Logo

चराचुरुंगीको आवाजबाट चर्चामा आएकी सन्तोषीको हत्या



काठमाडौं ९ असार । विभिन्न पशुपंछीको आवाज निकालेर चर्चामा आएकी सन्तोषी सुब्बाको हत्या भएको छ । उनी युट्युबमा समेत चर्चामा थिइन् । प्रहरीले सन्तोषीको शव बुधबार दक्षिणकालीको ट्वाइलेटबाट बरामद गरेको छ ।

काठमाडौं प्रहरीका प्रमुख एसएसपी अशोक सिंहका अनुसार दक्षिणकालीमा भेटिएको शव सामाजिक सञ्जालमा विभिन्न आवाज निकालेर चर्चामा आएकी सुब्बाको भएको पुष्टि भएको छ । सन्तोषी पोस्टकार्डहरु समेत बेचेर हिँड्ने गर्थिन् ।

सन्तोषीको विभत्स तरिकाले हत्या गरिएको पाइएको प्रहरीले जनाएको छ । उनको टाउको र अनुहार क्षतविक्षत भएको रहेको उपत्यका अपराध महाशाखाका प्रमुख एसएसपी चन्द्रकुवेर खापुङले बताए । घटनालगत्तै त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जबाट फरेन्सिक विज्ञसहितको टोली बोलाएर जाँच गरिएको थियो ।प्रहरीले तालिम प्राप्त विशेषज्ञ कुकुर पनि घटनास्थलमा ल्याएको थियो । प्रहरी र चिकित्सकले उनी गर्भवती भएको हुनसक्ने आशंका गरेका छन् ।

यद्यपि, पोष्टमार्टमपछि मात्रै यसको पुष्टि हुनेछ । सन्तोषीलाई कालोपुलमा छाप्रो हालेर बसिरहेका धनबहादुर तामाङले धर्मछोरी बनाएर राखेका थिए । अहिले तामाङसँग प्रहरीले सोधपुछ गरिरहेको छ । तामाङले सुब्बालाई आफूले सानै उमेरदेखि पालन-पोषण गरेको बताएका छन्।-दृष्टिबाट



प्रतिक्रिया दिनुहोस्