Logo

मौसम अझै तीन दिन खतरा, पछिल्लो एक हप्तामा कहाँ केके क्षति भयो ?



असार ६, काठमाण्डौ । गत असार १ गते साँझ सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रवाती नदीमा आएको बाढीबाट सयौं नागरिकहरु घरवारविहिन भएका छन् । बाढीका कारण मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिका क्षेत्र तहसनहस भएपछि बेघर भएका नागरिकलाई बासको समस्या भएको छ ।

बाढी घटेपछि पनि नागरिकको घर नै बालुवाले पुरिएको छ । केहि स्थानीयहरुले पुरिएका घरबाटै बचेका सामान निकालेका छन् । बाढीका कारण बजार नै बालुवाले पुरिएपछि स्थानीयको जनजिवन सहज हुन निकै समय लाग्ने देखिएको छ । बाढीपछि बेपत्तामध्ये अहिलेसम्म ४ जना मात्र सम्पर्कमा आएका छन् भने ३ जना मृत भेटिएका छन् । अझै दर्जनबढीको अवस्था अज्ञात छ ।

अहिले पनि सो क्षेत्रमा सुरक्षाकर्मीले उद्धार र खोजी कार्य जारी नै राखेका छन् । प्रत्येक वर्ष नेपालमा बाढी पहिरो र डुबानका कारण दर्जनौं व्यक्तिहरुको मृत्यु, हजारौं व्यक्तिहरु घरबारविहीन हुनपर्ने स्थिति आइरहँदा पनि न यसको सूचना प्रणाली मजबुत छ, न उद्धेश्य प्राप्ति गर्नका लागि गरिएका कार्यहरु नै सन्तोषजनक छन् । तर विपद न्युनिकरणको लागि बनाइएको राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा ब्यवस्थापन प्राधिकरणले बाढि, डुबान तथा पहिरोको लागि तराइ तथा पहाडी र उच्च हिमाली क्षेत्रमा पुर्व सुचना प्रणाली जडान गरेको भन्दै थप क्षति नहुने जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता विश्व प्रकाश अर्यालले दाबी गरेका छन् ।

बाढि तथा डुबानमा तराइ र भित्री मधेसका २३ जिल्ला प्रभावित हुने र त्यसले १६ लाख नागरिकलाई विस्थापित गर्ने आकलन प्राधिकरणको छ । त्यस्तै पहिरोबाट पहाडी तथा हिमाली जिल्ला प्रभावित हुने र त्यसबाट १ लाख ५० हजार नागरिक प्रत्यक्ष रुपमा असर गर्ने अनुमान प्राधिकरणको छ ।

त्यसको लागि उद्दार तथा राहतको लागि आफुहरु लगायत अन्य विभिन्न निकायलाई तयारी अवस्थामा राखिएको प्राधिकरणको दाबी छ । बाढि तथा डुबान र पहिरोबाट प्रभावितले समय मै राहत नपाएको र बास बस्न पनि समस्या भएको गुनासो गर्दै आएका छन । तर प्राधिकरणले भने तत्काल नै नेपाल सरकारले तोकेको मापदण्ड अनुसार राहत र आस्थायी बासस्थानको ब्यवस्थापन गरेको दाबी गर्छ ।

सबैभन्दा प्रभावित बनेको जिल्ला सिन्धुपाल्चोक जिल्लासहित देशभरिमा जेठ ३१ गतेदेखि असार ६ गते अपरान्हसम्म १७ जनाको ज्यान गएको छ भने २२ जना वेपत्ता बनेका छन् । २ सय ९९ घरमा पूर्ण रुपमा क्षती पुगेको छ भने १ सय ४ घरमा आम्शिक क्षति पुगेको छ ।

यसैबीच जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले तीन दिनसम्म मौसममा कुनै सुधार नहुने जनाएको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको र हाल देशको दक्षिण भू–भाग नजिक मनसुनी न्युन चापिय रेखा रहेकाले तीन दिनसम्म मौसममा कुनै सुधार नहुने बिभागको भनाई छ ।

देशका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम वर्षाका साथै प्रदेश १, प्रदेश २ तथा बागमती प्रदेशका थोरै स्थान र बाकी प्रदेशका एक वा दुई स्थानहरुमा मेघ गर्जन चट्याङ् सहित भारी वर्षा हुने अनुमान गरिएको छ । साथै प्रदेश १, प्रदेश २ तथा बागमती प्रदेशका एक वा दुई स्थानमा धेरै भारीवर्षा हुने सम्भावना रहेको छ ।



प्रतिक्रिया दिनुहोस्