Logo

काँग्रेस सभापतिका आकांक्षीहरुको उमेर कति



काठमाडौं, ८ असार । नेपाली काँग्रेसभित्र ८ जना सभापतिका मुख्य दाबेदार देखिएका छन् । जसमध्ये कतिपयले सभापतिका दोबदार ७० कटिसकेका छन् ।

नेपालीहरुको सरदर आयुभन्दा माथिको उमेर भइसकेका वर्तमान सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता नै अहिले पनि सभापतिका मुख्य दाबेदार हुन् । तर, उनीहरुबाट तेस्रो पुस्तामा नेतृत्व हस्तान्तरण हुनुपर्छ भन्नेहरु पनि देखिएका छन् ।

सभापति शेरबहादुर देउवा ७५ वर्ष पुगिसकेका छन् । तर, उनीलाई नजिकबाट चिन्नेहरु योभन्दा बढी उमेर भएको बताउने गरेका छन् । अर्को कार्यकाल पनि उनी सभापति बन्न बढिसकेका छन् । अर्को कार्यकालसम्म उनी ८० को हाराहारीमा पुग्छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेल ७६ वर्ष पुगेका छन् । उनी एक कार्यकाल काँग्रेसको नेतृत्व लिन चाहन्छन् ।

उपसभापति विमलेन्द्र निधि ६४ वर्ष पुगे । उनी काँग्रेस सभापति यसपटक बन्न नसके उमेर कटिसक्ने र अवसर नपाइने बुझाईका साथ बढेका छन् । निधिले महामन्त्री डा. सशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहसँग समन्वय गरिरहेका छन् । पावर सेयरिङ गरेर तीन नेताबीच कुरा मिलाउन लागिपरेका छन् ।

महामन्त्री डा. सशाक कोइराला ६२ वर्षका भए । उनी यही बेलामा काँग्रेस सभापति बन्नु उपयुक्त समय भएको ठानिरहेका छन् ।

पूर्वमहामन्त्री प्रकाशमान सिंह ६५ वर्ष पुगेका छन् । विगतमा अस्वस्थ भएपछि सिंहले खानपानमा निकै ध्यान दिएर आफूलाई तन्दुरुस्त बनाएका छन् ।

पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला ७२ वर्ष पुगेका छन् । उनले अघिल्लो पटक पनि सभापतिको उम्मेदवारी दिएका थिए । सिटौला यसपटक पनि सभापतिका आकांक्षी हुन् ।

काँग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइराला ७० वर्ष पुगेका छन् । उनी पनि सभापतिका आकांक्षी हुन् । कोइराला परिवारबाट सभापतिका तीन आकांक्षीमध्ये शेखर सबैभन्दा जेठा हुन् ।

काँग्रेस केन्द्रीय सदस्य सुजाता कोइराला ६७ वर्ष पुगिन् । क्यान्सरबाट संक्रमणमुक्त भएपछि उनी सामाजिक कार्यमा बढी सक्रिय छिन् । सुजाता पनि सभापतिको आकांक्षी हुन् । काँग्रेस नेतृत्वमा महिला पहिलोपटक पुग्नुपर्ने भन्दै अगाडि बढेकी छिन् ।

काँग्रेसभित्र सभापतिका मुख्य दाबेदारहरु ७५ कटेका छन् । केही ७० कटेकाहरु छन् । सबैजसो ६० कटेका छन् । यसबाट अझैपनि काँग्रेस नेतृत्व ५० को दशकमा रहेकाहरुको हातमा आउने अवस्था नबनेको देखिन्छ । दुई दशक यीनै नेताहरुको वरिपरि काँग्रेसको राजनीति घुमिरहने देखिदैछ ।

नेताहरुको उमेर स्रोतः विकिपेडिया



प्रतिक्रिया दिनुहोस्