Logo

खोप पुर्‍याउन गएकी अस्मिताको शव भेटियो



डडेल्धुरा, असार ७ । डडेल्धुरा परशुराम नगरपालिका–८ की २६ वर्षीया अस्मिता देवी धामी स्थानीय जमुरानी आधारभूत स्वास्थ्य इकाई केन्द्रमा कार्यालय सहयोगीको रूपमा कार्यरत थिइन्। स्वास्थ्य इकाई केन्द्रमा बचेका कोरोनाविरुद्धको खोप जोगबुढा अस्पतालमा फिर्ता बुझाउन असार २ गते बिहान ११ कार्यालयबाट गएकी थिइन्।

स्वास्थ्य इकाई केन्द्रबाट जोगबुढा अस्पताल पुग्न करिब साढे ३ घन्टा पैदल हिँड्नु पर्छ। खोप पुर्‍याएर घर फर्किनु पर्ने उनी साँझसम्म घर आइनन्। आफन्तले खोजी गर्दा अस्मिताको मोबाइलको ‘स्वीच अफ’ भयो।

असार २ गतेदेखि सम्पर्कविहीन भएकी अस्मिताको खोजी गर्दा वडा नं ९ हट्वानी सामुदायिक वनमा जोगबुढा जाने बाटोभन्दा करिब ६० मिटरमा रहेको बुट्याङ भएको ठाउँमा शनिबार उनको शव फेला परेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी योगेन्द्र सिंह थापाले बताए।

अस्मिताको शव तीन दिन पछि बिभत्स अवस्थामा फेला परेको ८ नम्बर वडाध्यक्ष गोविन्दसिंह बोहराले बताए। स्वास्थ्य इकाई केन्द्रबाट करिब ३र४ किलोमिटर दूरीमा रहेको हत्वानी डाँडा भन्ने स्थानमा गोरेटो बाटो नजिकै एउटा चप्पल फेला परेको उनले बताए।

‘शव नजिकै मास्क फालिएको अवस्थामा थियो भने कोभिड भ्याक्सिन, फुटेको चुडा छरपस्ट थिए,’ वडाध्यक्ष बोहराले भने, ‘धकेल्दै घटनास्थलमा लिएर हत्या गरिएको देखिन्छ।’ मुखमा र टाउकोमा चोट लागेको बताइएको छ। चोट लागेको ठाउँमा ३र४ दिन भएकाले किरा परेको बताइएको छ। घटनास्थलको अवस्था हेर्दा बलात्कार गर्न नै हत्या गरिएको भएपनि शरीरमा लगाएका सबै कपडा राम्रो अवस्थामा रहेकाले एकिन भन्न सकिने अवस्था नरहेको प्रहरीको भनाइ छ। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्