Logo

असार १० गतेभित्र ओली–नेपालबीच सहमति हुन्छ : ठाकुर गैरे



काठमाडौं, ६ असार । नेकपा (एमाले) का युवा नेता ठाकुर गैरेले यही असार १० गतेभित्र पार्टीभित्रको विवाद हल हुने विश्वास दिलाएका छन् । उनले अध्यक्ष तथा प्रधामन्त्री केपी शर्मा ओली २०७५ जेठ २ गते फर्कन तयार भएको स्पष्ट पारे । उनले भने,‘अध्यक्ष ओली र माधव नेपालबीच यही १० गतेभित्र सहमति हुन्छ । पार्टीभित्रको एकता हल गर्नको लागि अहिले निर्णायक वार्ता भैरहेको छ । अब असार १० गते फाइनल सहमति हुन्छ ।’

उनले अध्यक्ष ओली २०७५ जेठ २ गते फर्कन ओली तयार रहेको पनि सुनाए । गैरेले अबको स्थायी कमिटी बैठकमा वरिष्ठ नेता नेपाल पनि सहभागी हुने जनाए । संसद् पूनःस्थापना भएपनि वा नभएपनि अब नेताहरुबीच सहमति हुने र एमालेको एकता कायम हुने उनको भनाई छ ।

पछिल्लो समय एमालेभित्रको विवाद उत्कर्षमा छ । नेता नेपालले भने ओलीले एकपछि अर्को गरेर पार्टीको विधान मिचेको, संविधान कुल्चिएको र प्रतिगमनकारी कदम चालेको भन्दै ती सबै नसच्चिएसम्म सहमति नहुने बताउँदै आएका छन् ।

तर, नेपाल पक्षधर दोस्रो तहका नेताहरुले भने कुनैपनि हालतमा एकता हुने दाबी गरेका छन् । हालै पत्रकार ऋषि धमलासँगको अन्तर्वार्तामा नेता योगेश भट्टराईले एमाले विभाजन नहुने दाबी गरेका छन् । र, एकताको लागि अध्यक्ष ओली र वरिष्ठ नेता नेपाल गम्भीर रहेको पनि उनको खुलासा थियो । file photo



प्रतिक्रिया दिनुहोस्