Logo

काँग्रेस नेतृत्वमा यी दाबेदार, कस्ले मार्ला बाजी ?



काठमाडौं, ६ असार । नेपाली काँग्रेसको भदौमा हुने महाधिवेशनका लागि नेता कार्यकर्ता सक्रिय हुन थालेका छन् । साउन देखि काँग्रेसको तल्लो इकाईको चुनाव सुरु हुँदैछ । तल्लो इकाईबाट नै आफू पक्षधर नेता कार्यकर्तालाई अगाडि बढाउन नेताहरु सक्रिय भएका छन् ।

काँग्रेसमा वडा तहबाट गाउँ÷नगर हुँदै क्षेत्र, जिल्ला को अधिवेशनको तालिका बनिसकेको छ । प्रतिनिधि चयनबाट नै नेतृत्व चयनमा मतदानको अधिकार पाउने महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य चुनिन्छन् । यसैले तल्लो इकाईबाट आफू निकटस्थलाई अगाडि बढाउन सक्रियता बढेको हो ।

काँग्रेसको भावी नेतृत्वका लागि सभापति शेरबहादुर देउवा नै मुख्य दाबेदार बनेका छन् । उनले शनिबार आफू पक्षीय नेताहरुलाई बुढानिलकण्ठमा डाकेर छलफल गरेका छन् । देउवाले एक कार्यकाल नेतृत्व गर्ने मनशाय व्यक्त गरेका थिए । तर, उनको खेमाबाट उपसभापति विमलेन्द्र निधि पनि दाबेदार बनेका छन् ।

निधिले काँग्रेसको भावी नेतृत्वका लागि आफूलाई साथ दिन देउवालाई समेत आग्रह गरेका छन् । उनले पूर्वतयारी गरिसकेको समेत स्पष्ट पारेका छन् । तर, देउवाले निधिलाई मनाउन खोजिरहेको बुझिएको छ । निधि पछि नहट्ने अडानमा छन् ।

काँग्रेसको देउवाइतर समूहबाट धेरैजना सभापतिको दाबेदार छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल एकपटक प्रयास गर्ने चाहना राख्दै आएका छन् । उनी १३औं महाधिवेशनमा देउवासँग सभापतिमा पराजित भएका थिए ।

१३औं महाधिवेशनमा पहिलो चरणको सभापतिको प्रतिष्पर्धाबाट तेस्रो स्थान हासिल गरेका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पनि सभापतिको दाबेदार देखिएका छन् । उनले पौडेल पक्षका नेताहरुलाई पनि आफूलाई साथ दिन आग्रह गर्दै आएका छन् । सिटौला निर्णायक तेस्रो शक्ति भएकाले राजनीतिक लेनदेनका आधारमा नेतृत्वमा पुग्ने रणनीतिमा देखिएका छन् ।

वर्तमान महामन्त्री डा. सशांक कोइराला पनि सभापतिका दाबेदार हुन् । कोइराला परिवार एक बनाएर उनी अगाडि बढ्न खोजिरहेका छन् । पौडेललाई मनाएर उनी उक्त खेमाबाट सभापतिको दाबेदार बन्ने रणनीतिमा छन् । देउवा सभापतिको उम्मेदवारीबाट ब्याक भएमा उक्त समूहबाट पनि आफूलाई साथ हुनसक्ने बुझाई सशांक पक्षधरको छ ।

पूर्वमहामन्त्री प्रकाशमान सिंह पनि सभापतिको दाबेदार बनेका छन् । उनले खुलेरै यसपटक सभापतिको उम्मेदवारीबाट पछि नहट्ने स्पष्ट पारिसकेका छन् । पटक पटक आफ्नो परिवारले त्याग गरिसकेको र अब आफूलाई अरुले त्याग देखाउनुपर्ने उनको तर्क छ । पहिलो निर्वाचित महामन्त्री बनिसकेका पूर्वउपप्रधनमन्त्री सिंह आफ्नो खेमाको साझा उम्मेदवार बन्ने दाउमा छन् ।

काँग्रेस केन्द्रीय सदस्य डा.शेखर कोइराला सभापतिको दाबेदार छन् । उनी देउवाविरोधी खेमाबाट उम्मेदवार बन्ने दौडमा छन् । विगतमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई निकै सघाएका उनले यसपटक पौडेलबाट सहयोगको अपेक्षा राखेका छन् ।

काँग्रेस केन्द्रीय सदस्य सुजाता कोइराला पनि सभापतिको दाबेदार देखिएकी छिन् । पहिलोपटक काँग्रेसभित्र महिलालाई नेतृत्वमा पुर्याउनुपर्ने भन्दै उनी महिलाको साथ लिन सक्रिय भएकी छिन् । पूर्वउपप्रधानमन्त्री भइसकेकी उनले कोइराला परिवारको हातमा काँग्रेस नेतृत्व फर्काउने गरी पारिवारिक एकतामा पनि भूमिका खेल्दै आएकी छिन् ।

कस्ले मार्ला बाजी ?
यसपटक काँग्रेस सभापतिमा देउवा नै मुख्य दाबेदार देखिएका छन् । उनलाई आफ्नो खेमाबाट पूर्ण साथ भएमा जित्ने सम्भावना बलियो हुन्छ । तर, उपसभापति विमलेन्द्र निधि दाबेदार देखिएकाले चुनौती थपिएको छ । विजयकुमार गच्छेदार पनि देउवासँग सन्तुष्ट देखिएका छैनन् ।

निधिले देउवाको साथ पाएर उम्मेदवार बन्ने रणनीति बनाएका छन् । उनले देउवाको साथ नपाए पौडेल पक्षका अन्य नेतासँग राजनीतिक लेनदेनको कुरा चलाएका छन् । अर्को खेमाको पूर्ण साथ पाएमा उनले बाजी मार्न सक्छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेल एक कार्यकाल भएपनि काँग्रेस नेतृत्वमा पुग्ने आकांक्षा राखिरहेका छन् । उनी सैद्धान्तिक राजनीतिमा लागेका छन् । आफ्नो समूह एक भएमा जित्नेमा ढुक्क छन् ।

महामन्त्री सशांक कोइराला वीपीपुत्र हुन् । कोइराला परिवार एक भएर पौडेल खेमाबाट एकमात्र उम्मेदवार बन्न सकेमा उनले जित्ने सम्भावना रहन्छ । तर, त्यसका लागि देउवा खेमाका असन्तुष्टलाई पनि तान्न सक्नुपर्छ ।

पूर्वमहामन्त्री प्रकाशमान सिंह देउवा इतर खेमाका साझा उम्मेदवार बन्न सके जित्न सक्छन् । उनले विगतमा महामन्त्रीको उम्मेदवार बन्दा लोकप्रीय मत ल्याएको इतिहास छ । गणेशमान सिंहका छोरा सिंह कार्यकर्तामाझ लोकप्रीय छन् । उनलाई देउवा खेमाका केही नेताहरुको पनि साथ मिल्नसक्ने बुझिएको छ ।

पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको आफ्नै समूह छ । उनी यही तेस्रो धार निर्णायक शक्ति बनेर देउवा या पौडेलमध्ये कुनै खेमासँग राजनीतिक लेनदेनका साथ काँग्रेस नेतृत्वमा पुग्न खोजिरहेका छन् । तर, उनलाई नेतृत्वमा पुग्न सजिलो छैन ।

काँग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइराला लोकप्रीय नेता हुन् । उनी पौडेल समूहबाट साझा उम्मेदवार बनेमा देउवाका लागि ठूलो चुनौती बन्न सक्छन् । तर, कोइराला परिवार मिलाउन कठिन भइरहँदा उनले समूह मिलाउन सजिलो छैन ।

काँग्रेस केन्द्रीय सदस्य सुजाता कोइराला बढी सामाजिक क्रियाकलापमा सक्रिय छन् । उनी काँग्रेसको प्रथम महिला सभापति बन्ने दौडमा छिन् । कोइराला परिवार एक बनाउन महत्वपूर्ण भूमिका खेलेकी उनी देउवाइतर समूह मिलाउन लागेकी छिन् । जो चुनाव उठेपनि देउवाइतर खेमाबाट एकजना सहमतिमा उठ्नुपर्ने तर्क राख्छिन् । उनले आफ्नो नाममा सहमति निकाल्ने गरी रणनीति समेत बनाएकी छिन् ।



प्रतिक्रिया दिनुहोस्