Logo

कोइराला परिवारबाट सहमतिमै एक जनाले सभापतिमा उम्मेद्धवारी दिने सहमति



काठमाडौं, ८ असार । नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशनमा नेतृत्वको लागि दौडधुप सुरु भएको छ । वर्तमान सभापति शेरबहादुर देउवाले पूनः नेतृत्वमा दोहोरिने घोषणा गरेसँगै विपक्षी गठबन्धन पनि देउवालाई काउन्टर दिनेगरि छलफलमा जुटेको छ ।

खासगरी वरिष्ठ नेता रामचन्द्र पौडेलले यसपटक देउवाविरुद्ध आफ्नो पक्षबाट सहमतिमै एक जनाको मात्रै उम्मेद्धवारी दिने बताएका छन् । पौडेल आँफैपनि नेतृत्वमा आउन ईच्छुक छन् । तर, उनलाई दोस्रो तहका नेताहरुले साथ दिने/नदिने भन्नेबारे अन्यौल छ ।

सभापतिमा उठ्ने बताउँदै आएका विमलेन्द्र निधिले हिजोमात्रै सभापतिकै आकांक्षीहरु डा. शशांक कोइराला र प्रकाशमान सिंहसँग संयुक्त रुपमा छलफल गरेका थिए । निधिले तीन जना मिलेर अघि बढौं भन्ने प्रस्ताव राखेको बुझिएको छ । निधिको प्रस्तावमा कोइराला र सिंहको पनि सकारात्मक जवाफ रहेको बुझिएको छ । तर, निधिले कोइराला र सिंहसँगको भेटवार्तालगत्तै संस्थापनईतरका युवा नेताहरुसँग छुट्टै छलफल गरेका थिए ।

यसपटक कांग्रेसको नेतृत्वमा धेरै जनाबीच प्रतिष्पर्धा हुने आँकलन गरिएको छ। कोइराला परिवारभित्रपनि सभापतिमा सहमतिमै एक जनाले उम्मेद्धवार दिनेबारे छलफल भएको छ । खासगरी शेखर कोइरालाले यसबारे छलफल अघि बढाएका हुन् । उनले यसपटक आफू सभापतिमा उठ्ने तयारी गरेको भन्दै सघाउनको लागि शशांक र सुजाता कोइरालालाई आग्रह गरेका थिए ।

कतिसम्म भने आफूलाई साथ नदिएपनि अब पछि नहट्ने शेखरको जवाफ थियो । कांग्रेसनिकट उच्च स्रोतकाअनुसार शेखरले यसपटक युवा नेताहरुलाई अघि सारेर टिम बनाईसकेका छन् । उनले आफू सभापतिमा उठ्ने र उपसभापतिमा चन्द्र भण्डारी र महामन्त्रीमा गगन थापालाई अघि सार्ने तयारी गरेको बुझिएको छ । पछिल्लो समय युवा नेताहरुपनि शेखरसँग निरन्तर सम्वादमा छन् ।

शेखर, शशांक र सुजाताबीचको पछिल्लो छलफलमा सहमतिमै एक जनाले सभापतिमा उम्मेद्धवारी दिने सहमति बनेको स्रोतको दाबी छ । देशभरिका नेता तथा कार्यकर्ताले आफूलाई नेतृत्वमा आउनको लागि दबाब दिएको भन्दै नेतृ सुजाता कोइरालाले पनि यसअघि नै सभापतिमा उठ्ने बताउँदै आएकी छिन् । तर, उनले शेखर र शशांकबीच सहमति भयो भने आफू त्यसमा सहमति हुने भन्दै सहमतिका साथ अघि बढ्नुपर्नेमा जोड दिएकी छिन् । file photo



प्रतिक्रिया दिनुहोस्