Logo

ओली र नेपाललाई मिलाउन बामदेव भित्र भित्रै सक्रिय



काठमाडौं, ६ असार । केही समययता गुमनाम जस्तै भएका नेकपा एमालेका प्रभावशाली नेता बामदेव गौतम भित्र भित्र निकै सक्रिय छन् । उनी भैंसेपाटीमा बसेर एमालेलाई एकतावद्ध बनाउने सुत्र तयार गरिरहेका छन् ।

गौतमसँग समन्वय गरेर एमालेका केही नेताहरु अध्यक्ष केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई मिलाउने अभियानमा लागेका छन् । ओली र नेपाललाई सहमतिका लागि दबाब बढाउन पनि गौतमले माहोल बनाउने रणनीति बढाएका छन् ।

ओलीलाई २ जेठ २०७५ को अवस्थामा एमालेको संगठन ब्युँताउने गरी दबाब बढाइएको छ । त्यसका लागि ओलीनिकट नेताहरु विष्णु पौडेल र सुवास नेम्वाङसँग गौतमले छलफल चलाइरहेका छन् । पौडेलसँग उनको नियमित भेटघाट हुने गरेको छ । एकताको बिन्दु तयार गर्न गौतमसँग परामर्श गरेर पौडेल खटिइरहेका छन् ।

नेपालमाथि दबाब बढाउन उनीनिकटहरुलाई दूरी बढाउनका लागि पनि गौतमकै रणनीतिले काम गरिरहेको बुझिएको छ । योगेश भट्टराई पनि गौतमसँग नजिकिएर सक्रिय भइरहेका छन् । सुरेन्द्र पाण्डे र गोकर्ण बिष्टलगायत नेताहरु पनि गौतमकै लाइनमा एकता अभियानमा देखिएका छन् । लामो समय गौतमसँग नजिक रहेर काम गरेका घनश्याम भुसाल पनि एकताको पक्षमा बोल्न र सक्रिय हुन थालेका छन् ।

विश्वस्त स्रोतका अनुसार गौतमकै योजनामा ओली र नेपाल पक्षका नरम धारका एकतापक्षधरलाई एकजुट बनाउने प्रयास बढाइएको छ । दुवै तर्फबाट कडापन्थीहरुलाई कमजोर पार्न एकतापक्षधरहरु एकजुट बनाउन गौतम लागेका छन् । एमालेको संगठनमा बलियो प्रभाव रहेका नेताहरु एकताको पक्षमा तेस्रो धार बनाउँदै बढ्दा ओली र नेपाल दुवैमाथि दबाब बढेको छ ।

नयाँ दल खोल्ने तयारीमा लागेका माधव नेपाललाई रोक्न उनी पक्षधर नेताहरुलाई ब्याक गराउने प्रयास चलिरहेको छ । सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट, ठाकुर गैरे जस्ता नेताहरु माधव नेपाललाई रोक्न लागेका छन् । योगेश भट्टराईले नेपालको लगभग साथ छाडिसकेका छन् । यसरी नेपालमाथि दबाब बढाइरहेका छन् । तर, नेपाल कुनै हालतमा ब्याक नहुने गरी बढेका छन् । एकताका लागि उनको शर्त ओलीले मान्ने सम्भावना कमजोर छ ।

अहिले बामदेवको एकतासुत्रले केही हदमा काम गरिरहेको छ । औपचारिक फुट भइसक्नेमा गौतमकै रणनीतिले रोक्किएको छ । उनले नेकपा विवाद ताका पनि तटस्थ भूमिका निभाएर एकता अभियान चलाएका थिए । अहिले पनि त्यो अभियान जारी राखेका छन् ।

तर, गौतम यसपटक पनि सफल हुनेमा आशंका छ । ओली नेपाललाई मिलाएर लाने पक्षमा देखिएका छैनन् । नेपाल पनि ओलीसँग झुक्ने पक्षमा छैनन् । उनी ब्याक नहुने गरी बढिसकेका छन् । तर, गौतमले एकताको पीडा सम्झाउँदै मिलाउन दबाब बढाइरहेका छन् । विभिन्न प्रयासहरु भएपनि एमालेभित्र केपी शर्मा ओली र माधव नेपाल एक भएर जाने हो या होइन प्रतितिनिधि सभा विघटनविरुद्ध परेको रिटमाथि सर्वोच्च अदालतले दिने फैसलाले मात्र निर्भर गर्ने देखिदैछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot