Logo

बेरोजगार किसानलाई कृषि र पशुपालनमार्फत आत्मनिर्भर बनाइने



दार्चुला, ८ असार: अपि हिमाल गाउँपालिकाले बेरोजगारलाई कृषि र पशुपालन व्यवसायमार्फत आत्मनिर्भर बनाउने नीति कार्यक्रम ल्याएको छ । जिल्लाकै दुर्गम क्षेत्रको हिमाली गाउँपालिकामा कृषि र पशुपालनको राम्रो सम्भावना रहेको भन्दै बेरोजगारलाई यसतर्फ लक्ष्य गरी नीति कार्यक्रम ल्याइएको हो ।

गाउँपालिकाको १२औँ गाउँसभाले ‘समृद्धि र खुशी अपिका लागि जादुगरीका चार आधार, स्वास्थ्य, शिक्षा, कृषि र पर्यटन बोक्ने रोजगारीको दिगो पूर्वाधार’ भन्ने मूल नाराका साथ नीति कार्यक्रम सार्वजनिक गरेको छ । अहिले विश्व कोभिडको सङ्क्रमणमा रहेको बेला अधिकांश मानिस बेरोजगार बनेका छन् । कोभिडले रोजगारी गुमाएकालाई गाउँ फर्काउने नीति लिएको गाउँपालिकाले जनाएको छ । बेरोजगारलाई आकर्षित गराउन गाउँपालिकाले बेरोजगारलाई कृषि र पशुपालनतर्फ आत्मनिर्भर गराउने उद्देश्य राखेको छ ।

गाउँपालिकाभित्रका बेरोजगारहरूको लगत सङ्कलन गरी पालिकाभित्र रोजगार बैंक स्थापना गर्ने गाउँपालिकाको नीति कार्यक्रम रहेको छ । बेरोजगारलाई भौतिक पूर्वाधारमा रोजगार दिलाउने गाउँपालिकाले जनाएको छ । यस्तै प्रधानमन्त्री स्वरोजगार कार्यक्रममार्फत १०० जनालाई रोजगार दिलाइने योजना गाउँपालिकालको छ । कोभिड–१९ का कारण समस्यामा परेकालाई आयआर्जुनमुखीतर्फ आत्मनिर्भर बनाउने गाउँपालिकाको नीति छ ।

‘हाम्रो गाउँ हाम्रो ठाउँ, बाँझो जमीन रहने छैन कुनै ठाउँ’ भन्ने नारालाई आत्मसाथ गर्दै महामारीमा गाउँ फर्किएकालाई रोजगारी सुनिश्चितता हुने नीति समेटिएको गाउँपालिका अध्यक्ष धर्मानन्द मन्यालले बताए । गाउँपालिकाले कृषि आधुनिकीकरण कार्यक्रममार्फत ‘एक बस्ती, एक उत्पादन’ कार्यक्रम लागू गर्नेछ ।

किसानको बाली बीमामा जोड दिइने छ । किसानको उत्पादनलाई कृषि उपज सङ्कलन केन्द्र, प्याकेजिङ, लेबलिङ तथा बजारीकरणमा सहजीकरण गरिने उल्लेख छ । आधुनिक ओखर, स्याउ, अमिलो जातका फलफूलका विरुवाहरू वितरण गरिने र व्यावसायिकतामा जोड दिइने नीति लिइएको छ । गाउँपालिकाको मुख्य उत्पादनका रूपमा रहेका रैथाने बाली (राजमा, जौँ, कोदो, फापर आदि), मसला बाली रायो, लसुन, बेसार, अदुवा, प्याज, धनियाको संरक्षण, आधुनिकीकरण तथा व्यावसायिकरण गर्ने नीति अवलम्बन गरिएको छ ।

पशुपालनमा जोड दिन भेडाबाख्रा संरक्षण कार्यक्रम, तथा भेडा प्रवद्र्धन गरिने छ । सबै वडामा भेटेरिनरी शाखा विस्तार गरिने नीति छ । यस्तै कोभिडका कारण बेरोजगारी भएका कृषकलाई पशुपालनमा आत्मनिर्भर बनाई आयआर्जनमा वृद्धि गर्न किसानहरू ‘गरे सिक्छन् देखे विश्वास गर्छन्’ भन्ने कुरालाई पुष्टि गर्न एक वडा एक उत्पादन कार्यक्रम लागू गरिने भएको छ ।-रासस



प्रतिक्रिया दिनुहोस्