Logo

ओलीले ‘योगा नेपालबाट आरम्भ भएको’ भनेपछि भारतमा चासो



काठमाडौं, ९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले योग दिवसमा सोमबार दिएको अभिव्यक्तिप्रति अन्तर्राष्ट्रिय चासो भएको छ । उनले योगा नेपालबाट आरम्भ भएको बताएका थिए ।

योग दिवसमा बालुवाटारमा आयोजित कार्यक्रममा उनले योगा भारतमा आरम्भ नभएको तर्क गरेका थिए । उनले योगा आरम्भ हुँदा भारतको जन्म समेत नभएको बताएका थिए ।

प्रधानमन्त्री ओलीको अभिव्यक्तिलाई भारतीय मिडियाले प्राथमिकताका साथ प्रकाशन गरेका छन् । उनले स्पष्ट शब्दमा योगा नेपालमै आरम्भ भएको बताएको इन्डियन एक्सप्रेसले खबर प्रकाशन गरेको छ । १५ हजार वर्ष अघि शमभुनाथले योगाको अभ्यास गरेको ओलीले बताएको उल्लेख छ । महर्षी पतञ्जलीले योगाको दर्शनलाई अझै व्यवस्थित ढंगले विकास गरेको भनेका थिए ।

ओलीले योगा कुनै धर्म र धार्मिक समूहसँग मात्र सम्बन्धित नभएको तर्क गरेका थिए । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले २१ जुनलाई अन्तर्राष्ट्रिय योग दिवसका रुपमा प्रस्ताव गर्दा आफूहरु पनि खुशी भएको ओलीले बताएको खबर भारतीय मिडियामा छ ।



प्रतिक्रिया दिनुहोस्