Logo

सभापतिमा उठ्नेगरि शेखरले थाले तयारी, उपसभापतिमा भण्डारी र महामन्त्रीमा गगनलाई अघि सार्ने



काठमाडौं, ७ असार । नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशनमा नेतृत्वको लागि शेखर कोइरालाले दाबी गर्ने भएका छन् । कोइरालाले युवा पुस्तालाई समेटेर टिम बनाएका छन् । वर्तमान सभापति शेरबहादुर देउवाले पूनः सभापति लड्ने तयारी गरेसँगै यता शेखरले पनि नेतृत्वको उठ्नेगरि तयारी थालेका हुन् ।

कांग्रेसमा यसपटक सभापतिको लागि धेरै जना आकांक्षी छन् । देउवानिकट मानिने नेता विमलेन्द्र निधिपनि यसपटक आफू कुनैपनि हालतमा सभापति लड्ने भन्दै तयारीमा जुटेका छन् । निधिसँगै गोपालमान श्रेष्ठले पनि यसपटक आफू सभापति उठ्ने सार्वजनिक रुपमा बताउँदै आएका छन् । तर, देउवा भने निधि र श्रेष्ठले साथ नदिएपनि सभापतिमा पूनः लड्ने अठोटका साथ होमिएका छन् ।

निधि, कोइराला र सिंहबीच ‘पावर सेयरिङ’ गरेर महाधिवेशनमा एकजुट हुनेबारे छलफल

उनले हिजोदेखि नै आफूनिकट नेताहरुसँग छलफल थालेका छन् । हिजोमात्रै उनले प्रदेश नम्बर १ बाट केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने नेताहरुसँग करिब दुई घण्टा छलफल गरेका थिए । नेताहरु ज्ञानेन्द्र बहादुर कार्की, सिता गुरुङ र मिन बहादुर विश्वकर्मालगायतले देउवालाई देशभरिका नेता तथा कार्यकर्ताहरुले सभापतिमा पूनः देउवालाई नै देख्न चाहेको भन्दै अघि बढ्न आग्रह गरेका थिए । आज देउवाले प्रदेश नम्बर २ र ३ बाट प्रतिनिधित्व गर्ने नेताहरुसँग छलफल गरेका छन् ।

काँग्रेसमा नयाँ नेतृत्वका लागि सहमतिको वातावरण बन्योः सुजाता कोइराला

आजै सभापतिमा उठ्ने तयारी थालेका विमलेन्द्र निधिले आफ्नो निवासमा प्रकाशमान सिंह र महामन्त्री डा. शशांक कोइरालासँग ‘लञ्च–मिटिङ’ गरेका छन् । उनीहरुबीच आगामी महाधिवेशनमा एकताबद्ध भएर अघि बढ्ने समझदारी भएको र सोहीअनुसार पावर सेयरिङमा कुराकानी भएको बुझिएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल खेमाबाट सभापतिमा को उठ्ने भन्नेबारे नाम टुँगो लाग्न बाँकी छँदै यी तीन प्रभावशाली नेताबीच भएको आजको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

अब उमेरको कारणले सभापतिमा देउवा उठ्न सक्नुहुन्न, मेरो पुस्ता नेतृत्वमा आउँछ : डा. भण्डारी (भिडिओसहित)

उता, शेखर कोइरालाले पनि सभापतिमा उठ्ने मनशाय बनाईसकेका छन् । उनले यसपटक पार्टी नेतृत्व युवा पुस्तालाई हस्तान्तरण गरिनुपर्ने एजेण्डालाई उठाएका छन् । सभापतिमा आफू उठ्ने र उपसभापतिमा चन्द्र भण्डारी, महामन्त्रीमा गगन थापालाई अघि सार्नेगरि उनले टिम बनाईरहेका छन् । पछिल्लो समय युवा नेताहरुले पहिलो पुस्ताका नेताहरुले अब विश्राम लिनुपर्ने कुरा उठाईरहेका छन् । तर, सभापतिमा पूनः देउवा उठ्न लागेपछि उनीहरु संशकित बनेका छन् । र, जसरीपनि देउवालाई रोक्नेगरि रणनीति बनाएका छन् । file photo/reportersnepal



प्रतिक्रिया दिनुहोस्