Logo

सरकार कुटनीतिक रुपमा असफल भएको प्रकाशमान सिंहको दाबी



काठमाडौं, ६ असार । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले कोरोना विरुद्धको दोस्रो डोज खोप समयमा नै ल्याउन नसक्नुले सरकार कुटनितिक रुपमा असफल भएको दाबी गरेका छन्। आज विहान आफ्नै निवासमा पत्रकारहरुसँग कुराकानी गर्दै नेता सिंहले सरकार कमिसनको खेलमा लागेका कारण कोराना विरुद्धको भ्यासिन समयमा नै ल्याउन नसकेको बताएका हुन् । सरकारले जनताको स्वास्थ्यमा गम्भीर हेल चेक्राई गरेको उनको भनाई छ ।

सिंहले पहिलो डोज खोप लगाएका १४ लाख नागरिक दोस्रो डोजको पर्खाइमा रहेकाले तत्काल यसमा ध्यान दिन सरकारलाई आग्रह समेत गरेका छन् । कोरोना विरुद्धको दोस्रो डोज खोप समयमा नै ल्याउन नसक्नुले सरकार कुटनितिक रुपमा असफल भएको समेत उनले दाबी गरे।

‘पहिलो डोज खोप लगाएका १४ लाख नागरिकहरु अहिले दोस्रो डोजको प्रतिक्षामा छन् ।’ उनले भने ‘समयमा नै दोस्रो डोज खोप लगाउन नपाउदा ति जनताको स्वास्थ्य अहिले जोखिममा छ । यसमा सरकारको समयमा नै ध्यान जाओस् ।’

साथै नेता सिहंले जनताको स्वास्थ्य जस्तो संवेदनशिल विषयमा सरकारले हेलचेक्राई गर्न नहुने बताए । सरकार उत्तरदायी नहुँदा समयमा नै कोरोना नियन्त्रण हुन नसकेको उनको आरोप छ ।

फरक प्रसङ्गमा नेता सिंहले पार्टीको १४ महाधिबेशनको तयारी तिव्र रुपमा भईरहेकाले समयमा नै महाधिबेशन सम्पन्न हुने बताए । साथै उनले १४ महाधिवेशन समयमा नै सम्पन्न गर्ने वातावरण निमार्ण गर्न र विधि प्रक्रिया अनुसार अगाडी बढ्न पार्टीका नेता कार्यकर्तालाई आग्रह समेत गरेका छन् ।

नेता सिंहले सिन्धुपाल्चोक, मनाङ लगायत देशका विभिन्न भागमा अविरल वर्षाका कारण आएको बाढी पहिरोले जनजीवन कष्टकर बनाएकाले गम्भीरताका साथ पहल थाल्न सरकारसँग अपिल गरेका छन् ।उनले देशभर बाढी पहिरोको मारमा परेका नागरिकको दुखमा आआफ्नो ठाउँबाट साथ र सहयोग गर्न पनि सबैलाई आग्रह समेत गरे ।



प्रतिक्रिया दिनुहोस्