Logo

मार्क्स, कान्ट र हिटलरको यौन जीवन



कार्ल मार्क्सः  दार्शनिक जिन ज्याक रुसोले मृत्युपर्यन्त केटी साथी राखे । तर बच्चा जन्माएपछि आवश्यक भरणपोषणको व्यवस्था मिलाइदिए पनि आफूलाई ‘पति’ या ‘बाबु’ भनाउन चाहेनन् ।

अर्का दार्शनिक कार्ल मार्क्सले रुसोलाई पनि माथ गरिदिए । हाम्रो शास्त्रमा वर्णन गरेजस्तो अन्यन्त पतिपरायण र पतिलाई परमात्मा ठान्ने जेनी थिइन् कार्ल मार्क्सकी पत्नी । उनी सम्पन्न आमाबाबुकी छोरी थिइन् ।

कार्ल मार्क्सचाहिँ बेस्सरी ट्वाँट खाने, चुरोटचाहिँ हाम्रा देवकोटाभन्दा बढी तान्ने ‘चेन स्मोकर’ थिए । उनले आफ्नो र पत्नी जेनीको सारा पैसा स्वाहा पारिदिए । उनी पत्नीभन्दा बाहिर पनि सम्बन्ध राख्थे । उनीकहाँ एक घरेलु कामदार थिइन् । तिनले मार्क्सका तर्फबाट छोरी पनि जन्माइन् । तर मार्क्सले वास्ताबेस्ता नगरेकाले छोरी औषधोपचार नपाईकन बितिन् ।

कान्टः जर्मन दार्शनिक इम्यानुल कान्टलाई एउटी केटीले निकै मन पराउँथिन् । उनले कान्टको ख्याति देखेर भनिन्, ‘म तपाईंसँग विवाह गर्न चाहन्छु ।’ उनले बेलुका घरमा गई कागजमा हिसाबकिताब गरेछन् । केटीसँग विवाह गर्दा फाइदा र बेफाइदा कति छ भनेर । तर निश्चय गर्न सकेनन् । भोलिपल्ट केटीलाई भनेछन्, ‘म दुई-तीन दिनमा तिमीलाई जवाफ दिन्छु ।’ उनले महिनादिनसम्म पनि निर्णय दिन सकेनन् । केही वर्षपछि मात्र उनले केटीसँग विवाह गर्ने निश्चय गरे र ती केटीलार्ई खोज्दै गएछन् । उनले दुई छोरा र पतिलाई देखाउँदै भनिछन्, ‘तपाईंले खोजेकी केटी मै हुँ ।’

हिटलरः कोही कोही कट्टर संयमी हुन्छन् । हिटलर पनि यस्तै एक ब्रह्मचारी महात्मा हुन् । उनी न चिया, न सिगरेट, न रक्सी, न मासु, न स्त्रीगमन, कतै नअलमलिने खालका थिए । स्वास्नीमानिसप्रति कुनै आग्रह थिएन ।

एक अर्थमा उनी महात्मा ब्रह्माचारी थिए । तर उनको एउटा खराबी भइदियो, हिंसा । त्यसपछि उनको सच्चरित्र ध्वस्त भयो । बरु अलिकति रक्सी खाएको भए, स्वास्नी मानिसतिर सल्केको भए, चुरोटे भएको भए पनि सायद त्यो कम हुन्थ्यो कि भन्ने थुप्रै छन् । अति कट्टर ब्रह्मचारी हुँदा उनी हत्यातिर लागे । आर्यको अहंकारमा यहुदीलाई समाप्त गर्नतिर लागे ।



प्रतिक्रिया दिनुहोस्