Logo

बामदेवलाई बुढानिलकण्ठ बोलाएर देउवाले राखेको त्यो प्रस्ताव



काठमाडौं, ९ असार । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सोमबार नेकपा एमालेका प्रभावशाली नेता बामदेव गौतमलाई सम्पर्क गरी भेटका लागि बोलाए । बुढानिलकण्ठस्थित देउवा निवासमा भेटका लागि गौतम पुगे ।

दुई नेताबीच राजनीतिक घटनाक्रमको समिक्षा गर्दै कसरी बढ्ने भन्नेबारे गम्भीर कुराकानी भएको थियो । विश्वस्त स्रोतका अनुसार देउवाले गौतमसँग सहयोग मागेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले चालेका कदमहरु राजनीतिक प्रणाली र संविधान नै सिध्याउने दिशातर्फ बढिरहेको भन्दै त्यसलाई रोक्न एकजुट हुनुपर्नेमा दुवै नेता सहमतिमा पुगेका थिए । ओलीको कदम उल्टाउन एक अर्कालाई साथ दिने र भविष्यमा मिलेर जानेबारे समेत देउवा र गौतमबीच कुराकानी भएको बुझिएको छ ।

भेटमा देउवा आफू प्रधानमन्त्री बन्नेमा ढुक्क थिए । ओलीको कदमलाई ब्रेक गर्न पनि आफू प्रधानमन्त्री बन्न अगाडि बढेको भन्दै देउवाले भविष्यमा मिलेर जान सकिने विषय गौतमलाई राखेका थिए । उनले आफू प्रधानमन्त्री बनेमा गौतमलाई सरकारमा सहभागी गराउने आशयसहितको प्रस्ताव राखेका थिए ।

विश्वस्त स्रोतका अनुसार देउवाले मिलेर जान सकिने भन्दै अहिले खुलेर विपक्षी गठबन्धनलाई साथ दिन भनेका थिए । गौतमले ओलीको कदमको विपक्षमा आफू रहेको र अहिले तटस्थ भूमिकामा रहेर एमाले एकता बचाउन लागेको प्रष्ट पारेका थिए । पार्टीहरुलाई विभाजित गर्न एकपछि अर्को गरी भएका आक्रमण राजनीतिक प्रणालीविरुद्ध नै केन्द्रित रहेको गौतमले बताएका थिए ।



प्रतिक्रिया दिनुहोस्