Logo

एशियाका यी १२ राष्ट्रमध्येबाट कतार विश्वकपमा यसरी हुनेछ स्थान पक्का



एजेन्सी, ५ असार । कतारमा हुने विश्वकप फुटबल-२०२२ मा एशियाबाट अन्तिम छनोट प्रतिष्पर्धा शुरु हुँदैछ । अन्तिम छनोट चरणमा १२ राष्ट्र पुगेका छन् ।

दुई समूहमा बाँडेर १२ देशको गोलाप्रथाबाट ड्र हुनेछ । मलेशियाको राजधानी क्वालालाम्पुरमा जुलाई १ मा ड्र हुनेछ । प्रत्येक समूहमा ६ वटा टिम रहेर छनोट शुरु हुनेछ । प्रत्येक समूहका टोलीले पाँच टोलीसँग दुई वटा प्रतिष्पर्धा गर्नुपर्नेछ । एउटा होम र अर्को अवे गेम हुनेछ ।

समूह विजेता र उपविजेता सिधै विश्वकपमा छनोट हुनेछन् । दुवै समूहमा तेस्रो हुने टोलीले प्ले अफ खेल्नुपर्नेछ । होम र अवे गरी दुईपटकको प्रतिष्पर्धाबाट विजेता टुंगो लाग्नेछ । उक्त विजेताले अर्को महादेशबाट प्ले अफका लागि छानिएको टोलीसँग प्ले अफ खेल्नुपर्नेछ ।

प्ले अफमा होम र अवे गरी दुईवटा प्रतिष्पर्धा हुनेछ । विजेता भएमात्र विश्वकपको यात्रा तय हुनेछ । एशिया प्यासिफिकबाट छनोटबाट चार देशको स्थान पक्का नै छ । बाँकी एक राष्ट्रले प्ले अफ खेल्नुपर्ने नियम छ । यसरी एशियाबाट प्रत्येक विश्वकपमा ४ राष्ट्रको स्थान पक्का छ र अर्को एउटा स्थानमा प्ले अफ खेलेर विजेता बनेमा ५ वटा स्थान बन्न सक्छ ।

कतार विश्वपकमा भने ५ राष्ट्रको स्थान पक्का छ । कतार आयोजक भएकाले छनोट भइसकेको छ । यसपटक प्ले अफ राष्ट्रले समेत यात्रा तय गरेमा ६ राष्ट्र एशियाबाट छनोट हुन सक्छन् । यसपटक एशियाबाट ६ वटा देश छनोट भई इतिहास बन्न सक्छ ।

विश्वकप छनोटमा एशियाबाट यी १२ राष्ट्र भिड्ने

एशियाबाट अन्तिम प्रतिष्पर्धामा समूह विजेता भएर जानेमा सिरिया, जापान, अष्ट्रेलिया, दक्षिण कोरिया, साउदी अरेबिया, इरान र युएई छन् । आठवटा समूहमा उत्कृष्ट पाँच उपविजेतामा ओमान, चीन, लेबनान, इराक र भियतनाम छन् । कतार आयोजक राष्ट्र भएकाले उसले अन्तिम छनोट खेल्नुपर्ने छैन । कतार आयोजक भएर छनोट भइसकेकाले उपविजेतामध्येबाट पाचौं राष्ट्र भियतनाम अन्तिम प्रतिष्पर्धामा पुगेर इतिहास रच्न सफल भएको छ ।

एशिया प्यासिफिकबाट यसपटक अन्तिम छनोट प्रतिष्पर्धामा पुगेकामध्ये जापान, अष्ट्रेलिया, दक्षिण कोरिया, साउदी अरेबिया, इरान, चीन र इराकले विश्वपक खेलिसकेका छन् । दक्षिण कोरिया विश्वकपको सेमिफाइनलमा पुगिसकेको देश हो । जापान र साउदी अरेबिया पनि क्वाटरफाइनलमा पुगेको इतिहास छ । यी देशहरु नै विश्वकपमा स्थान बनाउन सक्ने सम्भावित देखिएका छन् ।

यसपटक लेबनान र भियतनाम पनि बलियो फुटबल शक्तिका रुपमा देखिएका छन् । छनोट चरण निकै प्रतिष्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।

 



प्रतिक्रिया दिनुहोस्