Logo

महेश बस्नेतको खुलासा : सर्वोच्चको आदेश आउनु अघिल्लो दिन पूर्व प्रधानन्यायाधीशहरुले प्रधानन्यायाधीशलाई भेटेर दबाब दिएको सूचना छ (भिडिओसहित)



काठमाडौं, ९ असार । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री महेश बस्नेतले २० मन्त्रीलाई पदमुक्त गर्ने सर्वोच्च अदालतको हिजोको फैसलालाई सम्मान गर्ने बताए । तर, उनले न्यायालय सेटिङमा चल्छ भन्ने कुरालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अघिल्लो दिन नै २० मन्त्री पदमुक्त हुन्छन् भनेर खुलासा गर्नुले त्यो कुरालाई मल पुग्ने पनि बताए ।

हिजो राति प्राइम टाईम्स् टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता बस्नेतले यस्तो बताएका हुन् । उनले भने-“अब अदालतको निर्णयलाई हामीले सम्मान गर्नुपर्छ । हामी लोकतान्त्रिक शक्ति हौं । हामी लोकतान्त्रिक पद्धतीमा विश्वास गर्ने भएकोले अदालतको निर्णयलाई सम्मान गर्छौं । र, हिजो नेकपा माओवादीका अध्यक्ष प्रचण्डले धादिङमा गएर जे कुरा बोल्नुभयो, मैले प्राप्त गरेको विशेष सूचनाका आधारमा २० जना मन्त्रीहरुको पद जाँदैछ भन्नुभयो, र आज त्यही फैसला आयो । र, हिजो मैले सुनेको, अदालतका विशिष्ट व्यक्तिहरु र पूर्व प्रधानन्यायाधीशहरुको बीचमा एउटा खास मिटिङ बस्यो, न्यायालयको बारेमा मैले धेरै कुरा एक्स्पोज गर्न मिल्दैन् ।”

नेता बस्नेतले पूर्व प्रधानन्यायाधीशहरुको टिम बसेर प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई राम्रै दबाब सिर्जना गरेको भन्ने आफूले सूचना पाएको दाबी गरे । उनले भने-“त्यही सूचनाका आधारमा प्रचण्डले हिजो विशेष खुलासा गर्नुभयो, र आज फैसला त्यहीखालको आएको छ । रह्यो कुरा, प्रचण्ड कमरेडले बोलेको कुरा काग कराउनु र पिना सुक्नु एकैपटक भएको पनि हुनसक्छ, तर, समग्र प्रक्रिया र अवस्था हेर्दाखेरि अदालतभित्र जुनखालका चलखेल हुन थालेका छन्, अदालतभित्र जुन स्वतन्त्र न्यायापालिकाको मर्यादा र धर्म निर्वाह गर्ने कुरा हराउन खोज्दैछ, यसले आम जनतामा निराशा पैदा हुन्छ ।”



प्रतिक्रिया दिनुहोस्