबै भीडभाड हुन्छ । टोलका अधिकांस आफूजस्तै मान्छेहरु सुब्बासाबले त्यहाँ देख्ने गरेका छन् ।

खासमा सुब्बासाब आफै चिया पकाएर खाने गर्थे तर एक दिनको सामान्य घटनाले उनलाई बिहानबिहान त्यहाँ जाने बानी लगायो । अघिल्लो दिनको दूध घरमा बाँकी थिएन त्यसैले उनी दूध किन्न बाहिर आएका थिए तर पसल खुलेको रहेनछ । सुब्बासाबको आँखा अनायासै चिया पसल र ती सुकुमारी साहुनीमा पर्न गएको थियो । चियाको तलतल वा ती साहुनीको आकर्षणले तानिएर हो कुन्नि उनी त्यहाँ गएका थिए ।

सुब्बासाब एक्लै बस्छन् । उनकी श्रीमती गाउँमा सानो खेतीबाली सम्हालेर बसेकी छिन् । उनलाई शहर आएर बस्ने रहर पटक्कै थिएन । बर्षमा मुश्कीलले एकपटक सुब्बासाब गाउँ जाने गर्थे । बर्षौंदेखि यही नियमित चक्रमा उनको जीवन चलिरहेको थियो । उनीहरुका कुनै सन्तान भएनन् । प्राकृतिक रुपमा सबै जीवले गर्ने साधारण भन्दा बढी प्रयास पनि उनीहरुले खै किन हो गरेनन् । उनीहरुको बीचमा औपचारिकता भन्दा बढी अरु सम्बन्ध भएन । गाउँमा भएको बेला राति अँध्यारोमा मात्र सुब्बासाब आफ्नी श्रीमतीलाई आफूतिर तान्थे अनि उनी पनि लोग्नेको शरीरको आवश्यकता साम्य पार्न श्रीमती हुनुको कर्तव्य मौन र निश्चल भएर पूरा गर्थिन् । तर मधुमेहको रोगले श्रीमतीलाई बेस्सरी गालेपछि उनीहरुको सम्बन्धमा त्यो औपचारिकता पनि नरहेको ५ वर्ष भैसकेको थियो । सुब्बाको तलब, घूस नखाने प्रण, साधारण सोच र जीवनशैलीका कारण शरीरको त्यो भोक उनले मारेर बसेको पनि त्यति नै समय भएको थियो । उनी अब त त्यो सब चीजका लागि आफू बूढो भैसकेको सोच्न थालेका थिए ।

तर त्यो दिन चिया पसलमा उनको त्यो भ्रम भंग भएको थियो । कुरा त सानै थियो । उनी चिया खान छिरेका थिए । सुकुमारी साहुनीले चिया पकाएर उनलाई दिने बेलामा साहुनीका औंलाहरुले सुब्बासाबका औंलामा स्पर्श गरेका थिए । सुब्बासाबलाई झननननन्न करेण्ट लागेजस्तो भएको थियो । लामो समयपछि कुनै नारीको स्पर्शले हो वा ती सुकुमारी साहुनीका औंलाहरु अत्यन्तै मुलायम भएकोले हो, उनले खुट्याउन सकेनन् । त्यसपछि साहुनी आफ्नै काममा व्यस्त भएकी थिइन् तर चिया सुर्काउँदै सुब्बासाब उनलाई नै हेरिरहेका थिए । जुन नारीको औंलामात्र त्यति उत्तेजक थियो, तिनको सिंगै हात समातेर सुम्सुम्याउन पाए कस्तो लाग्छ होला ? उनले सुकुमारीका हातहरु नियालेर हेरेका थिए । जतन गर्न नपाएका हातहरु त त्यति सुन्दर, औंलाहरु सलक्क सलक्क परेका थिए भने त्यसै पनि कोमल हुने तिनका अरु अंगहरु झन् कस्ता होलान् । सुब्बासाबले आफू भित्र मरिसक्यो भन्ठानेका भावहरु जुर्मुराउन थालेको अनुभव गरेका थिए । म्याक्सी लगाएकी साहुनी ढाड फर्काएर स्टोभमा दम दिन अलिकति निहुरिएको बेला तिनको नितम्बमा सुब्बासाबको आँखा एकतमासले टाँसिइरहेका थिए । त्यो बेला हो कि होइन भने जस्तो गरि साहुनीको भित्री लुगाको रेखा पनि देखिएको थियो । सुब्बासाबका आँखाहरु कुनै एक्स रे मेशिन जस्ता हुन पुगेका थिए र उनको कल्पनामा ती साहुनी भित्री लुगामा मात्र देखा परेकी थिइन् । आफूलाई नियन्त्रण गर्न हतारहतार चिया सकाएर पैसा तिरेर सुब्बासाब त्यहाँबाट निस्केका थिए ।

त्यस दिनभर उनलाई काममा मन लगाउन गाह्रो भएको थियो । अन्न, पानी र हावा जस्तै शरीरको त्यो भोकको पनि महत्व हुन्छ भन्ने सुब्बासाबले पढेका थिए । त्यो पूरा भएन भने पनि त्यसले शारीरिक र मानसिक स्वास्थ्यमा दूरगामी प्रभाव पार्छ रे भन्ने पनि उनले सुनेका थिए । उनी दिनभरि घोत्लिएका थिए । घुँडाको जोर्नी बेलाबेला दुखेर चलाउनै नहुने हुने गरेको बर्षदिन जति भएको थियो । कहिलेकहीं बेस्सरी टाउको दुख्ने गर्थ्यो अनि आफै हराएर पनि जान्थ्यो । बेलाबेला फाइलहरु राखेको ठाउँ बिर्सेर धुईँधुइँती खोज्नु पर्ने पनि भैरहेको थियो । अनि बिना कुनै कारण बेलाबेला सुब्बासाबलाई टेन्सन हुने गर्थ्यो । कतै यो सबै त्यही कारणले त हैन भन्ने उनलाई लाग्न थाल्यो । त्यसदिन उनको मनस्थिति शायद संगै काम गर्नेहरुले पनि हेक्का गरेछन् क्यार ।

‘सुब्बासाबलाई आज सञ्चो छैन कि क्या हो ? अनुहार मलीनो देख्छु नि’
चलानीकी बिवाहित महिलाले सोधेकी थिइन् ।

‘हैन, ठीकै छ, त्यस्तो केही हैन ।’
पुलुक्क उनलाई हेर्दै उनले भनेका थिए । ती महिला आफ्नै काममा व्यस्त भैसकेकी थिइन् तर सुब्बासाब उनलाई हेरेर सोच्दै थिए, तिनले भित्र के लगाएकी होलिन् ? उनले आफ्ना आँखा र सोच दुबैलाई त्यताबाट हटाएर काममा लगाउन खोजेका थिए ।

दिउँसो क्यान्टिनमा खाजा खाने बेला उनका अलि तन्नेरी सहकर्मीहरुका कुरामा उनको कान पर्न गएको थियो । उनीहरु राति अबेर फेसन टिभीमा आउने मिडनाइट हट भन्ने कार्यक्रमको बारेमा छलफल गर्दैथिए ।

‘क्या फिगर हुन्छ यार तिनीहरुको ।’
‘कुनैकुनैले त यार माथि केही पनि लगाएका हुँदैनन् ।’
‘कति पैसा कमाउँछन् होला हगि तिनीहरुले ?’
‘बाहिर हिंडडुल गर्न अप्ठ्यारो लाग्दैन होला तिनीहरुलाई भन्या ।’

त्यस रात अबेरसम्म सुब्बासाबलाई निन्द्रा लागेन । अँध्यारो हुनै नपाइ घुप्लुक्क सुत्ने बानी भएका सुब्बासाब लोडशेडिंग सकिएर बत्ती आउँदा पनि व्यूँझै नै थिए । अनि अनायास उनले आफ्नो चौध इन्चको श्यामश्वेत टिभीको च्यानलहरु खोतल्न थालेका थिए । उनलाई खासै टिभी हेर्ने रहर लाग्दैनथ्यो त्यसैले पुरानो टिभी उनले फेरेका पनि थिएनन् । फेसन टिभीमा गएर उनी अडेका थिए र मिडनाइट हट भन्ने कुन बेला आउँछ भनेर कुर्न थालेका थिए । जब त्यो आयो, सुब्बासाबलाई त्यस रात अचम्मका अनुभूतिहरु भए । त्यो कार्यक्रममा देखिएका विदेशी युवतीहरु घरिघरि चलानीकी महिला र सुकुमारी चिया साहुनीमा परिणत हुन खोज्थे । उनलाई आफ्नो जीउ ज्वरो आएको बेला जस्तै रन्केको आभाष भैरहेको थियो ।

स्कूल सक्नासाथ उनको बिहे भएको थियो, सुब्बा साबले त्यस रात स्कूलजीवन पछि नगरेको एउटा काम गरेका थिए । निदाउने बेलामा एकातिर किन मैले यो काम छाडेको रहेछु भन्ने पनि लागेको थियो उनलाई, अर्कोतिर आत्मग्लानि पनि भएको थियो ।

त्यस रातपछि उनी नियमित रुपमा फेसन टिभी र विदेशी सिनेमाका च्यानलहरु हेर्न थालेका थिए । एउटा रंगीन टिभी पनि किनेका थिए उनले । मानसिक रुपले सुब्बासाब त्यसपछि झन्झन् बढी चंचल हुन थालेका थिए । ट्याम्पुमा कहिले कहीं कुनै युवती वा आकर्षक महिला संगै च्यापिएर बसेको बेला उनलाई आफ्नो गन्तव्य नै नआएदिए हुन्थ्यो भन्ने लाग्थ्यो । एकपटक बाहुला नभएको पातलो कुर्ता र जिन्सको पाइण्ट लगाएकी एउटी सुन्दर युवतीको सामीप्य पाएको बेला सिहंदरवारमा ओर्लने पर्ने उनी रत्नपार्कसम्मै पुगेका थिए । उनलाई झन्झन् एउटी नारीको सामीप्यको अभावले औडाहा हुन थालेको थियो । त्यसलाई नियन्त्रण गर्न उनले डिभिडी प्लेयर पनि किनेका थिए । उनी त्यसमा वयस्कहरुका लागि बनाइएका थरिथरि चलचित्रहरु ल्याएर हेर्न थालेका थिए तर ती चलचित्रहरुले उनलाई शान्त पार्नुको साटो झन्झन् बढी बिथोल्न थालेका थिए ।

उनका सहकर्मीहरु मध्ये एक जना नारदजी कार्यालयको मर्दमा गनिन्थे । उनी यो मामिलामा पोख्त भएका हुनाले र धेरै महिलाहरुसंगको उनको निकटताका कारण अरु साथीहरु आफ्ना त्यसकिसिमका समस्याका समाधानका लागि नारदजीको भर पर्थे । नारदजीसंग यसकिसिमका हरेक समस्याको समाधान हुने गर्थे । बिस्तारै सुब्बासाबले पनि नारदजीसंग हेमचेम बढाउन थालेका थिए । त्यसैको फलस्वरुप काठमाण्डौको रात्रिकालीन जीवनसंग्ा उनी परिचित पनि हुन पुगेका थिए । ४९ वर्षको उमेरमा उनले पहिलो पटक सम्पूर्ण नग्न नारी शरीर, त्यो पनि झलमल्ल उज्यालोमा नृत्य गरिरहेको हेरेका थिए । आफ्नै श्रीमतीलाई समेत त्यो रुपमा नदेखेका सुब्बासाब रोमाञ्चित भएका थिए । नारदजीसंग अलि पहिले नै मित्रता कायमगर्नुपर्ने रहेछ भन्ने पनि लागेको थियो । अनि त्यही मित्रताका प्रगाढताका कारण आज उनी नारदजीसंग धापासी पछाडि कतै विशेष ठाउँमा जाने भएका थिए ।

‘दाइ…….चिया लिनुस्…’
सुकुमारी चिया साहुनीको स्वरले उनी झसंग भए । त्यो पहिलो दिनको स्पर्शसुख पछि जहिले पनि चिया लिनेबेला उनी जानीजानी साहुनीको हातको स्पर्श गर्ने गर्छन् । आज पनि त्यसै गरे । या त साहुनीले यो कुरा हेक्का गरेकी छैन, या थाहा नपाएजस्तो गरेकी हो । सुब्बासाबले साहुनीसंग बिस्तारै बिस्तारै कुराकानी गर्ने गरेका थिए । कोट्याइ कोट्याइ उनको परिवार र श्रीमानको बारे उनी सोधीखोजी गर्थे । कतै केही असन्तुष्टिका कुराहरु फुत्कन्छन् कि क्या हो क्या हो भन्ने उनलाई लाग्थ्यो । तर मोरी उसको मुस्टण्डे ट्याक्सी ड्राइभरसंग फिटिक्कै पनि गुनासो नभएझैं कुरा गर्थी ।

‘दाइ भोलि, पर्सी र निपर्सी त पसल खुल्दैन है ?’
नियमित ग्राहकलाई उसले जानकारी दिई ।

‘किन र ?’
सुब्बासाबले सोधे । मुस्टण्डेले उसलाई सौराहा घुमाउन लैजान लागेको रहेछ । सौराहा गएर उनीहरुले अरु के के गर्नेहुन् भनेर एकछिन सुब्बासाबले कल्पना गरे । हुन त अरु बेला पनि उनले मुस्टण्डे र सुकुमारीलाई लिएर तर्कनाहरु नगरेका होइनन् । त्यति बेला उनलाई मुस्टण्डेसंग डाहा पनि हुन्थ्यो । तर आज उनलाई नरमाइलो लागेन । आज नारदजीले उनलाई पनि अर्की सुकुमारी कहाँ लैजाने भएको थियो । खर्च चाहिँ त अलि चित्त दुख्ने नै थियो र उनले एक महीना अरु धेरै कुरामा मन मार्नुपर्थ्यो तर केही नगुमाइ केही कहाँ पाइन्छ र ? त्यसमाथि नारदजीको अनुभवहरु सुन्दा उनलाई कुनै दुःख लागेको पनि थिएन ।

‘अनुभव नगरि के थाहा हुन्छ र ? त्यसपछि कहिले कति कसरी भन्ने कुरा निर्क्यौल गरौंला ।’
उनले आफ्नो मनलाई सान्त्वना दिएका थिए ।

धारामा उनको पालो आउनै लागेको थियो । चियाको पैसा तिरेर उनी त्यता लागे । दुइ बाल्टिन पानी दुइतिर झुण्डाएर एउटा गीत गुन्गुनाउँदै उनी डेरामा पुगे । ग्यासमा दुइटै बर्नर बालेर पानी तताउन हालेर उनी आजको साँझ कस्तो हुने होला भनेर कल्पना गर्न थाले । पहिले केही कुराकानी त गर्नुपर्ला नि, जनावर जस्तो जाइलाग्न त हुँदैन होला । तर के कुरा गर्नु चिन्नु न जान्नुको मान्छेसंग । हुन त मेरो लागि पो यो नयाँ कुरा, उसका लागि त हैन नि । के कसरी भन्ने कुरा आफै भैहाल्छ होला नि । उनी अझै कल्पना गर्न थाले । तन्नाले छोपिएर घुसि्रनुपर्छ होला कि त्यत्तिकै नै पनि…… । बत्ती निभाएर अँध्यारो बनाउनु त पर्दैन होला नि । उनकी श्रीमतीले त अँध्यारो नभै केही पनि मान्दिनथिई । अनि लुगा पनि खोल्न मान्दैन थिई । यसले त मान्छे होला नि । आफै खोल्छे कि खोलिदिनुपर्छ होला ? अनि अँग्रेजी फिल्महरुमा जस्तो आफै गर्ली त ? नत्र के भनेर भन्ने त्यसो गर्नलाई ।

आगोमा बसालेको पानीमा त बल्ल काँडा उम्रिने सुरसार गर्दै थियो तर सुब्बासाब भने भुकभुक उम्लिसकेका थिए । उनी जुरुक्क उठेर बाथरुम तिर गए । तर बाथरुम खालि थिएन । अनि अर्को डेरावाल पहिले नै पालो कुरिरहेको थियो । उनी कोठामा आए र झ्यालको पर्दा डम्म बन्द गरे । पानी तात्न केही नभए पनि २० मिनेट त बाँकी नै थियो ।

अफीस पुग्दा आज उनको रवाफ नै अर्कै थियो । आफ्नो भएभरका लुगाहरुबाट छानेर उनले पार्टीमा जाने सबैभन्दा राम्रो लुगा लगाएका थिए । हजामकहाँ गएर कपालमा कालो पनि लगाएका थिए । कस्तो पात्तेको बूढो रहेछ भन्ने त मौका दिनुभएन नि । मुख ठस्स गन्हाउला भनेर बिहानदेखि सकसक मारेर चुरोट पनि खाएका थिएनन् । चलानीकी महिला मुसुक्क हाँसिन्,

‘के हो सुब्बासाब आज त बेहुला जस्तो गजबसंग ठाँटिनुभएको छ, पार्टीसार्टी छ कि क्या हो ?’

उनी मुस्काएर मात्र आफ्नो टेबलतिर लागे । नारदजीको टेबल खालि थियो । यतिबेलासम्म किन आएन नारद भनेर उनलाई अचम्म लाग्यो । बज्ज्या बिरामीसिरामी त परेन आजै ? कि बिर्स्यो उसले ? हैन हैन किन बिर्सन्थ्यो र ? बोलीको कुरामा नारदजी पक्का मान्छे हो, जिम्मेवार छ । ट्राफिक जाममा परेको होला । एघारै मात्र त बजेको छ, अफीस आउने समय त हुँदैछ नि । उनलाई साह्रै चुरोटको तलतल लाग्यो । आ…..होस्, तानिदिन्छु एउटा । तीन चार बजेपछि नखाउँला बरु, अनि चुइंगगम चपाउँला जानेबेलामा । त्यसमाथि पनि अहिलेसम्म श्रीमतीको नजीक जाँदा यति कुरा सोचेको छैन जिन्दगीमा, त्यो मेरी को हो र ?

क्यान्टिनमा गएर चियासंग चुरोटको धुवाँ उडाइरहेको बेला नारदजी पनि टुप्लुक्क आइपुगे । मुसुमुसु हाँस्दै उनले सोधे,
‘तयार हैन त सुब्बासाब शिकार खेल्न जान ?’

त्यसपछि दिनभर भनेजसो उनले खोतली खोतली नारदजीसंग के गर्ने कसो गर्ने भन्नेबारेमा जनकारी लिइ नै रहे । चार बजेतिर नारदजी उनलाई आँखा सन्काएर आफ्ना फाइलहरु थन्काउन थाले । उनी पनि हतारहतार आफ्ना फाइलहरु मिलाउन थाले । नारदजी र उनको बीचमा मात्र भनेर उनले किरिया खुवाएको अभियानको कुरा लौ त भनौं भने अफीसका सबै पुरुष कर्मचारीहरुलाई थाहा भैसकेको थियो भन्ने सुब्बासाबलाई भान थिएन । त्यही भएर उनीहरु निस्कने बेला सबैजना मुसुमुसु हाँसेको सुब्बासाबले थाहा पाएनन् । हुन त यसै पनि उनको ध्यान यताउति कहाँ थियो र ?

मिडनाइट हटमा पनि त केही एसियनहरु देखिन्थे बेलाबेला । कुनै चाइनीज, कुनै जापानी, कुनै मलेसियन । त्यति बिरुनका त के होलान् र ? त्यो टेम्पोमा बाहुला नभएको कुर्ता लगाउने जत्तिको भए भै हाल्यो नि । चिया पसलकी सुकुमारी सरह भए पनि हुन्छ । त्यति पनि नभए चलानीकी महिला जत्तिकोमा सम्म पनि चित्त बुझाउन पर्ला ।

ट्याक्सी जाममा परेको समय पनि उनलाई एक युग जस्तो लाग्यो । एक त पैसा आफूले तिर्नुपर्ने, त्यसमाथि मधुमासको लागि आतुर भएको बेला यो व्यवधान । उनी फेरि आउने समयको मधुर कल्पनामा तल्लीन भए । रात आज उतै बित्ने त होला नि । कि फटाफट कामसाम सकाएर फर्कने हो, उनलाई दोधार भयो । पहिले त्यहाँको अवस्था हेरौं, मान्छे हेरौं अनि त्यही अनुसार निर्णय गर्नुपर्ला भनेर उनले निर्णय गरे ।

त्यो एक तल्ले घर थियो । हेर्दा साधारणभन्दा पनि नराम्रो देखिन्थ्यो । सानासाना झ्यालहरु, बाहिरी भित्तामा प्लाष्टर मात्र भएको, अनि पानीका दागहरुले फोहोरी देखिने । शायद सुब्बासाबको भाव पढेर होला नारदजीले हाँस्दै भने,
‘खोल नहेर्नस् सुब्बासाब, गुदी हेर्नुस् गुदी । ओखरको बाहिर हेर्दा भित्र त्यति मीठो खानेकुरा हुन्छ भन्ने लाग्छ ?’

सुब्बासाब गुदीको कल्पना गर्दे नारदजीसंग भित्र छिरे । बैठक कोठामा एउटी भद्दा महिला बसेकी थिईन् जसले बडो आत्मीयताका साथ नारदजीलाई स्वागत गरिन् ।

‘सर त धेरै दिनपछि पो आउनुभो, म त हामीलाई बिर्सनुभयो कि भन्ठान्या ।’
‘कहाँ बिर्सनु र तपाईंहरुलाई । अलि बेफुर्सदी भएर मात्र हो । मैले फोनमा भन्या साथी उहाँ नै हो, हाम्रो सुब्बासाब ।’

तिनले माथिदेखि तलसम्म हेर्दा सुब्बासाबलाई सकसक भएर आयो ।

‘अनि नानीहरु को को छन् त ?’
नारदजीले सोधे ।

ती महिलाले भित्रतिर हेरेर बोलाएपछि पालैपालो तीनजना कोठामा आए । ती कोही पनि मिडनाइट हट, टेम्पोकी बिना बाहुलावाली सहयात्री, सुकुमारी साहुनी वा चलानीकी महिला जस्ता थिएनन् । राम्रै लुगा लगाएका थिए तिनीहरुले तर के के नमिले जस्तो । लिपष्टिक पो नसुहाएको हो कि ? उनलाई तिनीहरुमा नारीमा हुनुपर्ने कोमलता कता कता नभए जस्तो लाग्यो । सुब्बासाबले नारदजीलाई पुलुक्क हेरे । नारदजीले आँखा सन्काउँदै भने,
‘अप्ठ्यारो मान्नु पर्दैन, आफ्नै घर हो, को संग बस्ने हो भित्र जानुभए हुन्छ ।’

सुब्बासाब अलमल परे । उनले सोचे जस्तो कोही पनि थिएनन् । तर अब यहाँसम्म आइसकेपछि त्यसै फर्कन पनि उनलाई मन लागेन । फेरि यहाँबाट कोमलताको कुरा के थाहा हुन्छ र, चिया पसल्नीको हात त्यस्तो मुलायम होला भन्ने कुरा छुनु अघि थाहा भएको थियो र ? नारदजीले भनेजस्तै गुदी पो हेर्ने त । लामो सास फेरेर उनले ती मध्ये सबैभन्दा तरुनी जस्ती देखिने एकजनालाई हेर्दै भने,
‘यिनको नाम के हो कुन्नि ।’

सबैजना हाँसे, मानौं उनले कुनै चुट्किला सुनाएका हुन् । ती युवती बोलिन्,
‘तपाईंलाई जे मन लाग्छ त्यही नामले बोलाए हुन्छ । हिंड्नुस् भित्रै गएर कुरा गरौंला ।’

सुब्बासाब तिनको साथमा भित्र कोठामा जान उठे । अचानक उनको मन एक तमासको भएर आयो । उनी टक्क अडे । एक मन उनलाई फर्कूं फर्कूं पनि लाग्यो ।

‘शुरुशुरुमा यस्तै हो सुब्बासाब, ह्याकुलाले मिचेर जानुस्,बिस्तारै बानी पर्छ ।’
नारदजीको बोली उनलाई अन्तरिक्षबाट आएजस्तो लागिरहेथ्यो । अनि ती भद्दा महिलाको हाँसो पनि ।

भित्र कोठा पनि ओखरको खोलभन्दा फरक थिएन । कुनामा एउटा खाट, त्यसमाथि साधारण तन्ना । शायद नधोएको पनि धेरै दिन भै सकेको हुनुपर्छ ।

‘बस्नसु् न ।’
ती नाम नभएकी युवतीले भनेपछि बस्नलाइ उनले नियालेर बेडमा हेर्दा त्यहाँ तन्नामा केही दागहरु पनि देखे । उनलाई विरक्त लाग्यो । युवती भने विना कुनै संकोच आफ्नो टिशर्ट खोल्दै थिई । सुब्बा साबलाई झन् उकुसमुकुस भयो । युवतीले भित्री पहिरन पनि खोलिसकेकी थिई र ऊ बेडमा लमतन्न परेर आफ्नो पाइण्ट खोल्न तयार भएकी थिई । ऊ ओठ गोलो पारेर कुनै दोहोरी गीतको भाका सुसेल्दै थिई । उसका झोलिएका स्तनहरु उदांगो भएका थिए र त्यो देख्दा सुब्बासाबलाई वाक्क आउला जस्तो भयो ।

‘म एकैछिनमा आएँ है ?’
उत्तरको प्रतीक्षा नै नगरि उनी फटाफट त्यहाँबाट बाहिर निस्के । बाहिरी कोठामा नारदजी थिएनन् । उनी ढोकातिर लाग्दा ती महिला सोद्धै थिइन्,
‘के भो सुब्बासाब ? कहाँ जान लाग्नुभाको ?’

नसुने झैं तल निस्केर कतै नहेरि उनी लम्कँदै चोकको टेम्पो पार्कमा पुगेर एउटा टेम्पोमा बसे । उनको मनमा अनेकौं कुराहरु खेलिरहेका थिए । भोलि नारदजीसंग के भन्ने हो उनलाई थाहा थिएन । शायद नारदजीले सबैलाई उनको नामर्दीपनको कथा सुनाएर उपहासको पात्र बनाउन सक्छन् । त्यही सोचमा उनले कुन बेला एउटी युवती आएर उनको छेउको खालि सीटमा बसिन् भन्ने पनि थाहा पाएनन् । टेम्पो चल्न थालेपछि तिनले लगाएको मधुरो अत्तरको बास्नाले मात्र उनी तन्द्रामुक्त भए ।

‘भाडा दिनुस् भाडा ।’
केटो भाडा उठाउँदै थियो । ती युवतीले पैसा दिंदै भनिन्,
‘लगनखेल ।’

केटो तिनको फिर्ता पैसा दिएर सुब्बासाब तिर उन्मुख भयो । सुब्बासाबले पचासको नोट बढाउँदै भने,
‘लगनखेल ।’
ओर्लनु त उनलाई लगनखेल भन्दा आधा बाटो यतै चाबेलमा थियो ।

सडकका खाल्टोहरुमा हल्लिंदै टेम्पो चलिरहेको थियो । सुब्बासाब आफ्नो तीघ्रा र कुममा ती युवतीको तीघ्रा र कुमको न्यानो अनुभूति गरिरहेका थिए । उनले लामो सास फेरेर आँखा चिम्ले ।

सुब्बासाब निर्वस्त्र थिए । एउटा नारी शरीर उनको शरीरसंग रुखमा लहरा बेरिए जस्तो गरि बेरिएको थियो । त्यो शरीरको न्यानो उनको अंगअंगमा फैलिंदै थियो, रन्को बन्दै, अनि कुनै सुख्खा जंगलमा सल्केको डढेलो जस्तै । त्यो नारी शरीरको अनुहार चाहिँ एकपछि अर्को गर्दै परिवर्तन हुँदै गइरहेको थियो । कहिले त्यो मिडनाइट हटका एसियन केटीहरुको अनुहार हुन्थ्यो, कहिले सुकुमारी चिया साहुनीको, कहिले चलानीकी महिलाको, अनि कहिले टेम्पोमा उनका अनगिन्ती सहयात्री युवतीहरुको । झलमल्ल उज्यालोमा सुब्बासाब त्यो अनेकौं अनुहार र एउटै शरीर भएकी नारीको न्यानोमा डुबिरहेका थिए । अचानक बत्ती निभेर कोठा अँध्यारो भयो । अब उनले आफ्नो शरीरमा त्यो न्यानोको अनुभूति गर्दागर्दै पनि अनुहार चाहिँ चिन्न सकेनन् । आँखालाई अँध्यारोमा अभ्यस्त गर्दै उनले नियालेर हेरे ।

त्यो अनुहार मधुमेहले चाउरिएकी उनकी श्रीमतीको अनुहार थियो । सुब्बासाबले झसंग भएर आँखा खोले ।

लगनखेल आइसकेको रहेछ ।

साभार: समकालीन साहित्य 



प्रतिक्रिया दिनुहोस्