Logo

ओलीले सत्ता जोगाउन दक्षिणपंथी तत्वसँग आत्मसमर्पण गरेको माधव नेपालको आरोप



काठमाडौं, ७ असार । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपालले आफूहरु जिम्मेवार भएर पार्टी एकता बचाउन अधिकतम लचक भएर प्रस्तुत हुँदा त्यसलाई कमजोरीको रुपमा लिएको जस्तो देखिएको टिप्पणी गरेका छन् । उनले अध्यक्ष केपी शर्मा ओली पक्षले पार्टी एकता भंग गर्ने दिशामा लग्न खोजेको पनि टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल फेशबुकमार्फत नेता नेपालले यस्तो बताएका हुन् । उनले लेखेका छन्-“कर्णाली प्रदेशका सांसद एवम् पार्टीका नेताहरूमाथि विधान विपरित गरिएको कारबाहीलाई अदालतले उल्ट्याएपछि फेरि भ्याकेटमा जाने निर्णयबाट पार्टीलाई एकता भंग गर्ने दिशामा लग्न खोजिएको प्रस्ट बुझ्न सकिन्छ ।स्थायी समितिका नेतामाथि कथित कारबाही, फेरि उहाँहरुसँगै वार्ता पनि गर्ने दोहोरो चरित्रले विभिन्न शंका उब्जाएकै थियो । जिम्मेवार भएर पार्टी एकता बचाउन अधिकतम लचक भएर प्रस्तुत हुँदा त्यसलाई कमजोरीका रुपमा लिएको जस्तो देखियो।”

नेता नेपालले थप लेखेका छन्-“सत्ता जोगाउन संविधानका विरोधी र दक्षिणपंथी तत्वसँग आत्मसमर्पण गर्ने, एकताविरोधी हर्कतलाई जारी राख्ने कुराले एकताबद्ध पार्टी बनाउने प्रयासविरुद्ध को कुन रूपमा लागेको छ – सहजै देख्न सकिन्छ।असल नियतका साथ गरिएका अनौपचारिक वार्ता र सम्वादलाई रणनीतिका रुपमा प्रयोग गर्नेहरु र एकता विरोधी तत्वहरूसंग सावधान हुन सबैको ध्यानाकर्षण गर्न चाहन्छु।”

 



प्रतिक्रिया दिनुहोस्